मल्लकालीन लायकु भैरव नाचको तयारी सुरु

0
Shares

पुष्कर बुढाथोकी, भक्तपुर । भक्तपुरको मध्यपुर थिमिमा गाइजात्राको भोलिपल्ट अर्थात आगामी शनिबारबाट सुरु हुने मल्ल कालीन लायकू भैलः (लायकू भैरव) नाचको तयारी सुरु भएको छ । पचासको दशक अघिदेखि बन्द रहेको उक्त भैरब नाच २०७२ सालदेखि स्थानीय जनताको आर्थिक सहयोगमा पुन संचालनमा आएको हो ।

हरेक बर्ष गाइजात्राको भोलिपल्ट देखि चार दिनसम्म थिमिको विभिन्न टोलमा बेलुकी प्रदर्शनी गरिने भैरव नाचमा दुई भैरव, दुई दाय्गी, एक ज्यापुगचाः रहने गर्दछन । मध्यपुरथिमिको लायकू दरबारबाट निस्किएर बालकुमारी मन्दिर प्राङ्गण लगायत विभिन्न टोलमा चार दिनसम्म अपरान्हदेखि रातिसम्म सञ्चालन हुने भैरव नाचको तयारी तीब्र गतिमा भैरहेको नाच सञ्चालन एवं व्यवस्थापन समितिका संयोजक एवं गुरु अर्जुन श्रेष्ठले जानकारी दिनुभयो । भैरब दुई, दाःगि अर्थात कुमारी दुई, र ज्यापूँग एक गरी पाँचजना देवगण रही तान्त्रिक विधिअनुसार भैरव नाच प्रस्तुत गर्नेछन् ।

भैरवले खड्ग, कुमारीले डमरु र ज्यापूँगले ज्यापूँग अर्थात कपालको बिंया, अक्षता, ताय् भएको भाँडो, हातमा लिएर विभिन्न तालमा विभिन्न हाउँभाउँ प्रस्तुत गर्दै नाच्ने परम्परा रहेको छ । नाचको क्रममा भैरव र कुमारीले बेलाबेलामा क्रोधित भएर नाच्ने र ज्यापुंगले शान्त बनाउने गर्दछन् भने नाचका लागि १२ जनाले दागः, आठ जनाले भुस्या, आठ जनाले पोङ्गा र चारजनाले मुहाली बजाई सुर ताल दिने संयोजक श्रेष्ठले जानकारी दिनुभयो ।

शास्त्रीय एवं तान्त्रिक विधिको प्रयोग गरी देव गणको शरीरमा शक्ति प्रवेश गराई नाच नचाउने परम्परा रहेको श्रेष्ठको भनाइ रहेको छ । उनीहरुलाई तीन सातादेखि प्रत्येक दिन साँझ नाच प्रदर्शनका लागि प्रयोगात्मक प्रशिक्षण दिइरहेको छ ।
नाच सञ्चालनका लागि करिब रु ७ लाख लाग्ने अनुमान गरिएको छ भने मध्यपुरथिमि नगरपालिका, दाता र स्थानीय बासिन्दाको सहयोगमा नाच चल्दै आएको छ ।

धांः बाजाको विभिन्न ३० देखि ३२ तालमा नचाईने यस नाच विभिन्न टोल तथा देवालयमा दुईदेखि तीन तालसम्म मात्र नचाइने चलन छ ।मन्त्रोचारण गरी नाच निकाली सकेपछि नाच समापन नभएसम्म देवता बनेर नाच्ने व्यक्तिले कसैको जुठो खान नहुने, शुद्ध भएर बस्नुपर्ने प्रावधान रहेको छ ।

प्राचीनकालमा मध्यपुर थिमि क्षेत्रका बासिन्दालाई भूतप्रेत, पिचासले दुःख दिएर हाहाकार मच्चाएका थिए । त्यसबाट मुक्ति पाउनका लागि लाय्कूका सञ्चालक सक्रिय भएर शास्त्रका विज्ञ, तान्त्रिक र विद्धानसँग भएको छलफल अनुसार स्थानीय मानिसमा तान्त्रिक विद्यामार्फतबाट मानिसको शरीरमा भैरव, कुमारीको शक्ति प्रवेश गराई क्रोधित मुद्रामा टोलटोलमा नचाएपछि भूतप्रेत टिक्न नसकेकाले त्यसपछि यो नाच चल्दै आएको किम्बदन्ती रहेको गुरु श्रेष्ठ एवं यहाँका अन्य स्थानीय बासिन्दाको भनाई छ ।

भुत प्रेतलाई भगाउन सक्ने देवी देवताहरुको सम्मानको रुपमा चौथी र पंचमीको दिन मोसीको श्रपमा घरघरमा पिठो,चामल,मसला लगायत विविध सामग्री राखी पुजा गरी दहिको सगुन दिने प्रचलन रहेको छ ।

यो नाच तान्त्रिक विधि पूरा गरेर दैवी शक्ति प्राप्त गरी सञ्चालन हुने नाचका मूल गुरु श्रीगोपाल प्रजापतिले जानकारी दिनुभयो । शास्त्रीय एवं तान्त्रिक विधिको प्रयोग गरी देवगणहरुको शरीरमा शक्ति प्रवेश गराई नाच नचाउने परम्परा हरेको उहाँले बताउनुभयो । भैरव नाचमा नाच्ने कलाकारहरुमा साक्षात् देवीदेवता प्रवेश भइ द्यः खाइगु भनी काम्ने गरेको यसरी काम्ने कार्य द्यः खाइगु गर्दा २ मिनेट देखि ३ घण्टासम्म पनि हुने गरेको उदारहण रहेको गुरुहरु बताउछन् ।

मध्यपुरथिमि नगरपालिकाका नगरप्रमुख मदनसुन्दर श्रेष्ठ र उपप्रमुख अन्जनादेवी मधिकर्र्मीले मध्यपुरथिमिका कला, संस्कृति एवं ऐतिहासिक धरोहरका रुपमा रहेको यस्ता पर्व सञ्चालनका लागि सक्दो सहयोग गर्ने बताउनुभयो ।

बिगतका बर्षहरुमा आर्थिक समस्याको कारणले नाच लोप हुने अबस्थामा पुगेकोले पछिल्ला बर्षमा नाच संचालनबाट बचत रकम जोहो गरी संरक्षण कोष खडा गरिएको नाच संचालन तथा गुरु निरन्जन श्रेष्ठले बताउनुभयो ।विगतमा बाद्यावादकहरुले पनि दिंदै आएको शुल्कलाई यसबर्षदेखि स्वेच्छिक गरिएको उहाँले बताउनुभयो ।

स्थानीय बुद्धिजीवीको सुझाव अनुसार यो बर्ष नाच सकिए पछि अहिले सम्मको समग्र आर्थिक प्रतिवेदन सहित सम्पुर्ण गतिविधि समेटेर स्मारिका प्रकाशन गरिने भएको छ । नाचलाई आर्थिक सहयोग गर्नका लागि सम्पुर्ण संघसंस्था तथा जनसमुदायमा अपिल गर्दै संचालन समितिले नाचको क्रममा हुने भोजलाई आर्थिक रुपमा मितब्ययी बनाउने प्रयास गरिने जनाएको छ ।

भोजले गर्दा सामाजिक रुपमा जनसहभागिता तथा आपसी सद्भाव बृद्धि हुने र श्रद्धालुहरुले भैरवको प्रसादको रपमा ग्रहण गर्ने भएकाले भोजलाई आर्थिक रुपमा मितब्ययी बनाउन निश्चित शुल्क लिने गरिएको लाय्कु भैलःसंचालन समितिले जनाएको छ ।