बाघ पाइने मुलुकका राष्ट्र प्रमुखहरूको सन् २०१० मा रसियाको सेन्ट पिटर्सवर्गमा भएको सम्मेलनले बाघ संरक्षणमा जोड दिँदै सन् २०२२ सम्ममा विश्वभर बाघको संख्या दोब्बर बनाउने संकल्प गरेको थियो । सम्मेलनअघि सन् २००९ मा नेपालभर बाघको संख्या १२१ थियो । त्यसपछि सन् २०१३ मा गणना गरिँदा १२१ बाट ६३ प्रतिशत बढेर नेपालभर १९८ पुग्दा चितवनमा मात्रै १२० संख्यामा बाघ थिए ।
बाघको संख्या बढेकोमा संरक्षणकर्मीहरु उत्साहित हुन नपाउँदै सन् २०१८ सम्म आइपुग्दा निकै चिन्ता बढायो । किनभने, पाँच वर्षमा नेपालभर बाघको संख्या ३७ वटा बढेर २३५ पुग्दा चितवनमा भने २७ वटा घटेर ९३ मा सीमित भयो । बाघ मर्न थालेपछि हरेक चार–चार वर्षमा गरिने गणनासमेत एकवर्ष पर धकेलिन पुग्यो ।
चितवनमा सन् २०१८ मा कालगति, विषादीलगायत विविध कारणले मात्र १८ बाघ मरेका थिए । नौ बाघ बासस्थान अभाव, बाढी र बसाइँ सरेर अन्यन्त्र गएको हुन सक्ने वन्यजन्तु संरक्षण विभागको ठहर थियो । जे–जस्तो कारणले बाघको संख्या घटे पनि पर्यटकीय क्षेत्र चितवनमा बाघको संख्या घटनुलाई चिन्ताको विषय मानिएको छ । चितवनबाहेक बर्दिया राष्ट्रिय निकुञ्जमा ८७, बाँके राष्ट्रिय निकुञ्जमा २१, पर्सा राष्ट्रिय निकुञ्जमा १८ र शुक्लाफाँटा राष्ट्रिय निकुञ्जमा १६ बाघ रहेको तथ्यांक छ ।
चितवनलगायत बाघ पाइने क्षेत्रहरुमा बाघको चोरी सिकार शून्य छ । तर, विगत एकवर्षमा चितवन राष्ट्रिय निकुञ्जमा सात, बर्दिया राष्ट्रिय निकुञ्जमा तीन, बाँके राष्ट्रिय निकुञ्जमा दुई र डिभिजन वन कार्यालय पर्सामा एक गरी १३ बाघको मृत्यु भएको तथ्यांक सार्वजनिक भएको छ । मृत्यु भएकामा आठ भाले, दुई पोथी, लिंग पहिचान नभएका तीन गरी १३ बाघमध्ये ११ वयष्क र दुई बच्चा रहेका थिए। तीमध्ये ११ प्राकृतिक र तीन अन्य कारणले मरेका राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण विभागले जनाएको छ । एकवर्षको अवधिमा १३ वटा बाघ मरेपछि सन् २०२२ सम्म २५० पुग्न कठिन देखिएको छ।
बाघको बासस्थान मासिँदा समस्या बढ्न थालेको संरक्षणकर्मीहरुको ठहर छ । बाघका लागि उत्तम बासस्थान मानिएको चितवनमा बाघको घट्दो संख्याले लक्ष्य पूरा हुन चुनौती थपेको छ । अहिले विश्वमा ३२ सयको हाराहारीमा बाघ पाइने गरेको विश्व वन्यजन्तु कोषले जनाएको छ । बाघका लागि आहार प्रजातिका जनावर आवश्यक पर्ने भएकाले आहार प्रजाति जोगाउन पर्याप्त घाँसे मैदान हुनुपर्छ । सीमसार क्षेत्रहरु पुरिँदै जानु, बासस्थान साँघुरिँदै जानु, निकुञ्जभित्र पर्यटक आवागमन र मानवीय चाप बढ्नुलाई बाघ घट्नुको कारक मानिएको छ । बाढी र बढ्दो विषादी पनि बाघ संरक्षणमा बाधक बन्न पुगेको छ । बाघ मानवबस्तीमा प्रवेश गरेर आक्रमण गर्नु, मानव र वन्यजन्तुबीचको द्वन्द्व बढ्दै जानुले बाघको संरक्षणमै चुनौती थपिएको छ । बाघ घट्दै जानु शुभसंकेत होइन । संख्या घटेसँगै बाघको बासस्थानबारे अध्ययन गरी बाघ घट्नुको ठोस कारणको खोजी गरिनुपर्छ । अनि मात्रै बाघ दिवसलाई उत्सवका रुपमा मनाउनुको औचित्य रहनेछ ।
– सम्झना नगरकोटी, भरतपुर ।
गैंडा संरक्षणमा चुनौती
चोरी सिकारीका कारण गैंडा मर्ने क्रम रोकिए पनि चितवन निकुञ्जमा कालगतिले गैंडा मर्ने क्रम बढेको छ । विगत एक वर्षको अवधिमा मात्रै प्राकृतिक कारणले ४३ वटा गैंडा मरेको चितवन राष्ट्रिय निकुञ्जले जनाएको छ । निकुञ्जको कोर क्षेत्रमा ३४ वटा, मध्यवर्ती क्षेत्रमा सातवटा र डिभिजन वनभित्र दुईवटा गैंडा प्राकृतिक कारणले मरेको निकुञ्ज अधिकारीले जनाएका छन् ।
केही वर्ष शून्य चोरी सिकार वर्ष मनाउन सफल भएको निकुञ्जमा कालगतिले भकाभक गैंडा मर्ने क्रम बढेपछि संरक्षणमा चुनौती थपिएको छ । पछिल्ला तीन वर्षमा चितवनमा प्राकृतिक कारणले गैंडा मर्ने क्रम बढेपछि संरक्षणकर्मीलाई चिन्ताको विषय बनेको छ । निकुञ्जको तथ्यांकअनुसार आर्थिक वर्ष ०७४÷७५ मा २६ वटा र आर्थिक वर्ष ०७३÷७४ मा २४ वटा गैंडा प्राकृतिक कारणले मरेका छन् । ०७३ चैत २६ गते चोरी सिकारीका कारण थप एक गैंडा मरेको थियो ।
पछिल्लोपटक सन् २०१५ मा गैंडा गणना भएको थियो, जसमा देशभर ६४५ गैंडा गणना गरिएको थियो । जसमा चितवन राष्ट्रिय निकुञ्जमा मात्रै ६० प्रतिशत फेला परेका थिए । गैंडा गणनायता चितवन निकुञ्जमा ११२ वटा गैंडा कालगतिले मरेका छन् । पछिल्लो समय गैंडा बूढो भएर, एक–आपसमा जुधेर, घोलमा फसेर, बच्चा जन्माउन नसकेर, बाढीले बगाएर र साना केटोलाई बाघले खाइदिएर मर्ने गरेका छन् ।
अहिले विश्वव्यापीरुपमा वन्यजन्तु तस्करी नियन्त्रणमा चुनौती बढिरहेको छ । सशस्त्र द्वन्द्वको समयमा वि.सं. २०५८ मा एकै वर्षमा ३७ वटा गैंडा सिकारीले मारेका थिए । नेपालमा विगतमा एकै महिनामा १० वटासम्म गैंडा मारिने गरेको अवस्था थियो ।
केही वर्षअघिसम्म गैंडा संरक्षणका लागि चोरी सिकारी नियन्त्रण प्रमुख समस्या रहे पनि अहिलेको अवस्थामा गैंडा मर्नुको कारण खोजी गर्नै पर्ने भएको छ । संरक्षणकर्मीहरुले बढीजसो गैंडा आहारा नपुगेर र जुधेर मर्ने गरेको जनाएका छन् । गैंडाको बासस्थानदेखि घाँसे मैदानको विषयमा अध्ययन गर्नु जरुरी भएको छ । निकुञ्जले चालू आर्थिक वर्षमा पटक–पटक पूरै निकुञ्जको स्विप अपरेसन गरेको थियो ।
राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु विभागले प्रकृति संरक्षण कोषसँग मिलेर हरेक चार–चार वर्षमा गैंडा गणना गर्दै आएको छ । तर, गैंडाको बढ्दो मृत्यु क्रमले सरोकारवाला निकायलाई चुनौती थपिदिएको छ । विश्वमै दुर्लभ मानिएको एकसिंगे गैंडाका लागि नेपाल उर्वरभूमि मानिदै आएको छ । गैंडाको संख्या वृद्धिले उत्साहित संरक्षणकर्मीलाई बढ्दो मृत्युले चिन्तित बनाएको छ । नेपालमा सन् २०११ मा गैंडा गणना ५३४ रेकर्ड भएको थियो । त्यसको चार वर्षपछि अर्थात् सन् २०१५ सम्म बढेर ६४५ रेकर्ड भयो ।
पछिल्लो गणनाअनुसार निकुञ्जमा ६०५ गैंडा रहेको तथ्यांक छ । अब निकुञ्जले प्राकृतिक विपत्ति, बासस्थानको कमी, आहाराको अभावजस्ता कारणबारे व्यापक अध्ययन, अनुसन्धान गरेर गैंडाको मृत्यु न्यूनीकरण गर्नु जरुरी देखिएको छ ।
– सुदन पोख्रेल, चितवन राष्ट्रिय निकुञ्ज ।
प्रतिक्रिया