होक्सेको माझगाउँमा झाडापखाला

दूषित पानीले एकै गाउँका २५ जना बिरामी

0
Shares

इन्द्र गिरी, संखुवासभा ।
संखुवासभाको पाँचखपन नगरपालिका–४ होक्सेमा दुषित पानीका कारण झाडापखाला फैलिएपछि एकै गाउँका २५ जना बिरामी भएका छन् । गाउमा गत आइतबारदेखि होक्सेको माझगाउँ टोलमा झाडापखाला शुरु भएको थियो ।
महामारीकै रुपमा झाडापखाला फैलिएपछि उपचारका लागि पाँचखपन नगरपालिका स्वास्थ्य शाखाबाट स्वास्थ्यकर्मीको टोली खटिएका छन् । झाडापखालाबाट संक्त विरामी ३ जना बालबालिका सहित ९ जना पुरुष र १६ जना महिला रहेका स्थानियवासीले बताएका छन ।

अहिले प्रभावित क्षेत्रमा पाँचखपन नगरपालिका स्वास्थ्य संयोजक राजकुमार यादवको संयोजकत्वमा वाना प्राथमिक स्वास्थ्य केन्द्रबाट १ जना अहेव, लिङलिङ स्वास्थ्य चौकीबाट १ जना अहेव र शहरी स्वास्थ्य इकाईबाट १ जना अनमीको टोलीले ३ बालबालीका सहित २५ जनाको उपचार गरिरहेका छन ।
प्रभावित क्षेत्रमा स्वास्थ्यकर्मीको टोलीले थप महामारी फैलिन नदिन घर–घरमा पुगेर औषधि वितरण भईरहेको र सिकिस्त बिरामी परेका भेषराज बस्नेत र उनकी नातिनी रोषितालाई थप उपचारकोलागी जिल्ला अस्पताल खाँदवारी पठाईएको पाँचखपन–४ का वडाध्यक्ष काजीबहादुर तामाङले बताउनु भयो ।

गाउमा झाडापखालाबाट ६ घरपरिवारका २५ जना विरामी परेका थिए । झाडापखालाबाट सिकिस्त बिरामी भई उपचार गराईरहेका स्थानिय भेषराज बस्नेतले भने हामी ६ वटै घर परिवारले नजिकै रहेको कुवाको पानी प्रयोग गर्ने गरेका थियौ । पानी खाने परिवारका सवै जना विरामी भएकाले दुषित पानीको कारण यो महामारी फैलिएको हुन सक्ने उहाले आशंका गर्नु भयो ।

जिल्ला स्वास्थ्य कार्यालय खाँदबारीका सुचना अधिकारी रोषन श्रेष्ठले झाडापखालाबाट गाउ नै प्रभावित भएको र स्वास्थ्यकर्मीबाट उपचार भइरहेकाले झाडापखाला अहिले नियन्त्रणमा रहेकोे बताउनुभयो । उहाले प्रभावित क्षेत्रमा यदि औषधी र स्वास्थ्यकर्मीको अभाव भएमा थप स्वास्थ्यकर्मी पठाउन जिल्ला अस्पताल तयारी अवस्थामा रहेको समेत सूचना अधिकारी श्रेष्ठले जानकारी दिनुभयो ।