रघुनाथ खुलाल
(प्रमुख, जिल्ला समन्वय समिति, मकवानपुर)
रघुनाथ खुलाल, जिल्ला समन्वय समिति मकवानपुरका प्रमुख हुनुहुन्छ । प्रदेशका मुख्यमन्त्रीले सार्वजनिक कार्यक्रममा मकवानपुरमा समन्वय समितिको अनुगमन तथा समन्वयको कामलाई अन्य जिल्लाको तुलनामा प्रभावकारीरुपमा गरेको बताउनुभएको थियो । प्रभावकारी कार्य गरेको र जस पाइरहेको जिल्ला समन्वय समितिको कार्य, मकवानपुरका स्थानीय तहको कार्य गराइमा समन्वय समितिका तर्फबाट निर्वाह गरिएको भूमिका, विकासका सम्भावना, समन्वय समितिका योजनालगायत विषयमा खुलालसँग नेपाल समाचारपत्रकर्मी रोशन पराजुलीले कुराकानी गरेका छन्ः
जिल्ला समन्वय समितिमा तपाईंले प्रमुखको जिम्मेवारी बहन गरिसकेपछिको कार्य अनुभव के कस्ता छन् ? समन्वय समितिले स्थानीय तहसँग समन्वय गर्दै काम गर्ने हो । स्थानीय तहका कार्यबारे यहाँहरुले बेलाबेलामा अनुगमन गर्नुभएको छ । मकवानपुरका स्थानीय तहका कार्य गराइ कस्तो पाउनुभएको छ ?
मकवानपुरमा दश स्थानीय तह छन् । एउटा उपमहानगरपालिका, एउटा नगरपालिका र आठ वटा गाउँपालिका छन् । दुई वटा गाउँपालिका निकै विकट क्षेत्रमा छन् । कैलाश गाउँपालिकाले गाउँ परिषद् गर्न सकेको छैन, केही समस्याका कारण । अनुगमनको आँखाबाट हेर्दा स्थानीय तहहरुले धेरै उदाहरणीय काम गरेका छन् । थाहा नगरपालिका, मकवानपुरगढी, भीमफेदी, मनहरीलगायत गाउँपालिकाले व्यवस्थित योजनासाथ कार्यलाई अगाडि लगिरहेका छन् । केही सच्याएर जानुपर्ने विषय छन् । समग्रमा मकवानपुरका स्थानीय तहले काम गरिरहँदा एउटा गोरेटो कोरेका छन् । अर्को वर्षदेखि स्थानीय तहले गरेका भौतिक संरचनाहरु जनताले अनुभूति गर्ने गरी देखापर्न सक्छन् ।
केही स्थानीय तहहरुले उदाहरणीय काम गरेका छन् । स्थानीय तहहरुलाई भौतिक संरचना निर्माणलाई मात्र ध्यान नदिनुहोस् भन्ने पनि हाम्रो कुरा छ । विकास भनेको बाटो बनाउनु, पोल ठड्याउनु, पानीको धारा खसाल्नुमा मात्र सीमित नहुने रहेछ । विकास भनेको हरेक मानिसको सोचमा परिवर्तन आउनुपर्ने हुन्छ । मकवानपुरलाई पूर्णसाक्षर घोषणा गरिएको छ । पूर्णखोप सुनिश्चित भएको जिल्लाका रुपमा पनि मकवानपुरलाई घोषणा गरिएको छ । स्थानीय तहहरुले यतिमात्र गरेर पनि पुग्दैन, यस्ता अभियानलाई निरन्तरता दिन काम पनि गरिराख्नु पर्दछ । अनुगमनका क्रममा यी कुराहरु सच्याउन भनेका छौं । मैले अर्को कुरा भन्नैपर्छ–काम गर्ने सन्दर्भमा स्थानीय तहहरुले समग्र विकासका अवधारणालाई अगाडि जान ख्याल पु¥याउनुपर्दछ ।
कुनै स्थानीय तहमा आन्तरिक समस्या, विवाद भएको पाइन्छ । कतै गाउँपरिषद हुन सकेनन्, कतै विवादबीच भए । स्थानीय तहका आन्तरिक विवाद समाधान गर्न, आपसमा कार्य सम्पादन गराउन यहाँहरुले कसरी सहजीकरण गरिरहनुभएको छ ?
कुनै काम गर्दा वादविवाद हुन सक्छन् । स्थानीय तहका योजना निर्माण गरेर अगाडि जाने सन्दर्भमा हामीमात्र छैनौं, विपक्षीहरु पनि छन् । निर्वाचित भएर आइसकेपछि कुनै पार्टीको हुनु हँुदैंन, सबैको हुन सक्नुपर्छ । यसो भनेर सबैको हुने भनेको चाहीं जनताको हितमा हुनुपर्छ । काम गर्दै जाने क्रममा कतिपय कमीकमजोरी हुन सक्छन् । जसले गर्दा परिषद्का सदस्यबीच असन्तुष्टि आउनसक्छ । विरोध हुन सक्छ । केही विवाद, केही अप्ठ्यारा भए । तर सोचेअनुसार काम अगाडि बढे, तोकिएको मितिमा परिषद् सम्पन्न हुँदैगए ।
कैलाश गाउँपालिकाले गर्न सकेन । गाउँपालिकाका अध्यक्षसँग त्यही दिन कुराकानी गरेको थिएँ । विभिन्न कारण गर्न सकिएन भनेर उहाँले अर्को एउटा मिति दिनुभएको थियो । त्यो मितिमा पनि उहाँले गर्न नसकेको कुरा मैले थाहा पाइसकेपछि किन यस्तो भयो । यदि वडा अध्यक्षहरुको विरोध हो भने तपाईं वडा अध्यक्षकोमा जानुहोस्, अथवा हामी आउनुपर्छ भने आउन तयार छौं । समन्वय गरेर काम सम्पन्न गर्नुपर्छ भन्ने कुरा मैले गरें । अब केही समयमा यो सम्पन्न हुन्छ होला । एउटा निर्वाचित निकायमा आएकाहरुको सबैलाई सहजीकरण गर्नसक्ने भूमिका हुनुपर्छ । कुनै ठाउँमा बजेट तोकिएको निकायबाट पास नगरी त्यसलाई कार्यान्वयनमा लैजान सकिने स्थिति हँुदैन । त्यसकारण गाउँ परिषद्बाट नीति, कार्यक्रम तथा बजेट पारित गरेर मात्र खर्च गर्ने हो । परिषद्ले त्यो नै गर्न सकेन भने यसको क्षमता छैन भन्ने बुझिन्छ । संघीय तथा प्रदेश सरकारले बजेट नै रोकिदिन सक्छ ।
प्रदेश–३ का अन्य जिल्लाको तुलनामा मकवानपुर कार्य गर्ने सवालमा अग्रसर बनेको समीक्षा भएको छ । मुख्यमन्त्रीले सार्वजनिक कार्यक्रममा तपाईंको नेतृत्वलाई प्रभावकारी काम गरेकोमा प्रशंसा गर्नुभयो । यो अवस्थामा आइपुग्न तपाईंले गर्नुभएका कार्य केके हुन् ?
मलाई यस खालको श्रेय दिन तपाईं मिडियाका साथीहरुले ठूलो सहयोग गर्नुभएको छ । यसका लागि सबै मिडियाका साथीहरुलाई धन्यबाद दिन चाहन्छु । मेरो काम गर्ने स्वभाव छुट्टै छ । म मेरो जिम्मेवारी जे हो, त्यसलाई बुझेर कामलाई अगाडि लैजान चाहन्छु । जिल्ला समन्वय समितिमा आउनुअघि पनि मैले संविधान हेरेर, बुझेरै आएको थिएँ ।
जिल्ला समन्वय समितिमा जे काम, कर्तव्य, अधिकार तोकिएका छ, त्यसैमा केन्द्रित भएर जानुपर्छ भन्ने महसुस गरेको थिएँ । कसैले दिएर गर्ने होइन । काम आफैंले खोज्ने हो । आफैंले खोजेर गर्दै गएपछि कामहरु देखा पर्छन् । विकासका अवधारणा कसरी निर्माण गर्ने भनेर दश वटै तहका प्रमुख, उपप्रमुख र प्रमुख प्रशासकीय अधिकृतलाई राखेर छलफल गरायौं । त्यसपछि जनताले ठ्याक्कै अनुभूति गर्ने कुरा कहाँ हुन्छ भन्नेलाई टार्गेट गरेर काम गरियो ।
स्थानीय तहलाई मजबुत बनाउने, सक्रिय बनाउने हो । स्थानीय तहले राम्रो काम गरे भने हामी खुशी हुन्छौं । स्थानीय तहलाई सचेत, क्षमता विकास र सक्रियता बढाउन प्रोत्साहित गर्दै हामी अगाडि बढेका छौं । स्थानीय तह, प्रदेश सरकार र संघीय सरकारसँग निरन्तर सम्पर्कमा रहन्छु । संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय, मन्त्रीज्यु, सचिवज्युसँग सधैं सम्पर्क राख्छु । प्रदेश सरकार मुख्यमन्त्रीको कार्यालय हो । मुख्यमन्त्रीज्युसँग म सम्पर्क राख्छु । हिजो राजनीतिक नेतृत्वमा बसेको व्यक्ति भएको हिसाबमा सामान्यतः अरुको तुलनामा म अलिकति स्थापित भइसकेकोले केही प्रभाव परेको होला ।
मकवानपुरका केही स्थानीय तहमा जनप्रतिनिधि–जनप्रतिनिधि, कर्मचारी–कर्मचारी तथा जन प्रतिनिधि–कर्मचारीबीच असमझदारी रहेको कुरा छ । आन्तरिक विवादका कारण विभिन्न योजना प्रभावित भइरहेको सुनिन्छ । यस्ता समस्या समाधानका लागि तपाईंको भूमिका कस्तो हुन्छ ?
यस्तो हुनु हुँदैन । स्थानीय तहमा निर्वाचित प्रतिनिधिले आफ्नो मनोगत आग्रह कसैले पनि पाल्नु हँुदैन । जिल्लासभाबाट पास गरिएका प्रस्तावमा केही कुरा छन् । व्यक्तिगत महत्वाकांक्षा, मनोगत आग्रह, दुराग्रह राख्ने काम कसैले नगरौं भन्ने प्रस्ताव पास गरेका छौं । समन्वय बैठकमा धेरै पटक यी कुराहरु सहजीकरण गरेका छौं । काम गर्ने सन्दर्भमा मानिसका आआफ्नो सोचाइ तथा बुझाइ हुन्छन् । स्थानीय तह वा जिल्लामा कहीं पनि प्रमुख, उपप्रमुख, वडा अध्यक्ष, सदस्यहरु निर्वाचित भएर आउनुभएपछि उहाँहरुको आआफ्नो जिम्मेवारी छ । प्रमुखको काम उपप्रमुखले मैले गर्न पाइनँ भन्यो भने समस्या हुन्छ । आपसी अन्तरविरोध, शंका भयो भने विकासमा बाधा पर्छ । निर्वाचित निकायका जिम्मेवार व्यक्तिमा त्यस्ता कुरा आयो भने विकासमा बाधा पर्छ ।
स्थानीय तहका जनप्रतिनिधिसँग हरेक महिना समन्वयात्मक बैठक बस्ने गर्नुभएको छ । उहाँहरुसँग स्थानीय तह सञ्चालनका विविध पक्षमाथि छलफल गरिहरँदा काम गर्न समस्या, अप्ठ्यारा, चुनौतीहरु केके रहेछन् ?
नयाँ संरचना भएको हुँदा सञ्चालनका लागि विधिको अभाव भयो । ऐन, नियम, कानुन कार्यविधि, नियमावली अभाव भयो । कामलाई अगाडि लैजान कर्मचारी अभाव भयो । मकवानपुरका स्थानीय तहमा भौगोलिक बिकटता, विकासका काम गर्न बस्ती छरिएर रहेको अवस्था, डाँडामाथि एक–दुई वटा घरसम्म विकास लैजानुपर्ने अवस्था छ । स्थानीय तहमा आफैंले उत्पादन गरेका यस्ता समस्या आए । भर्खर आएका स्थानीय तहलाई पनि हामी त सरकार भन्ने भयो । स्थानीय सरकार भनेको त हामी सबै हौं भन्ने प¥यो । त्यो बुझाइ काममा समस्याका रुपमा देखाप¥यो । दुराग्रह पालेर मैले भनेकोमात्र सबै ठीक हो भन्यौं भने समस्या हुन्छ ।
मकवानपुरका सबै स्थानीय तहलाई हेर्दा, त्यहाँका अवसर, सम्भावना केलाउँदा मकवानपुरको विशेषता के भेट्नुहुन्छ ?
मकवानपुरको समृद्घिका लागि दुई वटा काम गर्नुपर्छ–एउटा कृषि र अर्को पर्यटन । यी दुई क्षेत्रमा विकास गरेर समृद्धि ल्याउनुपर्छ । उद्योग, अन्य क्षेत्रहरु चाहीं तेस्रो, चौथो, पाँचौं हँुदै जाने हो । सबै स्थानीय तहलाई यसलाई समेटेर कार्यक्रम बनाउन जिल्लासभाबाट पास गरेका छौं । मकवानपुर सम्भावनाको जिल्ला हो । हेटौंडाबाट डेढ घण्टामा सीमभञ्ज्याङ्ग पुग्यौं भने छुट्टै हावापानी पाउँछौं । उत्तरी क्षेत्र पूरै तरकारी र खाद्यान्नको सम्भावना भएको क्षेत्र हो । कृषिमा आधारित रहेर विकास गरेर जान सकिने क्षेत्र पूर्वी क्षेत्र हो । कृषि र पर्यटनमा व्यवस्थित योजनासाथ अगाडि जानुपर्छ भन्ने लागेको छ । यसअनुसार योजना बनाएर जान सकिरहेका छैनौं । यो हामीले सोच्नुपर्ने, समन्वय गर्नुपर्ने, सहजीकरण गर्नुपर्ने विषय हो ।
प्रतिक्रिया