पशु उपचारका लागि एम्बुलेन्स

0
Shares

नेपाल समाचारपत्र, हेटौंडा ।
प्रदेश–३ को भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालयले बिरामी पशु उपचारका लागि एम्बुलेन्स र माटो परीक्षण गर्न मोबाइल स्वाइल टेस्टिङ भ्यानबाट सेवा सुरु गरेको छ ।

प्रदेशको भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालयले ४ वटा भेटेरिनरी एम्बुलेन्स हस्तान्तरण गरेको हो । चौपाया बिरामी परे सहयोग गर्ने उद्धेश्यले एम्बुलेन्स व्यबस्था गरिएको हो । एम्बुलेन्सले चौपाया बिरामी परे तत्काल उद्धार गरेर उपचार गर्न पशु डाक्टरसम्म ल्याउन सजिलो हुनेछ ।

मन्त्रालयले चालु आर्थिक वर्षमा सञ्चालन गर्ने गरी कृषि तथा बन विश्वविद्यालय रामपुर चितवन, भेटेरिनरी अस्पताल तथा पशुसेवा विज्ञ केन्द्र काभ्रे, ललितपुर र मकवानपुरलाई एक÷एक वटा एम्बुलेन्स हस्तान्तरण गरेको मन्त्रालयका प्रवक्ता निर्मल गदालले बताउनुभयो ।

प्रदेशका मुख्यमन्त्री डोरमणि पौडेलले सम्बन्धित केन्द्रलाई चाबी, बिलबुक हस्तान्तरण गर्नुभयो । ४ वटा पशु एम्बुलेन्सले प्रदेशका विभिन्न जिल्लाका पशु स्वास्थ्य घुम्ती सेवा, पशु उद्धार र उपचार तथा मागबमोजिम कृषक र सहकारीस्तरमा सेवा पु¥याउने योजना रहेको प्रवक्ता गदालले बताउनुभयो ।
सेवाबाट साना तथा दुर्गम क्षेत्रका पशुपक्षीपालक कृषकले छिटो, छरितो र गुणस्तरीय सेवा पाउने अपेक्षा रहेको प्रवक्ता गदालले बताउनुभयो । उहाँका अनुसार पशु एम्बुलेन्स ३७ लाखमा खरिद गरिएको हो । हेटौंडामा माटो परीक्षण प्रयोगशाला भवन उद्घाटन कार्यक्रममा भ्यानबाट दिने सेवाबारे जानकारी दिइएको थियो ।

विषादी परीक्षण प्रयोगशाला कार्यान्वयन गर्न विषादी अवशेष द्रुत विश्लेषण कार्यविधि, २०७५ मन्त्रिपरिषद्बाट स्वीकृत भएर पाँच जिल्लामा प्रयोगशाला स्थापना गर्ने मन्त्रालयको तयारी रहेको प्रवक्ता गदालले जानकारी दिनुभयो ।
माटो परीक्षण प्रयोगशाला स्थापना नभएका स्थानीय तहका लागि मागअनुसार तत्काल माटो परीक्षण सेवा उपलब्ध गराउन माटो परीक्षण घुम्ती प्रयोगशालाका लागि बसको व्यवस्था गरिएको प्रवक्ता गदालले बताउनुभयो ।

मन्त्रालयले ८० लाख लागतमा खरिद गरेको भ्यानले दैनिक ३० वटा माटोको नमूना स्थलगतरुपमा परीक्षण गर्न सक्ने प्रवक्ता गदालले जनाउनुभयो । उहाँका अनुसार घुम्ती सेवा बसबाट वार्षिक १२ हजार कृषक परिवार लाभान्वित हुनेछन् ।

कार्यक्रममा भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्री दावा दोर्जेलामा, प्रदेश नीति तथा योजना आयोग सदस्य श्याम बस्नेत र जिल्ला समन्वय समिति मकवानपुर प्रमुख रघुनाथ खुलाललगायतको उपस्थिति थियो ।