सुदूरपश्चिममा गौरा पर्वको चहलपहल बढ्यो, भारतबाट घर फर्किनेको लर्को


विनोद सिंह विष्ट, बैतडी । सुदूरपश्चिमेलीहरुको महान पर्व गौरा नजिकिएसंगै रोजगारीको लागी देशवाहिर तथा घरबाहिर रहेको बैतडीका स्थानीय बासिन्दा घर फर्किन थालेका छन् । गौराका लागि भारतमा रोजगारी गरेर फर्कनेहरुको संख्या पनि बढ्दै गएको छ ।

बैतडीको सीमा नाका झुलाघाट भएर भारतबाट फर्कनेहरुको संख्या बढेको सीमा प्रहरीचौकी झुलाघाटले जनाएको छ । आजभोली दैनिक ८०० जना झुलाघाट भएर घर फर्किरहेका सीमा प्रहरीचौकी झुलाघाटका प्रहरी नायव निरीक्षक जनकसिंह धामीले जानकारी दिनुभयो । गौरा पर्व आउन केही दिन मात्रै बाँकी रहेकाले घर फर्किनेको लर्को लागेको हो । यसैबिच गौरा नजिसकिएसंगै बैतडीसहित सुदूरपश्चिमका गाउँघर तथा बजारहरुमा पनि चहलपहल बढेको छ ।

गौरा पर्व नजिकिएसंगै सदरमुकामको गोठलापानी,शाहीलेक बजारका साथै, देहीमाण्डौं, मुस्याचोर, पाटन, खोड्पे,मेलौली, हाट लगायतका बजारमा चहलपहल बढेको हो।घर बाहिर भएकाहरु पनि घर फर्कका र गौराको समयमा नयाँ लुगा लगाउने चलन रहेकाले बजारमा पनि चहलपहल बढेको बैतडीको दोगडाकेदारका गणेश विष्टले बताउनुभयो । गौरामा शिवपार्वतीको पूजाआजा गरिनुका साथै स्थानीय ठाउँमा रहेका देवीदेवताका मन्दिरहरुमा पनि जात्रा लैजाने चलन रही आएको छ गौरा पर्व भदौ ६ गते रहेको छ ।

पौराणिक कालमा भगवान शिव महेश्वरको प्राप्तिका लागि गौरा गौरी देवि अर्थात पार्वतीले निराहार नित्य आराधना गरि शिवको प्राप्ति भएको विश्वास गरिन्छ । त्यती बेलादेखि गौरा र महेश्वरको विवाहको सम्झानाका रुपमा यो पर्व मनाउने परम्परा चल्दै आएको पण्डित दयाकृष्ण पन्तले बताउनुभयो । सुदूरपश्चिममा मात्रै नभएर छिमेकी देश भारतको उत्तराखण्डको कुमाउँ प्रदेशमा पनि यो पर्व धुमधामका साथ मनाउने गरिन्छ । महिलाहरुले दोस्रो दिन पानीका मुहान र पँधेरामा शुभ मुर्हतमा सामुहिक रुपमा बिरुडा धुन्छन । सप्तमीका दिन गौरा देविलाई नजिकको मठ(मन्दिरमा डालोमा स्थापना गर्ने चलन छ ।

गौरा भित्रयाएर पुजा(अर्चना गरि महिलाहरुले दुबधागो चढाउने गर्छन । गौराष्टमीका दिन व्रत बसेर महिलाहरु बिहानैदेखि गौराखलो गौरा मनाउने स्थलमा फाग गाएर पूजाआजा गर्छन । साँझ पख अभिषेक गरेर दुबधागो घाँटीमा लगाएर देविको पुजा गर्ने परम्परा रहेको पुरोहित बताउँछन् । सोहि दिन महिलाले प्रशादका रुपमा बिरुडा ग्रहण गरि आफ्ना घर परिवारका सदस्यको टाउकोमा पुजने र निधारमा बिरुडा थापिदिने गर्छन ।

महिलाले आफ्नो अटल सौभाग्य समृद्धि सन्तान र परिवारमा सुख शान्तिका लागि व्रत बसि पूजाआजा गर्ने मान्यता छ । गौरा पर्वको पहिलो दिन घर–घरमा महिलाले तामाका भाडामा पाँच प्रकारका अन्न भिजाएर पर्वको थालनी गरिन्छ ।