पूर्वसडक बालकलाई हेटौँडामा तयार भयो ‘मामाघर’


न्युज अफ नेपाल, हेटौंडा । डाङडुङ्गेमा मामाघर नेपालको भवन निर्माण सकिएको छ । पूर्वसडक बालकहरुलाई आश्रय दिँदै आएको मामाघर नेपालको आफ्नै भवन निर्माण भएको हो । कोठा भाडामा लिएर आश्रय दिँदै आएका सडक बालकहरु अब आफ्नै ‘मामाघर’ मा बस्न पाउने भएका छन् । उक्त भवन २०७१ चैत १४ गते शिलान्यास गरिएको हो । दुई करोड २१ लाख लागतमा मामाघर नेपालको भवन निर्माण गरिएको हो । भवनमा हल, भान्सासहित २१ कोठा निर्माण गरिएको मामाघर नेपाल प्रमुख संरक्षक अर्पण पराजुलीले बताउनुभयो ।

भवनमा अब एक सय जनासम्म पूर्वसडक बालबालिका राख्न सकिने छ । भवन निर्माणका लागि स्पेनिस संस्था फण्डाकेसन हेरेज, हेटौंडा उपमहानगरपालिका, तत्कालिन जिल्ला विकास समिति मकवानपुर, सांसद् विकास कोष, स्थानीय तथा संघसंस्थाको सहयोग प्राप्त भएको पराजुलीले जानकारी दिनुभयो । भवन निर्माणका लागि ‘एक व्यक्ति–एक इँटा’ अभियानबाट पनि सहयोग जुटेको छ ।
पूर्वसडक बालबालिकाको आपत्कालीन राहत, उद्धार, परामर्श, पारिवारिक वातावरणमा आवासीय सुबिधा, सिप, शिक्षा र पारिवारिक पुनर्मिलनमा गराउने कार्य मामाघर नेपालको अभियान हो । सडक बालबालिकामुक्त समाज निर्माण गर्ने लक्ष्यलाई अभियानले सार्थक बनाउँदैछ । चोरी, लुटपाट, डेन्ड्राइट सुँघेर हिँड्ने र राति सडकपेटीलाई ओच्छ््यान र आकाशलाई सिरक बनाउँदै आएकाहरुले आश्रय पाएका छन् ।

‘मामाघर नेपालको सञ्चालन र व्यवस्थापनमा स्थायी दाता कोही छैनन् । मकवानपुर तथा आसपासका व्यक्तिले जन्मदिन, विवाहका दिन गरेको सहयोगले मामाघरका ‘भाञ्जा’ हरुको जीवनयापन भइरहेको छ,’ पराजुलीले भन्नुभयो–बालबालिकालाई उचित अवसर दिनसके उनीहरुमा रहेको विशिष्ट क्षमता प्रष्फुटन हुन्छ । मामाघरमा आश्रयमा रहेका ‘भाञ्जा’ हरु १९ वर्षमुनिकाको राष्ट्रिय हक्की प्रतियोगिताका लागि पनि छनौट भएका थिए ।

५२ दिन हेटौंडाको सडकमा सडकबालबालिकासँगै बसेर अनुसन्धान गर्नुभएका पराजुलीले सरकारी, गैरसरकारी, व्यक्तिगत सबैको सकारात्मक साथ र सहयोग पाउनुभएको छ । १ सय ६३ जना सडक बालबालिकाको सडकबाट उद्धार गरिँदा तीमध्ये १ सय १८ जनालाई पारिवारिक पुनर्मिलन गराइएको छ । सडक बालबालिकाको अनुसन्धानको क्रममा करिब दुई महिना उनीहरुसँगै बिताएर उनीहरुलाई पुनस्र्थापनाका लागि राजी पार्नुप¥यो । सडक बालबालिकाको दिनचर्या र उनीहरुको सर्वपक्षीय गतिविधि अध्ययनका लागि बोरा ओढेर एक साता रातभर बसपार्कमा बिताउनुभएको थिए पराजुलीले ।

अनुसन्धानको क्रममै उनीहरुलाई नुहाइदिन राप्ति खोलामा लैजाँदा १४ जनाको शरीरमा एक सय ९६ वटा जुम्रा भेटिएको उहाँले स्मरण गर्नुभयो । ‘एकै जनाको शरीरबाट ९६ वटा जुम्रा फेला परेको थियो,’ उहाँले भन्नुभयो । हेटौंडालाई सडक बालबालिकामुक्त सहर बनाउने उद्धेश्यले २०६९ भदौ १३ गतेबाट अभियान सुरु गरिएको थियो । जुन, हाल सडक बालबालिकाको भविष्य खोज्ने स्थल बनेको छ । सडकमा पुगेका बालबालिकाको भविष्य ‘मामाघर’ ले उज्यालो बनाउने प्रयास गरिरहेको छ ।

सडक बालबालिकाको समूह बिच्छु ग्याङका नाइके सुनसरीका प्रशान्त ढकालले ‘मामा’ भनी सम्बोधन गरेपछि पराजुलीसँग जोडिएको मामाको साइनो अरुतिर पनि सरेको छ । हेटौंडा क्षेत्रमा उहाँलाई चिन्नेहरु जुनसुकै उमेर, तह र तप्काका भएपनि ‘मामा’ भनी सम्बोधन गर्छन् ।

अनाथ बालबालिकालाई नजिकका परिवार र समुदायभित्र व्यबस्थापन गरेर अभिभावकत्व दिनुपर्छ भन्नेमा अभियानले जोड दिएको छ । आफ्नो संरक्षणमा रहेका बालबालिकालाई औपचारिक शिक्षासँगै दीगो सिप सिकाउने नीति लिएको छ मामाघरले । बालबालिकालाई सडकमा आउनबाट रोक्न परिवारलाई आत्मनिर्भर बनाउने कार्यक्रम चलाइएको छ ।