हड्डी फुकेर राजसंस्था फर्कंदैन ः प्रम ओली

0
Shares

काठमाडौं, (नेस)।  प्रधानमन्त्री केपी शर्मा ओलीले बिदा भइसकेको राजसंस्था नफर्किने बताउनुभएको छ।  आइतबार संसद्लाई सम्बोधन गर्दै उहाँले सो कुरा बताउनुभएको हो। उहाँले अहिले चिहानमा गएर हड्डी फुकी राजसंस्था फर्काउँछु भन्ने परिकल्पना नगर्न चेतावनी दिनुभयो।

लोकतन्त्रविरोधी गतिविधिलाई निरन्तरता दिए त्यस्ता तत्वहरूलाई कारबाहीको दायरामा ल्याइनेछ।  पद जाने भयो भनेर प्रधानमन्त्री लगलग कामेर बसेको अभिव्यक्ति आफूले सुनेको उल्लेख गर्दै प्रधानमन्त्री ओलीले आगामी निर्वाचनसम्म धैर्य गर्न आग्रह गर्नुभयो। लोकतन्त्रप्रति सरकारको प्रतिबद्धतामाथि प्रश्न नगर्न आग्रह गर्दै उहाँले सरकारले लोकतन्त्रलाई सुदृढ गर्दै लगेको बताउनुभयो।

सरकारको संयमयतालाई कमजोरी ठानेर नहौसिन सचेत गराउँदै प्रधानमन्त्री ओलीले भन्नुभयो– ‘सरकार विरोध र आलोचनाको स्वागत गर्छ, तर सरकारको संयमतालाई हेरेर केही तत्व बढी हौसिएको देखिन्छ, प्रणाली उल्टाउँछु र प्रतिगमन ल्याउँछु भन्ने जस्ता कुरा सरकारलाई सैह्य हुँदैन। जनताको शासनविरोधी क्रियाकलाप गर्ने तब्वहरू नहौसिए हुन्छ।’

उहाँले सरकारले आवश्यक कानुनहरू छोटो समयमा नै निर्माण गरेको स्मरण गर्दै कतिपय आवश्यक कानुनहरू यही अधिवेशनबाट टुंगोमा पु¥याउनुपर्नेमा जोड दिनुभयो।
आफ्नो कार्यकालको यो अवधिमा आर्थिक वृद्धिदर उच्च भएको, बाटो, पुल निर्माण तीब्र भएको बताउँदै प्रधानमन्त्री ओलीले मेलम्चीको ठेकेदार भागेपछि सरकारले आफैं काम गरिरहेको जानकारी दिनुभयो।

प्रधानमन्त्री ओलीले राष्ट्रिय गौरवका आयोजनाहरूको प्रधानमन्त्री कार्यालयबाट प्रत्यक्ष अनुगमनको व्यवस्था मिलाइएको, नीति तथा कार्यक्रमको कार्यान्वयनका लागि प्रधानमन्त्री र मन्त्रीहरूबीच सम्झौता भएको, मन्त्री र सचिवहरूको बीचसमेत सम्झौता भएको बताउनुभयो।