अहिलेको फिल्मी गीत उल्टोतिर गइरहेको छ


मीना पोखरेल निरौला

गायिका मीना पोखरेल निरौला नेपाली फिल्मको पाश्र्व गायनमा जति पछि आइन्, त्यति नै लोकप्रिय गायिका बन्न सफल भइन्। सांगीतिक क्षेत्रमा प्रवेश गरेको डेढ दशक पुग्नै लाग्दा उनी विभिन्न खालका गीतमा स्वर दिँदै आफूलाई भर्साटाइल गायिकाका रूपमा उभ्याउन सफल भएकी छिन्। भारतको मणिपुरमा स्थापित गायिकाका रूपमा परिचय बनाएकी मीनाले विवाहपश्चात् नेपाल आएर संघर्ष गर्न थालिन्। यही क्रममा फिल्म लुट २ को ठमेल बजार गीतले उनलाई त्यो उचाइमा पु¥याइदियो, जहाँ पुग्न उनले धैर्य, निरन्तरता र मेहनतका साथ लागिरहेकी थिइन्। प्रायः सबै प्रकारका गीत गाएकी मीनाको चोली अलि छोटो, काले दाइ काले दाइजस्ता धेरै गीतले चर्चा पाए। भर्खरै फिल्म जाइराका लागि मीरा राणाले गाएको नेपालकै पहिलो क्याब्रे गीत यो मात चढेको साँझमाको रिमेक गाएकी छिन्। प्रस्तुत छ उनीसँग गरिएको कुराकानी : 

हाल के गर्दै हुनुहुन्छ ?

अहिले तीजको मौसम छ। तीज गीतकै तयारीमा छु। यसका साथै विभिन्न फिल्मका गीतहरू रेकर्डिङमा व्यस्त छु।

नेपाली गीतसंगीतमा कसरी आबद्ध हुनुभयो ?

मणिपुरमै जन्मिएको म सन् २००७ मा मणिपुरबाट विवाह गरेर नेपाल आएँ। सानै उमेरदेखि गीतसंगीतमा रुचि भएकाले गायनमा सक्रिय थिएँ। मेरो स्वर सुन्नेहरूले राम्रो छ, तिमी यसभन्दा राम्रो गर्न सक्छौ भनेपछि हौसला मिल्थ्यो। म भजनहरू गाउँथे भने त्यहींका सांगीतिक ब्यान्डमा पनि आबद्ध थिएँ। भारतमै करिब ४ वर्ष शास्त्रीय संगीत पढें। केही मणिपुरे फिल्ममा गीत पनि गाएँ। नेपाल आइसकेपछि नेपाली तारामा भाग लिएँ। साथै पलेंटीमा पनि गीत गाउन थालें। यसै गरी गीतहरू रेकर्डिङ हुन थाल्यो।

अहिले दिनमा कति गीत रेकर्ड गराउनुहुन्छ ?

आउन त धेरै नै अफरहरू आउँछन्। तर जति अफर पाए पनि सकेसम्म राम्रो गरौं, गीतको क्वालिटी बढाऊँ भन्ने हिसाबले बढीमा २ गीत गाउँछु। दिनदिनै त होइन तर हप्तामा २/३ दिन गीत रेकर्डिङमा बिताउँछु।

हालसम्म कति गीत गाउनुभयो ?

हालसम्म २ सय गीत गाएँ। जसमा आधुनिक, लोक अहिले चलेका रिदमिक प्याटर्न र फिल्मका गीतहरू बढी गाइरहेको छु भने तीज गीतहरू पनि गाएकी छु।

भारतमा बस्ने मान्छे नेपाली गीतसंगीतमा जमिएला भन्ने सोच्नुभएको थियो ?

मेरो रुचि नै गीतसंगीतमा भएको हुनाले म केही बन्छु भन्ने थियो। सानैदेखि गीत गाएर मणिपुरमा पनि स्थापित गायिका बनिसकेको थिएँ। नेपाल आएपछि पनि एक न एक दिन राम्रो गायिका बनेर चिनाउँछु भन्ने थियो र त्यहीअनुसार मेहनत र निरन्तरता दिँदै गएँ।

भारतमा बस्ने अनि उताकै गीत गाइरहेको मान्छेलाई नेपाली गीत गाउन गाह्रो भएन ?

गाह्रो भएन। हामी नेपाली भाषी भएकाले गर्दा मलाई नेपाली गीत गाउन पाए हुन्थ्यो जस्तो सधैं लागिरहन्थ्यो। हामी उता हुँदा तीज, दशैं, तिहारजस्ता चाडहरू मनाउँथ्यौं। आफ्नो भाषामा भएकाले गर्दा अझ राम्रोसँग फिल गरेर गाउन सकिँदो रहेछ। म मणिपुरमा हुँदा मेरी आमाले नेपाली गीत पनि गाइदिए हुन्थ्यो भन्ने सोच्नुहुन्थ्यो। त्यो सोच पनि पूरा भएको छ।

ठमेल बजारले तपाईंको गायकीलाई माथि उठाएको मान्नुहुन्छ ?

एकदमै मान्छु। मैले नमाने पनि धेरै दर्शकले मान्नुहुन्छ। १२/१३ वर्षदेखि पलेंटीमा गाइरहे पनि मलाई यही गीत गाएपछि मीना भनेर चिन्ने र मेरो अरू गीत सुन्ने स्रोता बढेका हुन्। भगवान्ले सबैलाई एउटा मौका दिन्छन् र त्यही मौकालाई समाउन सकियो भने मान्छे माथि आउँछ। मलाई यो गीतपछि नै देश विदेशबाट विभिन्न कार्यक्रमको प्रस्ताव आउन थाले।

ठमेल बजार गाउने अवसर कसरी मिल्यो ?

नेपाली तारामा भाग लिँदा कालीप्रसाद बाँस्कोटासँग चिनजान भयो। त्यसपछि हामी सम्पर्कमा रहिर≈यौं। मैले उहाँको संगीतमा ६ वर्षअघि पाइला एल्बम निकालेकी थिएँ। उहाँसँग कुरा हुँदा राम्रो गीत गाउन पाए हुन्थ्यो भन्ने सल्लाह भइरहन्थ्यो। एकदिन उहाँले दिदी एउटा गीत छ, तपाईंलाई सुट हुन्छ गाउने हो भन्नेर भेट्न बोलाउनुभयो। गीतको शब्द र संगीत सुनेपछि एकदम मन प¥यो र गाएँ। त्यो गीत गाउने बेला नै यो गीत फरक खालको छ र रुचाइन्छ भन्ने लागेको थियो। भयो पनि त्यस्तै।

एकै किसिमका गीत सुनेर केही नयाँ खोजिरहेका दर्शक स्रोताले यो गीतलाई धेरै माया गरिदिनुभयो। लुट २ मा समावेश उक्त गीतपश्चात् नै नेपाली फिल्ममा एउटा एउटा आइटम गीत हुनुपर्छ भन्ने माहोल क्रिएट भयोे।

आइटम गीत चलेका कारण तपाईंलाई आइटम गीतमात्र सुट गर्छ भनिन्छ नि ?

त्यो त संगीतकारले गायकगायिकाको टोन सुनेर छुट्याउन सक्नुपर्छ। धेरैलाई एक खालको गीत चलेको कारण उसले त्यही प्याटर्नको गीत मात्र गाउन सक्छ भन्ने लाग्छ तर, त्यो होइन। गायकगायिकामा भएको खुबी चिन्ने भनेको नै संगीतकारले हो। मैले प्रायः सबै खालका गीत गाएकी छु। तर ठमेल बजार हिट भएपछि अन्य प्याटर्नका गीत गाउन सक्छ भन्ने कुरा ओझेलमा परेको हो। त्यसपछि मलाई धेरै त्यस्तै प्रकारका गीत गाउने प्रस्ताव आउन थाले। मेरो भ्वाइसलाई आधुनिक, ज्याज, लभ सङ, जस्तो पनि सुहाउँछ। मैले गीत गाएर प्रुफ गर्दै पनि छु।

तपाईं कस्तो गीत गाउँदा रमाउनुहुन्छ ?

म शास्त्रीय संगीत सिकेर आएको हुनाले त्यही खालका गीत गाउन मन लाग्छ। आधुनिक तथा लभ सङहरू गाउँदा राम्रो लाग्छ। यस्ता खालका गीतहरू धेरै गाएको पनि छु।

फिल्मका गीत र अरू गीतमा के फरक छ ?

फिल्मको गीत गाउँदा फिल्मको क्यारेक्टरभन्दा बाहिर जानुहुँदैन। क्यारेक्टरलाई फिल गरेर त्यहीअनुसार गाउनुपर्छ भने अरू गीत गाउँदा शब्दअनुसार गाइन्छ।

संगीत क्षेत्रमा करिअर बनाउनु कतिको कठिन भयो ?

कठिन त भयौ नै। तर म आफूलाई लक्की मान्छु। मैले शुरूदेखि नै नाम चलेका अग्रज व्यक्तित्वसँग गीत गाउने र संगत गर्ने मौका पाएँ। उहाँहरूसँग पलेंटीमा गाउँदा धेरै कुराहरू सिकें। त्यसैले पनि कसैले हेप्ने स्थिति पनि आएन।

गीत गाएर जीवन धान्न सकिने अवस्था छ ?

अहिले नभए पनि विस्तारै हुँदै छ। अहिले धान्न सकिने अवस्था शुरुआत हँुदै छ। रोयल्टीको कुराहरू पनि उठिरहेको छ। विस्तारै हुनेछ भन्ने आशा छ।

एउटा गीत गाएबापत कति लिनुहुन्छ ?

यति नै भनेर छैन। तर गीतमा आफूले गरेको मेहनतको चित्त बुझ्दो पारिश्रमिक लिने गरेकी छु। कतिपय गीतमा मलाई त यति चाहिन्छ है भन्छु। कतिपय नयाँ भाइबहिनीले पैसा सोध्दा पर्दैन भन्छु। कतिपय भाइबहिनीहरू मीना निरौला दिदीसँग गीत गाउने भनेर आउनुहुन्छ, त्यसैले माया लाग्छ। शुरूशुरूमा नाम चलेका गायक गायिकासँग गीत गाउँदा आफू पनि सफल भइन्छ कि भन्ने आशा सबैलाई हुन्छ मलाई पनि हुन्थ्यो र उहाँहरूलाई पनि होला। त्यस्तोमा म पैसा लिन्नँ।

अहिलेको फिल्मी गीत कता गइरहेको महसुस गर्नुभएको छ ?

अहिले फिल्मी गीत उल्टोतिर गइरहेको छ। यहाँ मात्र होइन बलिउडमा पनि नेहा कक्करका गीतहरू रुचाइन थालिएको छ। अहिले फिल्ममा पहिलेको जस्तो जीवन्त हुने खालका गीत नभई मिक्स तथा लोक प्यार्टन पक्डेका गीतहरू चलिरहेका छन्। तर यसलाई नराम्रो भन्न मिल्दैन। समयअनुसारका गीतहरू चल्ने हो। विस्तारै चेन्ज हुँदै जानेछ। हाम्रोमा मात्र नभई अरू क्षेत्रमा पनि त्यस्तै भइरहेको छ।

एउटा गायिकालाई बचाउन वा माथि उठाउन स्टेज कार्यक्रम दरिलो पक्ष हुन्छ कि रेकर्डेड गीत ?

दुवैको बराबरी हो। स्टेज पाउनका लागि गीत रेकर्ड गराउनुपर्छ। सधैं एउटै गीत गाउने कुरा पनि भएन। दुवैलाई एकसाथ लानुपर्छ। त्यसैले फिप्टी फिप्टी हो।

अब कस्तो गीत गाउने इच्छा छ ?

अबचाहिँ सुफी टाइपको गीत गाउने गाउने इच्छा छ। जस्तै संगीता प्रधानको कुन पापीले कुन निष्ठुरीले हाए खालको गीत गाउने रहर छ। यस्ता गीतहरू जमाउन पनि सक्छु।

मीना निरौलाको कुन सुपरहिट गीत आउँदै छ ?

छ माया छपक्कैमा वसन्त थापासँग गाएको छु छ माया छपक्कै बोलको गीत। र लक्का जवानका लागि बाबुल गिरीको साथ गाएको गीत आउँदै छ। मलाई लाग्छ यी गीतहरूले नयाँपन दिनेछन्।

नयाँ जेनरेसनलाई तपाईंको सुझाव ?

सबैभन्दा पहिले आफ्नो इन्ट्रेस्ट के हो बुझनुपर्छ र त्यसमै मेहनत गर्दै जानुपर्छ। मैले पनि १३/१४ वर्षदेखि धैर्यता र मेहनत गर्दै आइरहेको छु। स्वयंलाई ख्याल दिनुपर्छ र आफ्नो प्यासनलाई कन्टिन्युटी दिनुपर्छ। अर्को संगीत क्षेत्रमा आउनका लागि बेसिक नलेज लिएर आउनु राम्रो हुन्छ। कम्तीमा आफूले गाएको गीत कुन तालमा छ भनेर चिन्न सकियोस्, कसैले सोध्दा गर्वका साथ यो सुर र यो तालमा छ भन्न सकियोस्।