कार्यसम्पादन सम्झौता गर्दै मन्त्री पोखरेल

0
Shares

ईश्वरराज ढकाल, काठमाडौ । शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री गिरिराजमणी पोखरेलले आफ्ना मातहतका निकाय, विभाग, महाशाखा र शाखा प्रमुखसँग कार्यसम्पादन सम्झौता गर्ने हुनुभएको छ ।

प्रधानमन्त्री केपी शर्मा ओलीले सरकारका उपप्रधानमन्त्री र मन्त्रीहरूसँग कार्यसम्पादन सम्झौता गरेको एक साता बित्न नपाउँदै मन्त्रालयको कामलाई व्यवस्थित रूपमा सम्पन्न गर्न उहाँले सचिवदेखि अधिकृतस्तरका कर्मचारीसँग सम्झौता गर्ने योजना बनाउनुभएको हो ।

मन्त्री पोखरेलले प्रधानमन्त्री ओलीसँग कार्ययोजना र कार्यान्वयन सम्झौता गरेपछि मन्त्री पोखरेलले शिक्षा र विज्ञान प्रविधि सचिवसँग छुट्टाछुट्टै कार्यसम्पादन सम्झौता गर्ने योजना बनाउनुभएको हो ।

मन्त्रीज्यूले सबै निकाय प्रमुखलाई सम्झौता गर्न निर्देशन दिइसक्नुभएको छ’–मन्त्रीका स्वकीय सचिव पुरण केसीले नेपाल समाचारपत्रसँग भन्नुभयो– ‘सचिवसँग सहसचिवले, सहसचिवसँग उपसचिवले र अधिकृतसँग उपसचिवले कार्यसम्पादन सम्झौताको व्यवस्था गर्न लागिएको छ ।’

मन्त्री पोखरेलले शिक्षक सेवा आयोग, शिक्षा तथा मानवस्रोत विकास केन्द्र, शैक्षिक गुणस्तर परीक्षण केन्द्र, पाठ्यक्रम विकास केन्द्र, प्राविधिक शिक्षा तथा व्यावसायिक तालिम परिषद्, जनक शिक्षा सामग्री केन्द्र लिमिटेड, राष्ट्रिय परीक्षा बोर्ड, विभिन्न परियोजना लगायतका प्रमुखसँग तत्काल कार्यसम्पादन गर्न स्म्बन्धित प्रमुखलाई निर्देशन दिइसक्नुभएको छ ।

एकवर्षभित्र सम्बन्धित कार्यालयले गर्ने कामको विषयमा समय र मिति उल्लेख गरी कार्यसम्पादन सम्झौता गर्नुपर्ने व्यवस्था छ । सम्झौतामा कसले के काम गर्ने, कति महिनाभित्र गर्ने र कस्ता कामलाई विशेष प्राथमिकतामा राख्ने भन्ने विषय उल्लेख हुनेछन् ।

तर सम्झौताअनुसार काम नगरे हुने कारबाहीबारे केही उल्लेख गरिएको छैन । यद्यपि सम्झौतापछि सबैले कार्यतालिकाअनुसार काम गर्नुपर्ने बाध्यकारी व्यवस्था गर्न लागिएको छ । सम्झौताअनुसार काम भए÷नभएको सम्बन्धमा मन्त्री पोखरेलले सबै निकायका प्रमुखसँग चौमासिक बैठकमा जानकारी लिनुहुनेछ ।

यस्तै गत वर्षको कार्यक्रमको समिक्षा गर्न आयोजित कार्यक्रममा मन्त्री पोखरेलले आफ्नो मन्त्रालयको काममा रातो संकेत देखिएको विषयमा गम्भीर हुन सबैलाई आग्रह गर्नुभयो ।

उहाँले शिक्षक सेवा आयोग र विपी कोइराला प्लानेटोरियमले गत वर्ष उल्लेखनीय काम गरेको भन्दै प्रसंसा गर्नुभयो । विपी कोइराला प्लानेटोरियमले ८ अर्ब रुपिया बजेट फछ्यौट गर्नुका साथै आयोगले शिक्षक परीक्षादेखि अस्थायी शिक्षकलाई गोल्डेन ह्याण्डसेक दिई लामो समयदेखिका शिक्षकको समस्या समाधान गरेको थियो ।

सो अवसरमा मन्त्री पोखरेलले आर्थिक वर्षको अन्त्यमा मात्रै काम गर्ने परिपाटीको अन्त्य गरी बजेटअनुसार तत्काल काम गर्न निर्देशन दिनुभयो । उहाँले एनजिओ र आइइनजिओको जस्तो काम नगरी आफ्नै ढाँचाको काम गर्न, सधै एउटै व्यक्ति विदेश भ्रमण जाने परिपाटी अन्त्य गरी अन्य कर्मचारीलाई अवसर दिने, बजेट कार्यान्वयन सत्प्रतिशत सफल पार्न सुझाव दिनुभयो ।