लक्ष्मी हत्या प्रकरणः होटल सञ्चालकसमेत मुछिए अनुसन्धानमा

0
Shares

विजय नेपाली, पोखरा ।
असार एक गते पोखरामा एक व्यक्तीले आफ्नै श्रीमतीको हत्या गरेको आरोपमा प्रहरीले उनलाई पक्राउ गरेको छ । योजनाबद्ध हत्यामा आरोपित भारतीयहरु बसेको एक होटल सञ्चालकलाई समेत प्रहरीले पक्राउ गरेको छ ।

पोखरा महानगरपालिका–८ पृथ्वीचोकस्थित होटल कोसी एण्ड रितिक रेष्टुरेन्टकी सञ्चालिका ममता देवी महतोले आफ्नो होटलमा बास बस्न आएका ग्राहकको नियमानुसार अभिलेख नराखेको भन्दै कास्की प्रहरीले उनलाइ समेत पक्राउ गरेको हो । भारत घर भएका ३ जनालाई आफ्नो होटलमा बास बस्न दिई कुनै अभिलेख नराखेको र उक्त भारतीयहरुले लक्ष्मी परियारको हत्या गरेको अनुसन्धानले देखाएपछि प्रहरीले संचालकलाइ समेत पक्राउ गरेको हो ।

‘हत्यामा संलग्न एक व्यक्तिको होटल सञ्चालकसँग चिनजान रहेछ, संलग्न भएको व्यक्तिले नै उक्त होटलमा राख्दा कुनै अभिलेख नराखेको पाइयो’ –प्रहरी स्रोतले बतायो । हत्यामा संलग्न तीन भारतीय फरार रहेका प्रहरीले बताएको छ ।
जिल्ला प्रहरी कार्यालय कास्कीका प्रवक्ता राजकुमार केसीले होटलले अभिलेख नराखेको र हत्यामा संलग्ना भारतीय सोही होटलमा बसेका कारण होटल संचाकललाई समेत पक्राउ गरेको बताउनुभयो ।

हत्यामा संलग्न लक्ष्मीका श्रीमान् रमेश परियार, भोजपुर घर भई महेन्द्रपुल बस्दै आएका सञ्जय शर्मा, सर्लाही लालबन्दी घर भई पृथ्वीचोकमा मोबाइल पसल सञ्चालन गर्दै आएका चित्ररञ्जन शाह र लक्ष्मीकी मामाको छोरी अनु नेपालीलाई कास्की प्रहरीले पक्राउ गरी अनुसन्धानकै प्रक्रियामा राखेको छ भने सुपारी किलर भारतका तीन जना भने फरार रहेका छन् ।

होटल सञ्चालकबाहेक अन्य पक्राउ परेकालाई सांगठनिक अपराधको मुद्दाअन्तर्गत थप अनुसन्धान गरिएको छ । होटल सञ्चालकलाई होटल व्यवसाय तथा मदिरा बिक्रीवितरण (नियन्त्रण) ऐन, २०३३ को दफा ५ को उपदफा १ (क) विपरीतको कसूर अपराधअन्तर्गत कारबाही हुने प्रवक्ता केसीले जानकारी दिनुभयो ।

असार १ गते श्रीमतीलाई औषधि गर्न जाने भन्दै पोखरा २२ पुम्दिभुम्दिस्थित ठुल्ढुङ्गाको जंगलमा हत्या गरी फालेको अवस्थामा प्रहरीले २५ दिनपछि लक्ष्मीको कंकाल मात्र फेला पारेको थियो । सिद्धार्थ राजमार्गबाट करिब ५ सय मिटर तल पोखरा २२ पुम्दिभुम्दिको ठुल्ढुङ्गाको जंगलमा उक्त कंकाल भेटिएको थियो ।