शिक्षामा वैज्ञानिक सुधार जरुरीः प्रचण्ड

0
Shares

नेपाल समाचारपत्र, काठमाडौँ । पूर्व प्रधानमन्त्री एवं नेकपाका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले शिक्षामा वैज्ञानिक सुधार नहुञ्जेल समृद्धिको यात्रा सपना मात्र हुने बताउनुभएको छ । शिक्षालय मासिकले सोमबार आयोजना गरेको १५ औँ राष्ट्रिय शिक्षा पुरस्कार वितरण समारोहलाई सम्बोधन गर्दै उहाँले नेपाली जनतालाई खुशी राख्न समृद्धिको यात्रा थालिएको बताउनुभयो ।

उहाले विदेशी मुलुकले शिक्षालाई पहिलो, दोस्रो र तेस्रो प्राथमिकतामा राख्ने गरेको प्रसङ्ग चर्चा गर्दै नेपालको प्राथमिकतामा पनि शिक्षा रहेको र शिक्षामा गुणात्मक सुधार गर्न बाँकी रहेको बताउनुभयो । कार्यक्रममा उहाले कार्यक्रममा १३ विधामा १६ जनालाई शिक्षा पुरस्कार प्रदान गर्नुभयो । पुरस्कृत हुनेहरुमा वेष्ट टिचर अवार्डबाट हनुमन्तेश्वर मावि दोलखाका गोपालध्वज श्रेष्ठ, बेष्ट स्टुडेन्ट अवार्डबाट कालिका मानवज्ञान मावि बुटवलकी सविना सुवेदी,राइजिङ अवार्डबाट सम्बृद्धि एजुकेशन फाउण्डेशन, भक्तपुर, क्रिएटिभ कलेज अवार्डबाट एनसीसीएस, पकनाजोल, काठमाडौं सम्मानित भएका छन् ।

यसैगरी कन्ट्रीब्यूसन अवार्डबाट शिक्षाका लागि राष्ट्रिय अभियान नेपाल (एनसीइ नेपाल), एजुकेशन जर्नालिष्ट अवार्डबाट नेपाल टेलिभिजनका रविचन्द्र पराजुली र कारोबार दैनिकका गोपाल संग्रौला पुरस्कृत भएका छन ।

डेडिकेशन अवार्डबाट शिक्षा तथा मानवस्रोेत विकास केन्द्रका सहसचिव खगेन्द्र नेपाल तथा दाङका शिक्षासेवी मानबहादुर बुढा, रहेका छन् । त्यस्तै प्रिन्सिपल अफ द इयरबाट नाइटिङ्गेल एजुकेशन फाउण्डेशनकी रञ्जना प्रधान, गुडविल अचिभेमेन्ट अवार्डबाट नवलपरासीको अक्सफोर्ड कलेज अफ इञ्जिनियरिङ एण्ड म्यानेजमेन्ट, एक्सिलेन्स अवार्डबाट ग्लोवल कलेज अफ म्यानेजमेन्ट, स्कुल अफ दि इयरबाट सामुदायीकतर्फ जनज्योती मावि सुर्खेत तथा संस्थागततर्फ न्यू होराइजन स्कुल, रुपन्देही पुरस्कृत भएका छन् ।

एजुकेशन भिजन अवार्डबाट शिक्षासेवी बालानन्द पौडेल, इन्स्पिरेसनल अवार्डबाट सांसद शान्ता चौधरी र लाइफटाइम एचिभमेन्ट अवार्डबाट कास्कीका शिक्षासेवी रत्नमान गुरुङ सम्मानित भएका छन । कार्यक्रममा एसडिके कोरियाका प्रमुख प्रा जोङ दाइ कीले नेपालका शिक्षालयसँग सहकार्य गर्ने बताउनुभयो । कार्यक्रमका निर्देशक बालमुकुन्द आचार्यले शिक्षामा नीतिगत विकाससँगै व्यावहारिक विकासको आवश्यकता रहेको बताउनुभयो । शिक्षालयका प्रधान सम्पादक श्याम तण्डुकार नेशनल एजुकेशन अवार्डलाई इन्टरनेशनल बनाउने सोच रहेको बताउनुभयो ।