सुनकोसी पुल उद्घाटन, जोडियो दुई निर्वाचन क्षेत्र


नानीराम नेपाल, सिन्धुपाल्चोक । १ नम्बर निर्वाचन क्षेत्र अन्तर्गत प्रदेश सभाका दुई निर्वाचन क्षेत्र जोड्ने पक्की पुलको उद्घाटन गरिएको छ । सरकारका भौतिक पुर्वाधार तथा यातायात मन्त्री रघुबीर महासेठले जिल्लाको बलेफी र त्रिपुरासुन्दरी गाउँपालिकालाई जोड्ने सुनकोसी नदीमा निर्माण भएको पक्की पुलको शनिवार उद्घाटन गर्नुभएको हो ।

पुल उद्घाटन गर्दै मन्त्री महासेठले भौतिक पूर्वाधारको विकास नभई मुलुकको समृद्धि हुन नसक्ने बताउनुभयो । सरकारले भौतिक पूर्वाधार विकासका क्षेत्रमा उल्लेख्य प्रगती गरेको मन्त्री महासेठले बताउनुभयो । पछिल्लो एक वर्षमा सरकारले मुलुकभरमा गरि २ सय ४३ वटा नयाँ पक्की पूल निर्माण गरेको उहाँले बताउनुभयो । ‘पछिल्लो वर्ष २ सय ४३ वटा पक्की पूल निर्माण भएका छन्, १ हजार किलोमीटर सडक कालोपत्रे गरिएको छ’, मन्त्री महासेठले भन्नुभयो, ‘तेह्र सय किलोमीटर त सडकका नयाँ ट्र्याक खोलिएका छन् ।’ पूल उद्घाटन समारोहमा उपस्थित स्थानीयलाई सम्बोधन गर्दै मन्त्री महासेठले नवनिर्मीत यो पुललाई यसभेगका स्थानीयले सदुपयोग गर्नुपर्ने बताउनुभयो ।

 

कार्यक्रममा बोल्दै प्रतिनीधि सभा सांसद अग्निप्रसाद सापकोटा, प्रदेश सरकारका मन्त्री अरुण नेपाल, प्रदेस सांसद सरेश नेपाल, पूर्व सभासद राजकुमार श्रेष्ठ लगायत स्थानीय सरकारका प्रतिनीधिहरुले नवनिर्मीत पक्की पुललाई जनताको जीवनसँग जोड्नुपर्नेमा जोड दिनुभयो । ०७१ असारमा पुल निर्माणको सम्झौता भएपनि ०७१ साउन १७ को जुरे पहिरोका कारण पुल निर्माणको काम प्रभावित बन्न पुगेको थियो ।

त्यसपछि ०७२ माघमा पुनः डीजाईन तयार गरि काम सुरु गरिएको सडक डीभिजन कार्यालय चरिकोटका प्रमुख धर्मेन्द्र झाले जानकारी दिनुभयो । निर्माण सुरु भएको तीन बर्षमा पुल सम्पन्न भएको हो । कुल १० करोड ९० लाख बजेटमा निर्माण सम्पन्न गर्नेगरि गोल्डेनगुड/सोवर्ण/भण्डारी विल्डर्स जेभीले यो पुल निर्माणको जिम्मा पाएको थियो ।