प्रदेश सङ्ग्रहालयमा थपियो ग्यालरी

0
Shares

नेपाल समाचारपत्र, कास्की ।
पोखरा पर्यटकीय राजधानीको रुपमा पनि चिनिन्छ । यहाँ थुप्रै प्राकृतिक एवम् मानव निर्मित संरचनाहरुले आन्तरिक तथा बाह्य पर्यटकहरुलाई तानिरहेको छ । यही पोखरामा रहेको प्रदेश संग्राहलय ऐतिहासिक महत्व बोकेर पनि प्रचार–प्रसारको अभावले पछाडि परेको छ । अहिले प्रदेश संग्रहालयलाई ऐतिहासिक अध्ययनको थलोका रुपमा विकास गर्नका लागि ग्यालरीहरु थप गरेर आकर्षक बनाइएको छ ।

२०४१ साल माघ २३ गते सर्वसाधारणको लागि खुल्ला गरिएको यस क्षेत्रिय संग्राहलय २०७५ साल भदौ २४ गते प्रदेश संग्राहलयको रुपमा रुपान्तरण भएको थियो । पोखरा महानगरपालिका–९ नयाँ बजारमा रहेको पोखराको पहिलो संग्राहलयमा गण्डकी प्रदेशमा बसोबास गर्ने विभिन्न जातजातिका दैनिक जीवनशैली, भेषभूषा, गरगहना, बाजागाजा, कृषि औजार, देवीदेवताका मूर्तीहरु तथा संस्कृति सम्बन्धी विभिन्न सामग्रीहरु यस संग्राहलयमा देख्न पाइन्छ ।

त्यस्तै हिमाली जिल्ला मुस्ताङमा उत्खननबाट प्राप्त पुरातात्वीक सामाग्रीहरु पनि यस संग्राहलय प्रदर्शनीको अर्काे आकर्षण हो । माटोको भाँडा, पुराना माला, धातुका हातहरियार, काठका हातहतियार, ढुंगाको औजारहरुबारे प्रत्यक्ष अध्ययन अबलोकन गर्न पाइने यस संग्राहलयको अर्काे विशेषता हो ।

संग्राहलयमा हिमाल र पहाडको सभ्याताको विकासक्रमको अध्ययन गर्न सकिन्छ । संघ सरकारको संस्कृति पर्यटन तथा नागरिक उड्डययन मन्त्रालयको ११ लाख रुपैयाँको आर्थिक सहयोगमा नयाँ ग्यालरी थपिएको छ । उक्त ग्यालरीको बिहीबार प्रदेशकी सामाजिक विकासमन्त्री नरदेवी पुनले उद्घाटन गर्नुभएको थियो ।

‘यहाँ अझै धेरै ऐतिहासिक महत्वका बस्तुहरु राख्नुपर्ने देखिएको छ,’ मन्त्री पुनले भन्नुभयो– ‘त्यसको लागि प्रदेश सरकारले चालु वर्षमा यो संग्राहलयको लागि एककरोड रुपैयाँ छुट्याएको छ । त्यसले धेरै कुराहरु थपेर यसको महत्व अझ बढाइनेछ ।’ उहाँले संग्राहलयलाई भेटघाटको थलो मात्र नबनाई अध्ययन अबलोकनको साथसाथै आयआर्जनसँग पनि जोड्नुपर्ने बताउनुभयो ।

संग्रहालयकी प्रमुख करुणा राईले प्रचारप्रसारको अभावले संग्रहालय महत्वपूर्ण भए पनि पछि परेको बताउनुभयो । ‘यो संग्रहालयको महत्व धेरै छ,’ उहाँले भन्नुभयो– ‘तर, यसको प्रचारप्रसार हुन सकेको छैन । पोखरा जस्तो पर्यटकीय ठाउँमा यो ओझेल परेको छ । कर्मचारी अभाव, भौतिक संरचना अभावले पनि काम गर्न समस्या भइरहेको छ ।’

संग्राहालयको ग्यालरीहरुहरुमा पुराना ऐतिहासिक महत्वको सामग्रीहरु रहेको भन्दै उहाँले त्यसको रेखदेखको लागि ग्यालरी गार्ड आवश्यक रहेको बताउनुभयो । त्यस्तै १० दरबन्दी रहेको संग्रहालयमा अहिले जम्मा चार जना मात्रै कर्मचारी छन् ।