समयमा पानी नपर्दा किसान चिन्तित


राम धामी, डडेल्धुरा । पर्याप्त मात्रामा वर्षा नहुँदा यसबर्ष धान उब्जनी घट्ने आशंकाका कारण किसानहरु चिन्तित भएका छन । डडेल्धुराको अन्न भण्डार मानिने भित्रिमधेस क्षेत्रकासाथै धान उत्पादनमा अग्रणी मानिने जिल्लाका अन्य ग्रामीण क्षेत्रका किसानहरु धान खेतीमा उत्पादन न्युँन हुने चिन्ता बढेको छ ।

धानलाई आवश्यक परेको बेला पर्याप्त वर्षा नभएकाले यसबर्ष धान उत्पादन प्रभावित हुने भन्दै किसान चिन्तित् भएका हुन् । यसवर्ष ढिलोगरी मनसुन सुरु भएपछि किसानले ढिलै गरेर रोपाई गरेका थिए । तर, रोपाईपछि पनि धान खेतीलाई पुग्नेगरी वर्षा भएको छैन् । साउन महिनामा पर्याप्त मात्रामा पानी परेको छैन । रोपाईको बेला सुख्खाले गर्दा यसवर्ष धान खेतीमा किसानको लगानी बढेको थियो ।

‘साढे तीन बिघा जमिनमा धान खेती गर्दा अहिलेसम्म ३२ हजार रुपियाँ लगानी पुगिसक्यो’, परशुराम नगरपालिका–७ साँदनीका कृषक बिरेन्द्र भण्डारीले भने–‘यो वर्षको लगानी जुवा खेले जस्तो हुने हो कि भन्ने चिन्ता छ ।’ धानलाई यो बेला पानी आवश्यक छ । तर, आवश्यक परेको बेला जमिन पर्याप्त पानी परेको छैन् । पानी नपर्दा धानको बृद्धि हुन नसकेको कृषक भण्डारीले बताए ।

‘आकासे पानीको भरमा धान खेती गर्नु पर्ने भएकाले समयमै पानी परेन भने धान उत्पादन राम्रो हुँदैन’, उनले अगाडि थपे–‘उत्पादनै भएन भने एकै सिजनमा गरिएको यति धेरै लगानी कसरी फिर्ता आउँछ र ?’ खेतको आली भर्ने गरी पानी नपर्दा धानभन्दा पनि झारपात बढी उम्रेको र त्यसमा किटनाशक औषधि छड्दा लगानी थपिदैं गएको किसानको भनाइ छ ।

यसैगरी, पानी नपर्दा कतिपय ठाउँमा धान नै सुक्न थालेको छ । खेतमा दरार परिसकेको छ । डेढ बिघा जमिनमा वर्षभरिलाई खान पुग्ने गरी धान खेती गरे पनि पानी नपर्दा धान सुकेर मर्न लागेको परशुराम नगरपालिका–९ कुयापानीका किसान खगेन्द्रसिँह बोहराले दुखेसो पोखे । ‘यदि, पानी परेन भने धान उत्पादन हुँदैन’, चिन्तित् मुद्रामा उनले भने–‘रोपाईको बेला मल अभाव खेप्नु प¥यो । धान रोपिसकेपछि अहिले पानीको अभाव छ ।’ वर्षा नभइ उत्पादन घटेमा भोकमरी समस्या बढ्ने किसान बताउँछन् ।

स्थानीयतस्तरमा कृयासिल कृषि प्राविधिकहरुका अनुसार रोपाई भएको धानको लागि अहिले ‘वाटर लभिङ’ को बेला हो । यो बेला धान बृद्धिका लागि पानी पर्न अति आवश्यक हुन्छ । यदि, वाटर लभिङको बेला पर्याप्त वर्षा भएन भने सिचाइँ सुविधा नभएको क्षेत्रमा धान उत्पादन घटन सक्छ । यो बेला अकाशे पानी नपरे रोपी सकेको धान खेतीमा अत्यन्त नराम्रो असर पर्ने कृषि ज्ञान केन्द्र डडेल्धुराका प्रमुख बरिष्ठ कृषि विकास अधिकृत दिलबहादुर बिष्टले बताए । ‘अहिलेसम्म पर्याप्त वर्षा भएको छैन’, उनले अगाडि थपे–‘आकासे पानी कम भएकाले धान उत्पादन धेरै हद्सम्म प्रभावित हुन्छ ।’ धान उत्पादन बृद्धिका लागि नहरको पानीभन्दा पनि अकाशे पानीको महत्वपूर्ण भूमिका रहने गरेको बिष्टको भनाइ छ । उनले समयमै आकासे पानी नपर्दा धान खेतीमा रोग किराको प्रकोप बढ्ने बताए ।

यसवर्ष ढिलो गरी मनसुन सुरु भएका कारण कुल धान खेती योग्य जमिनको ८५ प्रतिशत रोपाई मात्रै भएको कृषि ज्ञान केन्द्र डडेल्धुराले जनाएको छ । डडेल्धुरा जिल्लाको भित्रिमधेस क्षेत्रका साथै पहाडी क्षेत्रका थुपै्र स्थानहरुमा धान खेती हुने गरेको छ । धान उत्पादनका लागि अग्रणी मानिने जिल्लाको भित्रिमधेस परशुराम नगरपालिका वडा नं. ४ कटाल, वडा नं. ५ परिगाँउ लगायतका बस्तीहरुमा सिँचाईको व्यवस्था भए पनि समयमै आकासे पानी पर्न नसक्दा सिँचाईका मुहानमा पानी नफुटेकाले समयमै रोपाई गर्न नसकिएको किसानहरु बताउछन् ।

पानी नपर्नु र सिँचाइ समस्याका कारण यो वर्ष कतिपय किसानले खेत बाँझै छोडेका छन् । अघिल्लो वर्ष रोपाइँ भएका खेतमा पनि कतिपय किसानले यो वर्ष रोपाइ गर्न सकेनन् । परशुराम नगरपालिकाभित्रै रोपाई नगरी बाँझो छोडिएको जमिन देख्न सकिन्छ । साउन महिनाभरि पर्याप्त मात्रामा पानी नपरेकाले किसानहरु उत्पादन घट्ने भन्दै निकै चिन्तित् भएको आलिताल गाउँपालिका–४ का वडा अध्यक्ष चन्द्रदेव बोहराले जानकारी दिए ।

‘पर्याप्त पानी नपर्दा धान रोपिएका खेतहरुमा दरार देखा परेको छ’, उनले थपे–‘अझै पनि राम्ररी वर्षा भएन भने, मलाई लाग्छ भित्रिमधेस क्षेत्रमा धान उत्पादन धेरै हद्सम्म घट्न सक्छ ।’ समयमा पानी नपर्ने समस्याका कारण खेतीपातीको काम गर्न धेरै गाह्रो भइसकेको किसानको भनाइ छ । पर्याप्त पानी नपर्दा धान मर्न थालेपछि के खाने भन्ने चिन्ताले सताउन थालेको आलिताल –५ का छविलाल थापा मगरले बताए । ‘यो बेला पानी परेन भने भोकमरी बढ्न सक्छ’, उनले भने ।