वन्यजन्तु संरक्षण अभियान शुरु


यमलाल भुसाल, बुटवल । प्रतिमान–नीमा स्मृति प्रतिष्ठानले वन तथा वन्यजन्तुको संरक्षण गर्ने उद्देश्यले अभियान शुरु गर्न अनुसन्धानको थालनी गरेको छ । रुपन्देहीको रोहिणी गाउँपालिका वडा नं. २ र ३ मा रहेको सामुदायिक वनमा अनुसन्धान सुरु गरिएको प्रतिष्ठानकी कार्यकारी निर्देशक स्वाती थापाले जानकारी दिनु भयो ।

पहिलो चरणमा प्रतिमान–नीमा स्मृति प्रतिष्ठानले डिभिजन वन कार्यालय, रोहिणी गाउँपालिका, रोहिणी सामुदायिक वन उपभोक्ता समिति र गौतमवुद्ध सामुदायिक वन उपभोत्ता समितिलाई समेटेर कार्यक्रम संचालन गर्ने गरि सम्झौता गरेको छ ।

घट्दै गएको जैविक विविधता र हरित स्थलको कारण वासिन्दाहरुमा स्वच्छ हावा तथा जीवनस्तरमा प्रत्यक्ष असर पर्न थालेको तथ्यहरुलाई मनन् गर्दै, जलबायु परिवर्तनका नकारात्मक असरहरुसंग जुध्नका लागि हामीले यो सम्झौता गरेका हौं’, प्रष्ठिानकी अध्यक्ष केसीले भन्नु भयो ।
रोहिणीमा आयोजित कार्यक्रममा यी पाँच पक्षबीच सम्झौता पत्रमा हस्ताक्षर गरि नदी प्रणाली, त्यहाँ रहेका जलचर, वन्यजन्तु वनस्पती लगायतका जैवीक विविधता र समुदायको रहन सहन, संस्कृतिलाई दीगोरुपमा संरक्षणका लागि सहकार्य गरी सार्थक लक्ष्य हासिल गर्न सवै पक्ष सहमत भएका छन ।

सम्झौतामा गाउँपालिकाको तर्फबाट अध्यक्ष सनोजकुमार यादव, प्रतिठानको तर्फबाट अध्यक्ष विजया केसी, वन डिभिजनका तर्फबाट प्रमुख इन्द्रबहादुर पछाई, रोहिणी वन उपभोक्ता समितका तर्फबाट अध्यक्ष रामचन्द्र मल्लाह, गौतमुबद्धको तर्फबाट अध्यक्ष माधव कुर्मीले हस्ताक्षर गर्नु भएकोे छ् ।

प्रतिष्ठानले रोहिणी नदी किनारमा रहेको रोहिणी सामुदायिक वनको ९.२५ हेक्टर क्षेत्रफल र गौतम वुद्ध सामुदायिक वनको ९.८९ हेक्टर क्षेत्रफलमा पर्ने वनको क्षेत्र कायम, वचावट तथा पुनस्र्थापना गर्न यहाँका संस्थाहरुसँग हातेमालो गर्ने छ । ‘बर्सेनि वन क्षेत्र मासिँदै छ, वन्यजन्तुको वासस्थान लोप हुँदै गएको छ । यसले मानव स्वास्थ्यमा समेत प्रतिकूल प्रभाव पारेको छ । यस्तो अवस्था प्रतिष्ठानले थालेको अनुसन्धान र संरक्षण अभियानले वन र वन्यजन्तु बचाउनु महत्वपूर्ण भूमिका खेल्नेछ’, डिभिजन वनका प्रमुख पछाईले भन्नु भयो ।

प्रतिष्ठानले पहिलो चरणमा वनको संरक्षण दीर्घकालीन योजना, वन्यजन्तुको वासस्थान, त्यहाँ बस्न सक्ने जीवजन्तुको तथ्यांक संकलन, वन संरक्षण नीति, स्थानीय साझेदारी, स्थानीयको भूमिका, जलवायु परिवर्तन र त्यसले मानव एवं वन्यजन्तुमा पार्ने प्रभाव, हरित गृह निर्माण, पर्यटन प्रबद्र्धन योजना, वातवरणीय, जैविक र सामुदायिक मूल्यांकन, कार्यक्रम संचालन गर्न स्रोत पहिचान, शिक्षा, अुसन्धान, वातावरणीय जैविकता र पर्यावरणीय नैतिकताको विकास, अवलोकन स्थल, सिमसार, चरा आश्रय, नयाँ प्रजातिको परिचय, आश्रय क्षेत्रको अध्ययन र सम्भावना लगायत विषयवस्तुलाई समेटेर गुरुयोजना निर्माण सुरु गरेको छ ।

‘छिट्टै गुरुयोजना बनाएर यसलाई कार्यान्वयनमा लैजान्छौं’, कार्यकारी निर्देशक थापाले भन्नु भयो, पाँच पक्षबीच वन क्षेत्र संरक्षण, चराचुरुङ्गीको प्राकृतिक वासस्थान निर्माण, मानवीय क्रियाकलाप व्यवस्थित गर्न, वनलाई पर्यावरणी रुपमा विकास गर्न, सहरी वन्यजन्तुको आश्रय सिर्जना गरिने भए पछि यहाँका स्थानीय, वन संरक्षण अभियन्ता, वातावरण विज्ञ, चरा विद्, वन्यजन्तुविद् खुशी भएका छन् । यहाँका वनमा २० भन्दा बढी प्रजातिका चराचुरुङगी भएको बताइन्छ । यस्तै, नील गाई, दुम्सी, सर्प, गोही समेत रहेको जनाइएको छ ।