बालगोपालेश्वर मन्दिरको शिखर शैलीमा पुनर्निर्माण शुरू

0
Shares

काठमाडौं, (नेस) । रानीपोखरीको बीचमा रहेको बालगोपालेश्वर मन्दिरको शिखर शैलीमा पुनर्निर्माण शुरू भएको छ। गत असार २४ गते राष्ट्रिय पुनर्निर्माण प्राधिकरणसँग ठेक्का सम्झौता गरेको निर्माण कम्पनी सीए÷तुलसी कन्ट्रक्सन जेभीले मन्दिर पुनर्निर्माण शुरू गरेको हो।

मन्दिर पुनर्निर्माणका क्रममा मूल मन्दिरवरिपरि यसअघि राखिएको क्रंकिटको टाइबिम फुटाएर फलामे रड निकाल्न थालिएको छ। त्यसलाई हटाएर चुनासुर्की प्रयोग गरी मूल मन्दिर वरिपरिको ’प्यासेज’ पुनर्निर्माण थालिएको हो ।

त्यसका लागि रानीपोखरीको उत्तरी ढोकातिर सुर्की निर्माणको काम भइरहेको छ भने मन्दिरनजिकै चुना भिजाइएको छ। चुना र सुर्की मिलाएर त्यसकै मसलाले पर्खाल लगाइएको छ।

सीए÷तुलसी कन्ट्रक्सन जेभीका साइट इञ्जिनियर सनम श्रेष्ठले हाल दैनिक ३० देखि ३५ श्रमिकहरुले काम गरिरहेको जानकारी दिनुभयो। उहाँका अनुसार क्षमापूजा गरेपछि मुख्य मन्दिरको पुनर्निर्माण गरिने छ। श्रेष्ठका अनुसार कामलाई गति दिन मूल मन्दिर र पुलको काम समानान्तर रूपमा अघि बढाइने छ।

रानीपोखरीको पुनर्निर्माणको अनुगमन कार्यको नेतृत्व गरिरहनुभएका पुनर्निर्माण प्राधिकरणका सहसचिव एवं सम्पदा संरक्षण, सार्वजनिक भवन तथा पूर्वाधार महाशाखा प्रमुख शिवहरि शर्माले हालसम्मको काम सन्तोषजनक ढंगले अघि बढेको बताउनुभयो।

निर्माण कम्पनीले बालगोपालेश्वर मन्दिर, मन्दिरमा जाने पुल र पोखरी वरिपरिको बगैंचा पुनर्निर्माण गर्नेछ भने उपभोक्ता समितिले पोखरीको पिंध र वरिपरिको पर्खाल पुनर्निर्माणको जिम्मेवारी पाएको छ। उपभोक्ता समितिले पोखरीको पश्चिमपट्टिको पर्खाल लगाइसकेको छ भने दक्षिण र उत्तरको एक तिहाई भागमा पर्खाल लगाउने क्रम जारी छ।

पर्खाल लगाउँदा पनि परम्परागत सामग्री र प्रविधि प्रयोग गरिएको छ। त्यस्तै, भक्तपुरका दक्ष कालिगढबाट पोखरीमा पानी अड्याउन कालो माटोको सलामी दिने काम पनि भइरहेको छ। पुनर्निर्माण प्राधिकरणले ती कामलाई तीव्रता दिन कालीगढको संख्या बढाउन उपभोक्ता समितिलाई निर्देशन दिएको छ।