शताब्दी पुरानो संस्कृतिले भरिपूर्ण शुर्मा भवानी जात्रा


हिउँकी हिमांचल पानीकी छाँयाँ ।
सुनकी भौरणी फोडी मान्तालोक आयाँ ।।
कै कि छ पुत्र, कै कि छ जाया ।
इन्दैका पुत्र, मण्डवीकी जाया ।

यसरी भुमिराज देवताको यस धर्तीमा आगमन भएको यो गीतबाट प्रष्ट हुन्छ र जात्राको कहानी पनि जोडिन्छ । भुमिराज देवताका १६ बहिनीहरु थिएँ । जसलाई १६ भगवतीको रुपमा चिनिन्छ । यी बहिनीहरुमा सबभन्दा जेठी दुर्गादेवी थिइन् भने शुर्मा कान्छी थिइन् । शुर्मा देवीलाई छिपीली (चोखो) देवीको रुपमा मानिन्छ ।

किंवदन्ती अनुसार महादेव देवताका सात थिएँ रे । ʺसातै भाई महालिंग (महादेव) दानवैले खायाँ, एकोलो महालिंग ओलान डोलान माल मुनि लाग्याँ ।ʺ भन्नाको अर्थ महादेवका ६ वटा भाई दानवले खाइ दिएपछि घुम्दै फिर्दै महादेव मालकी थली (पूर्णागिरी) तिर लाग्यो । महादेव र भुमिराजको पिपलको बोट भएको चौतारीमा भेट हुन्छ । दुवै अपरिचित थिएँ । चौतारीमा बसेको बेलामा दुवै जना बीच भनाभन भएछ । हुँदा हुँदै परिचय हुन्छ । महादेवले भुमिराजलाई कहाँ जाने भनेर सोधे पछि जवाफमा भुमिराज आफु ज्वाई खोज्न हिडेको बताउँछ ।

यस्तै भुमिराजले महादेवलाई सोधेपछि महादेव कन्या खोज्न हिडेको जवाफ दिन्छ । जवाफ सुनेपछि भुमिराज महादेवलाई जुवा खेल्ने प्रस्ताव गर्छ । भुमिराजले जुवा हारे १६ बहिनीको विवाह महादेवसंग गरिदने र महादेवले जुवा हारे भुमिराजको बाख्रा चराईदिने बाजी राखेर जुवा खेले छन् । भुमिराजले जुवा हारेपछि शर्त अनुसार सोह्रै बहिनीहरुको महादेवसंग विवाह गरिदिन्छ । दुर्गादेवी भुमिराज भन्दा जेठी भएकी हुनाले भुमिराज महादेवसंग भिनाजु नाता लगाउँछन् ।

धौलापूरको जन्मः

किंवदन्ती अनुसार राउद बोहरा र बाउद बोहरा दुई भाई थिए । राउद ठेकरेका बाजे थिए भने बाउद बोहराका । उनीहरु हालको बझाड. जिल्लाको घोगाडा भन्ने ठाउँमा बस्थे । त्यो बेला आँगनमा बिस्कुन (अनाज) सुकाउने चलन रहेछ । यसरी आँगनमा सुकाएको बिस्कुनलाई जंगली जनावर थार आएर दिनदिनै खाई दिने रहेछ । सधै यस्तै भएपछि एक दिन बज्यैले सहन नसकेर बाजेलाई भनिछन् ʺतमरो झकुलो पागडो हमी देउ, हमरो गुन्यु चोलो तमी लैझाउ ।ʺ त्यो बेला लोग्ने मानिस झकुलो, पागडो (एक प्रकारको पहिरन) लगाउने गर्थे । त्यस्तो कुरा सुनेपछि दुवै जना बाजे मिलेर थारलाई लखेटेछन् । गर्भवती थार जलजला भन्ने लडेपछि तुहिएछ ।

यसरी धौलापुरको जन्म भएको थियो । शुर्माभवानीले थारको रुप धारणा गरेर गएकी थिइन् भन्ने मान्यता अहिले पनि रहि आएको छ । शुर्माको छोरा धौलापुर तुहिएर जन्मेको हुनाले धौलापुरलाई अतुयानु नामले पनि चिनिन्छ ।

महादेवका १६ वटा श्रीमती र एक निजेरी नामकी कमारी थिइन् । राक्षेसेनी कमारी निजेरीका पुत्र डाडाबाग थिएँ । शुर्माले थारको रुप धारणा गरेको बेलामा जन्माएका धौलापुरलाई छोडेर आएकी थिइन् । बच्चा छोडेर आएपनि पछि पिउला भनेर शुर्माले दुध छोडेर आएछन् । त्यो दुध डाडाबागले पिएको हुनाले राक्षेसेनी पुत्र डाडाबाग पनि देवता बनेका थिए भन्ने भनाइ छ ।

कसरी पुगिन् भवानी शुर्मा सरोवरः

किंवदन्त अनुसार महादेवलाई कुष्ठ रोग लागेछ । रोगको उपचारको लागि विभिन्न प्रकारको औषधिको प्रयोग गरिएको थियो । लसुन पिसेर मसिनो पारेर लगाएपछि रोग निको हुने सुनेपछि दुर्गा शुर्मालाई लगेर लसुन पिस्न गइछन् । दुर्गाले ओखल (ढुंगाको बीचमा खाल्डो पारी बनाएको) मा लसुन राखी मुसल –काठको लामो पिस्ने) ले पिस्न शुरु गरिछन् ।लसुन उछिट्टएर बाहिर गएछ । लसुन बटारेर ओखलमा राख्न दुर्गाले शुर्मालाई भनिछन् । शुर्माले रुमालले नाक छोपेर विपरित दिशा फर्केर लसुन बटारेर ओखलमा राख्न थालिछन् ।

यस्तो गरेको देखेपछि दुर्गाले रिसाउँदै भनिन् ʺततिकी छिपीली बैना, हिउँशंकर झानʺ (त्यति चोखो भए यो ठाउँ छोडेर हिमालतिर जाउ) । दुर्गाको यस्तो बचन सुनेपछि शुर्माले भनिन् ʺहिउँशंकर झाउलो भनि, मनमाई गुमानʺ (यो ठाउँ छोडी हिमालतिर जाने विचार मेरो पनि थियो) ।

उति बेला शुर्मादेवीका सम्पूर्ण परिवार बझाड. जिल्लाको साविकको शुर्मा गाविसमा बस्थे । दुर्गाको बचन सुनेपछि शुर्मा हिमालतिर जान लागिन् । शुर्मा गएपछि निजेरी पनि उनकी पछि लागिन् । किंवदन्ती अनुसार शुर्माले खुट्टामा पाउला (जुत्ता) र निजेरीले दोचा (भाड.को रेशाको बनाएको) लगाएकी थिइन् । यसरी अघि अघि शुर्मा र पछि पछि निजेरी हिमालयतिर लागिन् । शुर्माले धेरे ठाउँमा आफु बस्ने ताल बनाउन कोशिश गरेकी थिइन् तर ताल बनाएर भाग बन्डा नगर्दै निजेरी पुग्थिन् । राक्षेसेनीले छोएपछि शुर्मा नबसी अगाडी बढ्थिन् ।

धेरै ठाउँमा कोशिश गर्दा असफल भएपछि शुर्माले निजेरीसंग पाउला साटेर दोचा लगाइन् । दोचा नचिप्लिने र पाउला चिप्लने हुनाले निजेरीले शुर्मालाई भेटाउन सकिनन् र हालको शुर्मा सरोवर ताल बनाई भाग बन्डा गरेपछि मात्र निजेरी पुगिन् । शुर्मा सरोवरको एउटै तालमा स्पष्ट दुइ रंग रहेको छ । नीलो रंग शुर्माको भाग र कालो रंग निजेरी भाग अहिले पनि प्रष्ट देख्न सकिन्छ । यसरी शुर्माको यो उच्च हिमाली तालमा बसाइ सरको थियो भन्ने भनाइ रहेको छ ।

शुर्मा भवानीको जात्राः

शुर्मा भवानी जात्रा अपिहिमाल गाउँपालिकाको वार्ड.नं. ३ को क्षेत्ती र घाजिर गाउँमा मनाइन्छ । श्रावण महिनाको स्नानदान औंसी देखि जात्रा प्रारम्भ हुन्छ । यो औसीलाई मान्य औसी भनेर भनिन्छ । बालो विरेहरुले यसै दिनदेखि छुट्टिएर बस्ने चलन रहि आएको छ । वास्तविक जात्रा चाहि औसीको एघारौ दिन अथवा शुक्ल एकादशीबाट शुरु हुन्छ । शुर्मा जात्राको सम्पूर्ण बन्दोबस्त क्षेत्ती र घाजिरका बासिन्दाले मिलाउनु पर्ने चलन रहि आएको छ । यो जात्रा खास गरी तिर्थालुहरुका लागि अति महत्वपूर्ण रुपमा लिइन्छ । जात्राका भक्तजनहरुलाई विभिन्न वर्गमा विभाजित गरिउको हुन्छ ।

जात्राका मुल आयोजक क्षेत्ती र घाजिरका लाई क्रमशः उवादेशी (माथिल्लो बासिन्दा) र उनादेशी (तल्लो बासिन्दा) भनिन्छ । रोकाया र कार्की खण्डेश्वरी भित्रकै बासिन्दा भएपनि उनीहरुको इष्टकुल देवता फरक भएकोले जत्तोर (आमन्त्रित अतिथी) भनदछन् । खण्डेश्वरी भन्दा बाहिर घर भएका र पछि बसाइ सरेर खण्डेश्वरी आएका भक्तजनहरुलाई बाइदेशी (बाहिरको बासिन्दा) भनिन्छ । प्रत्येक तेश्रो वर्षमा ठूलो जात्रा मनाउने चलन छ । ठूलो जात्रामा शुर्मा सरोवरको दर्शन गर्न र विरे जाने चलन रहेकोले भक्तजनहरु ठूलो जात्रामा बढी आउने गर्छन् । शर्मा सरोवरको कुण्डमा स्नान र दान गर्न पाउने हुनाले ठूलो जात्राको बिशेष महत्व रहि आएको छ । मैले यो लेखमा ठूलो जात्राको वारेमा मात्र लेखेको छु ।

शुर्मा सरोवरको दर्शन गर्न जाने भक्तजनहरुले औसीदेखि व्रत बस्नु पर्छ । यहाँको संस्कृति अनुसार यसै दिनदेखि कुकुर, महिला, हतियार र विरालो छुनु हुदैन । हरेक दिन विहान स्नान गरेर शंख बजाई शुर्माको नाम लिनु पर्छ । मासु, अण्डा, लसुन, प्याज खानु हुदैन र बेलुकीको खाना मात्र खानुपर्छ । तर दुध, दही र फलफुल भने खान पाइन्छ ।

जात्राको पहिलो दिन

मान्य औंशीको दशौ दिन वास्तविक जात्रा शुरु हुन्छ । यो दिनलाई रतेडी भनिन्छ । जत्तोर र बाइदेशीले घाजिरबाट भएर मात्र जान पाउने नियम छ । यो दिन जत्तोर र बाइदेशीलाई उनादेशीले ढाको (देवताको बाजा) बजाई स्वागत गरेर भित्र्याउँछन् । उनीहरुलाई स्वागत गरेर शुर्मा मन्दिरमा पुजा पाठ गरिन्छ र पुजा समापन पश्चात् जत्तोर र बाइदेशीलाई घर घरमा बोलाई पुरी र तरकारी खुवाउने चलन रहेको छ ।
उवादेशी, उनादेशी र जत्तोरहरु मध्येबाट जो पहिलो पटक शुर्मा सरोवरको दर्शन गर्न जान्छन् तिनीहरुलाई बालो विरे भनिन्छ । दोश्रो, तेश्रो पटक जानेलाई बुढो विरे भनिन्छ । बाइदेशी मध्येबाट दर्शन गर्न जाने सबैलाई विरे भनिन्छ ।

विरेको छुट्टै पहिचान हुन्छ । रतेडीको दिन मालिमा या लित्थी भेल भन्ने ठाउँबाट देउली (एक प्रकारको निगालो) को लाठी काटी ल्याउनु पर्छ ।यो लाठीलाई लाकुडी लौडो (विरे लाठी) भनिन्छ । लाठीको साइज दर्जा अनुसार अलग अलग हुन्छ । मुख्य मुला (जात्राको रेखदेख गर्ने व्यक्ति) लाई सात हात लामो, सहायक मुलालाई छ हात लामो र अरु विरेहरुलाई पाँच हात लामो वाठी दिइन्छ । रतेडीको दिन घाजिर र क्षेत्ती दुवैतिर मन्दिरमा गई पुजा आजा गर्ने चलन छ । दियो जलाएर, ढाको बजाएर झाक्री काप्छन् र जात्रा सफलताको लागि कामना गर्छन् । पुजा पाठ सकेपछि बुढापाकाहरु मन्दिर भित्र भाडीखेल (पुरानो गीत) गाएर मनोरंजन गर्छन् भने युवा युवतीहरु मन्दिर बाहिर देउडा खेलेर रात विताउँछन् ।

दोश्रो दिन 

यो दिनलाई देवी क्षेत्ती पुर्याउने दिनको रुपमा लिइन्छ । किनकि यो दिन घाजिरबाट सम्पूर्ण भक्तजनहरु विरेहरु सहित क्षेत्ती जान्छन् । उनादेशीहरु ढाको बजाएर चाहाई (पुरानो स्थानीय नाच) खेल्दै बाइदेशी र जत्तोरहरु लिएर क्षेत्ती जान्छन् । शुरुमा निशान (झण्डा) र त्यसपछि क्रमशः झाक्री, ढाके, मुला, विरेहरु र भक्तजनहरु लाइन मिलाएर जान्छन् । देवीले दोचा लगाएर गएकीले जुत्ता लगाउन बन्देज गरिएको छ । भक्तजनहरुले घाजिरको पारी सिद्धनाथ भवानी प्रा.वि.को गेटबाट जुत्ता हातमा समातेर गइ जुत्ता घरमा थन्काउनु पर्छ । यसको साथै छाता ओढ्न पनि निषेध गरिएको छ ।

घाजिरबाट गएको जात्रालाई क्षेत्तीमा भव्य स्वागत गरिन्छ । क्षेत्तीको काना ढुढु भन्ने ठाउँमा दुवै तिरको जात्राको भेट हुन्छ ।मन्दिरमा धामीहरु काप्छन् ।बीचमा एउटा रेखा हुन्छ । त्यो रेखाको एकातिर क्षेत्तीका र अर्कोतिर घाजिरका भक्तजनहरु हुन्छन् । महिलाहरु रेखाको वारीपारी देउडा गीतमा गंजा खेल्छन् । खासगरी क्षेत्तीतिर उनादेशकिा छोरीहरु र घाजिरतिर उवादेशीका छोरीहरु यहाँनेर गंजा खेल्छन् । गीत गाउँदै महिलाहरुले रेखालाई पार गरेपछि मात्र जात्रा भेट भएको मानिन्छ । यो रेखा पार गर्न निकै जतन गर्छन् । घाजिरको धौलापुरको झाक्री क्षेत्तीको मुख्य मुलाको काधमा चढी प्रसन्न मुद्रामा क्षेत्ती जान्छ । जात्रा क्षेत्ती भित्रि सकेपछि घर घरमा बोलाएर प्रासादको रुपमा पुरी र तरकारी खुवाउने चलन छ । यो दिन पनि मन्दिरभित्र भाडीखेल र बाहिर देउडा खेलेर मनोरंजन गर्छन् ।

तेश्रो दिन

यो दिन विरेहरु र अन्य दर्शनार्थीहर शुर्मा सरोवर जान्छन् । विरेहरु पछ्यौरीको गादो (पहिरन) लगाएर महिलाको रुपमा जाने गर्छन् । किंवदन्ती अनुसार खुट्टामा दोचा, शरीरमा पछ्यौरी, टाउँकोमा झोप (महिलाको पहिरन) लगाई देवी सरोवर गएकीले सोही रुप धारण गरी जाने चलन छ । हिन्दु संस्कार अनुसार बाइदेशी बाहेकका विरेहरुको व्रतबंध गरिन्छ । जौ र चामलको पिठोको स्थानीय तरीकाले मह मिसाई बनाएको प्रासाद बनाएर लिने गरिन्छ ।

आमा बुबा वितेकाहरु पितृलाई सरोवर पुण्यताको लागि पनि जाने गरिन्छ । यो दिन निकै मर्माहक हुन्छ । किनभने स्थानीय चलन अनुसार आमाले खाना खुवाएर रप्रासाद तयार गरि गरिदिनु पर्छ । बुबाले छोरोलाई कपडा पहिराएर संयुक्त रुपमा विदाईगर्ने चलन छ । तब जसको आमा बुबा जिवीत छन् उनीहरु निकै खुशी देखिन्छन् भने आमा बुबा गुमाएकाहरु जेठा कान्छा आमा र बुबाबाट विदाई हुदा निकै भावुक हुन्छन् । विरे जाने दाजु भाईलाई दिदी बहिनीहरु आशिर्बाद दिन आएका हुन्छन्, जसले गर्दा अविभावक गुमाएका भाई बहिनीहरुको यो विदाईको क्षण अत्यन्त भावुक हुन्छ । आफुहरु टुहुरा भएको महशुष यो दिन गर्न सकिन्छ । यसरी विरेहरु मुला र झाक्री सहित सरोवरको लागि प्रस्थान हुन्छन् । यो दिनलाई उबोझानी (माथि जाने दिन) भनिन्छ ।

सरोवर जाने बेला बालो र बुढो विरेहरुको अलग लाईन बनाएर हिड्ने गरिन्छ । बाटोमा दैत्यहरु बसेका हुने हुनाले बालो विरेहरुले आफ्नो टाउँकोको झोप फुकालेर यताउति हेर्न पाइदैन । बाटो भरी देवीको नाम लिएर उचेडा (भजन) गाउँदै अगाडी बढ्नु पर्छ । लगभग ४९०१ मिटरसम्मको उचाई भएका डाडाहरु काट्दै बेलुकि बास बस्न विरे ओडार पुग्छन् ।

चौथो दिन

यो दिन शुर्मासरोवरको दर्शन गरिने दिनको रुपमा लिइन्छ । सरोवर पुगेपछि पहिला लाकुडी लौडाको ज्वार गर्ने चलन छ । त्यस पछि परम्परा अनुसार स्नान, दान र श्राद्ध गरिन्छ । जात्राको चलन अनुसार सबै कार्य सम्पन्न गरि सकेपछि सरोवरको जल र गंगामाटी प्रासादको लागि लिएर फर्केर बेलुकी बास बस्न विरे ओडार आउँछन् ।

पाँचौ दिन

यो दिन विरेहरु क्षेत्ती फर्कन्छन् । पहिले पहिले विरेहरु सिधै क्षेत्ती फर्कन्थे । आजभोली बिरफट्टामा वालो विरेहरुको विरे दौड हुन्छ । जत्तोर र बाइदेशकिो हेरचाह र अन्य बिशेष कामको लागि मुला हुन्छन् । किंवदन्ती अनुसार एक समयमा सुज्या वैरे र मुस्या वैरे दुईजना मुला रहेछन् । दुवैजना निकै पाइक (बलवान) थिए । बिरफट्टामा दौडौं भनेर दौडे र दुवै जना बराबरी समयमा पुगे । त्यसै पालादेखि विरे दौडाउने चलन चलि आउको हो । यसरी दौडाउँदा निश्चित स्थानमा जो व्यक्ति पहिला त्यसेको विजय भएको मान्ने चलन छ ।
विरे दौडपछि सबै क्षेत्ती फर्कन्छन् । बाटोमा फुलाभाडी भन्ने ठाउाबाट बरम कोइला टिपेर ल्याउनु पर्छ । माला साट्ने बगरमा पुगेपछि प्रत्येकले आफ्नो लागि आफै माला बनाउँछन् । लाकुडी लौडाको टुप्पोमा उनको धागोमा फुल उनेर बाधिन्छ । यो बगर देखि क्षेत्ती फर्कदा बालो विरेहरु दौड्दा पहिलो दोश्रो भएको आधारमा लाइन लागेर आउछन् ।

विरे क्षेत्ती पुग्ने दिनलाई उनअत्थी (तल आउने) को दिन भनिन्छ । विरेहरुलाई ढाको बजाएर चाहाइ खेलेर स्वागतका साथ घर घरमा भित्र्याउछन् । विरेहरुलाई देवीको रुपमा मानिन्छ । उबादेशीका विरेहरु यो दिन घर परिवारसंग जात्रामा सहभागी हुन्छन् भने अरु विरेहरु स्याउजे मन्दिरमा बस्छन् । उनादेशी, जत्तोर र बायदेशी भक्तजनहरुलाई यो दिन पनि क्षेत्तीमा घर घरमा बोलाएर पुरी र तरकारी खुवाउने गरिन्छ ।

छैठौ दिन

यो दिनलाई भवानी घाजिर शुर्मा मन्दिरमा पुगाउने दिनको रुपमा मानिन्छ । क्षेत्तीबाट विरेहरु र अरु भक्तजनहरु ढाको र चाहाई खेल्दै घाजिर जान्छन् । यो दिन दोश्रो दिनको जस्तै घाजिरमा भेट हुन्छ । यो दिन क्षेत्तीको धौलापुरको धामी घाजिरको मुलाको काधमा चढेर मन्दिरमा जान्छ । यसरी देवीलाई मन्दिरमा भित्र्याउछन् । जात्रा भित्रेपछि उबादेशी, जत्तोर र बाइदेशीलाई घर घरमा बोलाई उनादेशीले पुरी र तरकारी खुवाउँछन् । यो दिन बेलुकी घाजिरमा बोका काटेर दैत्यहरुलाई बली चढाउने चलन छ । उमेर अनुसार भाडीखेल र देउडा गीत खेलेर राति मनोरंजन गर्छन् । घाजिरको लागि यो जात्राको अन्तिम दिन हो ।

सातौ दिन

शुर्मा भवानीको जात्रा समाप्त भएको भोली पल्ट क्षेत्तीमा कालीदेवीको मन्दिरमा रगत बली दिने चलन रहि आएको छ । कालान्तरमा उबादेशीका सबभन्दा जेठो छोरा या छोरीलाई कालीदेवीको मन्दिरमा बली चढाउथे । बलिदिने क्रममा नै एक पटक एउटा केटीको बली दिन लाग्दा ति केटीले मेरो रगतबाट मेरो कपडा भिज्न नदिनु भनेर मुलालाई अनुरोध गरिछन् रे । यो शब्द सुन्दा मुलाको मनमा दया लागेपछि केटीको सट्टामा बाख्राको बलि चढाएछन् । यसरी त्यसै पालादेखि मानिसको बलि नचढाई जेठो पुत्रको छैठ भनेर बाख्रा काटेर बलिदिने चलन चलिआएको भनाई रहेको छ । यो दिनलाई जेठो छोराको छाया विवाहको रुपमा मनाउने गरिन्छ । यसै दिन बेलुकि क्षेत्तीमा बोकालाई गाउँको चारैतिर घुमाएर चौबाटोमा लगेर बली चढाउँछन् ।

यसरी जात्राको समापन हुन्छ । त्यसको भोली पल्ट सबै जना आफ्नो घर फर्किन्छन् । विरेहरु आफ्नो घरमा श्राद्ध बनाउछन् ।उनीहरु गंगामाटीको प्रासाद बाड्न आफ्ना नातेदारहरुको घरमा जान्छन् । विरेलाई देवीको रुपमा स्वागत गरेर मीठो मीठो खाना खुवाउछन् । यसरी जात्रा समापन हुन्छ ।