घटेन लागूऔषध कारोबार, वर्षमा २ सय ६ पक्राउ


हेटौंडा । दैनिकजसो प्रहरीले लागुऔषधसहित मानिस नियन्त्रणमा लिने गरेको छ । भारतसँगको खुला सीमाका कारण मकवानपुरमा लागुऔषध कारोबार घट्न सकेको छैन ।

जिल्ला प्रहरी कार्यालय मकवानपुरमा आर्थिक वर्ष २०७५/०७६ मा दर्ता भएका एक हजार ३३ वटा मुद्धामध्ये सबभन्दा बढी लागुऔषधका एक सय ४८ मुद्धा छन् । आर्थिक वर्ष २०७४/०७५ मा लागुऔषधका एक सय ५५ वटा मुद्धा दर्ता भएका थिए । दुई वर्ष अवधि हेर्ने हो भने तथ्यांक लगभग उस्तै देखिन्छ ।

लागुऔषध कारोबारमा गत आर्थिक वर्ष नेपाली एक सय ३९ पुरुष र महिला ६ जना तथा भारतीय पुरुष २८ जना र महिला तीन जना पक्राउ परेका थिए । जसमा गाँजा तीन हजार एक सय ९३ केजी, चरेश तीन सय चार केजी, खैरो हेरोइन २१ ग्राम, अफिम सात सय ग्राम बरामद गरिएको प्रहरी तथ्यांक छ ।

नाइट्रोभेट तीन हजार सात सय ३७ ट्याब्लेट, डाइजेपाम एक हजार आठ सय ३१ ट्याब्लेट, ब्युप्रोनोरफिम एक हजार सात सय १९ ट्याब्लेट, फेनारगन एक हजार सात सय ५२ ट्याब्लेट, कोरेक्स एक सय ९९ बोत्तल र नखुलेको दुई लिटर लागुऔषध बरामद गरेको हो ।

प्रहरीको एकल प्रयासले मात्र लागुऔषध कारोबार नघट्ने प्रहरी नायब उपरीक्षक यज्ञप्रसाद भट्टराईले बताउनुभयो । ‘हाम्रो मुख्य काम कानुनको दायरामा ल्याउने हो । तर, यससँगै जनचेतनामूलक कार्यक्रम सञ्चालन गर्दै आएका छौं । यस्ता कार्यमा स्थानीय निकायको सक्रियाता देखिए मुद्धाहरु कम हुन्छन्,’ उहाँको भनाइ छ । उहाँले भन्नुभयो–मकवानपुर लागुऔषध उत्पादन क्षेत्र भएका कारण पनि मुद्धा घट्न नसकेको हो । यसको खेती गरिरहेका किसानलाई स्थानीय निकायले विकल्पका रुपमा केही आयआर्जन तथा सिपमूलक कार्यक्रमको व्यवस्था गरे लागुऔषध न्यूनीकरण हुने उहाँले बताउनुभयो ।

कार्यालयमा लागुऔषधसँगै अन्य मुद्धा दर्ता भएका छन् । जसमा सार्वजनिक केशमा तीन सय ५१, ज्यान मार्ने उद्योग नांै, चोरी सम्बन्धि ४६, जुवा सम्बन्धि तीन, कुटपिट अंगभंग २०, विस्फोटक पदार्थ तीन, ठगी सम्बन्धि चार, नागरिकता सम्बन्धि तीन दर्ता भएका छन् ।
बैकिङ कसुर १२, आगजनी एक, जबर्जस्ती करणी ३२, जबर्जस्ती करणी उद्योग आठ, गोवध सम्बन्धि दुई, मानव बेचबिखन ५, वहुविवाह २७, बालबालिका सम्बन्धि सात, कर्तव्यज्यान ११, सवारी ज्यानका ४४ मुद्धा छन् ।

प्रहरीले समुदाय केन्द्रित विविध कार्यक्रम पनि सञ्चालन गर्दै आएको छ । विद्यार्थी केन्द्रित लागुऔषध, साइवरक्राइम, आधारभुत सुरक्षा सम्बन्धि विद्यालयहरुमा जनचेतना, अवैध घरेलुमदिरा तथा गाँजा फँडानी, महिला तथा बालबालिकाविरुद्ध हुने हिंसा तथा अपराध सम्बन्धि समुदायस्तरीय प्रशिक्षण दिने गरिएको छ ।