आलु खेतीलाई अनुदान

0
Shares

दमौली ।
तनहुँको म्याग्दे गाउँपालिकालाई आलुमा आत्मनिर्भर बनाउन गाउँपालिकाले कृषकलाई आलुको बीउमा पचास प्रतिशत अनुदान दिने भएको छ ।

गाउँपालिकाका अध्यक्ष मायादेवी रानाले आलुमा आत्मनिर्भर बनाउन गत वर्ष पनि कृषकलाई बीउ खरीदमा अनुदान दिइएकोमा उक्त अनुदान रकमलाई चालू आव ०७६÷७७ मा पनि निरन्तरता दिइएको जानकारी दिनुभयो । आलुखेतीका लागि कृषकलाई अनुदान वितरण गर्न गाउँपालिकाले यो वर्ष रु पाँच लाख विनियोजन गरेको रानाले जानकारी दिनुभयो ।

“आलुमा आत्मनिर्भर बनाउन कृषकलाई सहयोग गर्ने नीति लिइएको छ”, उहाँले भन्नुभयो, “आगामी तीन वर्षभित्र गाउँपालिकालाई आलुमा आत्मनिर्भर बनाउने लक्ष्य छ ।” अध्यक्ष रानाका अनुसार चिस्यानकेन्द्र नहुँदा आलुको बीउ जोगाइरहन समस्या भएकाले चालू आवमा नै चिस्यानकेन्द्र निर्माण गरिनेछ । चिस्यान केन्द्र निर्माणका लागि प्रदेश सरकारसँग साझेदारी गरिने उहाँले जानकारी दिनुभयो ।

एउटा सहकारी र पाँच वटा समूहले सामूहिकरुपमा आलुखेती गरेको गाउँपालिकाका कृषि शाखा प्रमुख भविलाल रानाभाटले जानकारी दिनुभयो । त्यसका अतिरिक्त व्यक्तिगतरुपमा आलुखेती गर्ने कृषक पनि रहेको उहाँले बताउनुभयो । उहाँका अनुसार गाउँपालिकामा आलुखेती गर्ने कृषकको सङ्ख्या १९० रहेको छ । गत वर्ष १७.५ मेट्रिक टन आलु उत्पादन भएको थियो ।

गाउँपालिकाको साँगे, रानीटारी, थर्पु, पयर, धयँरे, छाङपाटन, पिपलडिहीलगायतका क्षेत्रमा सामूहिक आलुखेती भइरहेको छ । यो वर्ष आलुखेतीका लागि पोखरास्थित चिस्यानकेन्द्रमा १२ टन आलुको बीउ राखिएको छ । “कृषकले आफूले चाहेको बेला चिस्यानकेन्द्रबाट बीउ ल्याएर खेती गर्न सकून् भनेर बीउ राख्ने व्यवस्था मिलाइएको छ”, उहाँले भन्नुभयो, “चिस्यानकेन्द्रमा बीउ राख्न र ल्याउन ढुवानी भाडाको व्यवस्था गाउँपालिकाले मिलाएको छ ।”

गाउँपालिकाले आलुखेतीका लागि अनुदान दिन शुरु गरेपछि आलुखेती गर्ने कृषकको सङ्ख्या बढ्दै गएको छ । यो वर्ष पनि आलुखेती गर्ने कृषक बढ्ने गाउँपालिकाको अनुमान छ । “गाउँपालिकाले आलुखेतीका लागि अनुदानको व्यवस्था गरेपछि यहाँका कृषक आलुखेतीतर्फ आकर्षित भएका छन्”, रानाभाटले भन्नुभयो, “विगतमा धान, मकै, गहुँजस्ता अन्नबाली लगाइने ठूला फाँटमा कृषकले अहिले सामूहिकरुपमा आलुखेती गरेका छन् ।”

म्याग्दे गाउँपालिका–७ का गोवद्र्धन काफ्लेले गाउँपालिकाले कृषकलाई समूहमा आबद्ध बनाई अनुदानमा बीउबिजन, प्रविधि, विषादीको वितरण तथा उत्पादित कृषि उपजको बजारीकरणको व्यवस्था गरेपछि सामूहिक आलुखेतीतर्फ कृषक आकर्षित भएको जानकारी दिनुभयो ।

स्थानीयवासी लक्ष्मी भण्डारीका अनुसार विगतका वर्षमा व्यक्तिगतरुपले निर्वाहमुखीमात्र आलुखेती गर्दै आएकोमा गत वर्षदेखि गाउँपालिकाले आलुखेतीमा अनुदान दिन थालेपछि समूह बनाएर खेती शुरु गरिएको छ ।

गाउँपालिकाले सहकारी खेती, साना सिँचाइ तथा मल बीउ ढुवानी कार्यक्रम सञ्चालनका लागि पनि बजेट विनियोजन गरेको प्रमुख प्रशासकीय अधिकृत दयाराम तिवारीले जानकारी दिनुभयो । उहाँका अनुसार च्याउखेती प्रवद्र्धन कार्यक्रम, मौरीसहित घार वितरण, प्राङ्गारिक मलमा अनुदान, धान बीउ वितरण, मकै बीउ वितरणलगायतका कार्यक्रम सञ्चालन गर्ने नीति अवलम्बन गरिएको छ ।