बिआरआईविरुद्ध फैलाइएको अफवाहविरुद्ध लड्न नेपाल तयार : नेता खनाल


काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टी ९नेकपा०का वरिष्ठ नेता झलनाथ खनालले चिनियाँ राष्ट्रपतिले अघि सार्नुभएको बेल्ट एण्ड रोड इनिसियटिभ (बिआरआई) परियोजनालाई असफल बनाउन चालिएका कदमविरुद्ध लड्न नेपाल राजनीतिक रुपमा तयार रहेको बताउनुभएको छ ।

चीनमा आयोजना गरिएको ‘गुआङ्ग्डोङ्ग २१औँ शताब्दी म्यारी टाइम सिल्करोड अन्तर्राष्ट्रिय एक्स्पो’ लाई सम्बोधन गर्दै पूर्वप्रधानमन्त्री खनालले दक्षिण एशियामा बिआरआईका विरुद्ध लक्षित गर्दै चलेका अभियानको कुनै अर्थ नभएको टिप्पणी गर्नुभयो । उहाँले त्यस्ता अफवाहविरुद्ध एक भएर लड्न नेपाल तयार रहेको बताउनुभयो । नेता खनाल चिनियाँ सरकारको निमन्त्रणमा चारदिने चीन भ्रमणमा हुनुहुन्छ ।

नेता खनालले सन् २०१७ मा बिआरआईमा नेपाल र चीनबीच भएको समझदारीपछि नेपाल औपचारिक रुपमा बिआरआईमा सहभागी हुने मुलुक बनेको बताउनुभयो । उहाँले समझदारीपूर्व विभिन्न चरणमा द्विपक्षीयरुपमा विभिन्न समझदारी भएको स्मरण गर्नुभयो । ती समझदारीपत्र बिआरआईको आधारपत्र तयार गर्न सहायक भएको उहाँको भनाइ थियो ।

नेपाल र चीनबीच एक हजार ६०० वर्ष पुरानो सम्बन्ध रहेको उल्लेख गर्दै नेता खनालले अब साँस्कृतिक र व्यापारिक आधारमा नेपाल र चीनबीचको सम्बन्ध विकास गरिनुपर्नेमा जोड दिनुभयो । बिआरआईको प्रवाभकारी कार्यान्व्यनका लागि नेपाल–चीन आर्थिक करिडोरको विकास गर्न उहाँले प्रस्ताव गर्नुभयो । त्यसैगरी ‘ट्रान्स हिमालय इकोनोमी करिडोर’को स्थापना र नेपाल चीनबीचको रेल सञ्जालको सम्बन्धले सिल्क रोडको ल्हासा–काठमाडौँ–भारत खण्डलाई पुनःजीवित पार्ने र जसको लाभ नेपालले लिनसक्ने उहाँको भनाइ थियो ।

सम्बोधनका क्रममा नेता खनालले नेपाल र चीनबीचको ऐतिहासिक सम्बन्धका बारेमा स्मरण गर्नुभएको थियो । “काठमाडौँको साँस्कृतिक उत्कृष्टता चीनले आयात गरेको थियो, जुन आज पनि बेइजिङको सेतो प्यागोडाशैलीमा देख्न सकिन्छ, जुन अरनिकोद्वारा निर्माण गरिएको थियो”, उहाँले भन्नुभयो । उहाँले दुई देशबीच गहिरो साँस्कृतिक तथा आर्थिक सम्बन्ध रहेको र इतिहासको विभिन्न कालखण्डमा दुई देशबीच वैवाहिक सम्बन्धसमेत स्थापित भएको उल्लेख गर्नुभयो ।

पूर्वप्रधानमन्त्री खनालले अर्थतन्त्र, वातावरण संरक्षण, प्रविधि हस्तान्तरण, संस्कृतिक आदानप्रदानलगायत क्षेत्रमा दुवै देशले सहकार्य गर्नसक्ने प्रशस्त सम्भावना रहेको बताउनुभयो । “आज नेपालले आर्थिक समृद्धि चाहेको छ, जुन दुई देशबीचको आर्थिक तथा सामाजिक सम्बन्धका आधारमा विकसित हुनसक्छ”, उहाँले भन्नुभयो, “कर नीति, कानून, नीति नियम र मुद्राको आदानप्रदानको सिधा प्रणालीलाई सहज बनाउने र अन्य गतिविधिमा दुई देशबीच एक समझदारी हुनु आवश्यक छ ।”

चीनमा आयोजित अर्को एक कार्यक्रममा उहाँले पर्यावरणको संरक्षण, हिमाली क्षेत्रमा बढ्दो मौसम परिवर्तन र वातावरणीय मुद्दालाई दुवै मुलुकले एक साथ सम्बोधन गर्नुपर्नेमा जोड दिनुभएको थियो । उहाँले नेपाल–चीनबीच कृषि तथा चिया, पर्यटन र अन्य विविध क्षेत्रमा द्वीपक्षीय सहयोग आदानप्रदान हुनसक्ने आँैल्याउनुभयो । नेपाल सरकारले घोषणा गरेको भ्रमण वर्ष २०२० सफल बनाउन चीन सरकारको सहयोगको अपेक्षा गर्दै उहाँले नेपालले चिनियाँ पर्यटकलाई दिनसक्ने सुविधाका बारेमा दुई देशकाबीच सहकार्य गर्न सकिने बताउनुभयो । पूर्वप्रधानमन्त्री खनाल आजै स्वदेश फर्कने उहाँका स्वकीय सचिव कृष्ण भट्टराईले जानकारी दिनुभयो । रासस