समाचार प्रभाव: अभिवक्ता बोहराविरुद्धको उजुरीमाथि छानविन सुरु

0
Shares

नेपाल समाचारपत्र, काठमाडौं  ।
अधिवक्ता भन्दै बहस गर्दै हिँडेका अभिवक्ता खगेन्द्र बोहराविरुद्ध परेको उजुरी माथि नेपाल कानुन व्यवसायी परिषद्ले छानविन सुरु गर्ने भएको छ ।
अभिवक्ता बोहराको बिहीबार लिखित जवाफ प्राप्त भएसँगै छानविनका लागि समितिमा पेश गर्ने परिषद्ले जनाएको छ । महान्यायाधिवक्ता अग्निप्रसाद खरेल अध्यक्ष रहेको परिषदको अनुशासन समितिमा उक्त उजुरीमाथि छानविन र निर्णय लिन पेस गरिने परिषद्का सचिव रामहरि शर्मा काफ्लेले जानकारी दिनुभयो ।

‘हामीले उजुरी उपर छानविन गर्ने आरोपित व्यक्तिको लिखित जवाफ पर्खेका थियौँ । जवाफ बिहिबार आएको छ । अव चाँडै समितिमा पेश हुने र निर्णय हुने छ ।’ –उहाँले भन्नुभयो । अधिवक्ता हुँ भन्दै बहस गरेको, मुद्दा जिताई दिने भन्दै नगद र जग्गा लिएकोलगायतका चार उजुरी परेपछि परिषद्ले उनलाई लिखित जवाफ दिन पत्राचार गरेको थियो ।

अभिवक्ताले अधिवक्ता हुँ भन्दै बहसमा हिँड्ने उनले परिषदमा पेश गरेको लिखित जवाफमा आफू अधिवक्ता या अभिवक्ता भन्ने किसिमको श्रेणी र प्रमाणपत्र नम्बर लेखिएको छैन । ‘उहाँले पठाउनुभएको लिखित जवाफमा आफ्नो श्रेणीको बारेमा खुलाउनुभएको छैन । यसको मतलव हामीले उहाँ अभिवक्ता नै रहेको स्वीकार्नुभएको बुझेका छौँ’ –परिषदका सचिव काफ्लेले बताउनुभयो । बोहराले आफ्नो प्रमाणपत्रसँग मिल्ने ४३५८ नम्बर प्रयोग गरेर अधिवक्ता भन्दै बहस गरिरहेका छन् ।

परिषदले सामान्य प्रकृतिका आचार संहिता उल्लंघन गर्नेलाई नसिहत दिने, गम्भिर प्रकृतिकालाई निलम्बन र अति गम्भिर प्रकृतिका आचारसंहिता उल्लंघन गर्नेको लाइसेन्स समेत रद्द गर्न सक्छ ।

परिषदले उनलाई गत वैशाख ५ गते पनि अधिवक्ता प्रमाण पत्र नंः ४३५८ उल्लेख गरी कानून व्यवसाय गरेकोमा कानून व्यवसायीको आचारसंहिता, २०५१ को नियम ३(१) (क) र (ङ) को विपरित कार्य गरेकोमा नियम ७ (१) बमोजिम नसिहतको सजाय किन हुनु नपर्ने हो भन्दै पत्र पठाएको थियो ।