बेपत्ताको खोजीमा तालिम प्राप्त कुकुरको प्रयोग

0
Shares

चिरञ्जीवी मास्के, दोलखा
दोलखाको गौरीशङ्कर गाँउपालिका वडा नम्बर १ र २ मा पर्ने जुँगुमा चार दिन अघि गएको पहिरोमा बेपत्ता दुई जनाको खोजिको लागि मंगलवारबाट तीन वटा तालिम प्राप्त कुकुरको प्रयोग गरिएको छ ।

गत साउन १८ गतेको अविरल बर्षा पछि गएको पहिरो र बाढीमा परी गौरीशङ्कर गाँउपालिका वडा नम्बर १ का जगतबहादुर खत्री र वडा नम्बर २ का निशान खड्का हराई रहेका छन् । जगतबहादुरलाई पहिरोबाट बच्न भाग्ने क्रममा खोलाले बगाएको थियो भने निशानलाई खोलामा फसेको बोलेरोबाट मानिसलाई उद्दार गर्ने क्रममा बगाएको थियो । दुबैलाई वडा नम्बर २ मा रहेको जुँगु खोलाले बगाएको हो ।

पहिरोमा बेपत्ता भएका दुई जनाको खोजिको लागि काठमाडौँबाट नेपाली सेनाको तालिम प्राप्त तीनवटा कुकुर सहितको टिम र राडर टिम आएको तारादल गण चरिकोटका गणपति निखिल कुँवरले बताउनु भयो । टोलिले मंगलवार विहान ११ः३० बजेदेखिनै खोजि सुरु गरेको गणपति कुँवरले बताउनुभयो ।

बेपत्ताको खोजि र पहिरोले पुरीएका पशु चौपायाको व्यवस्थापनको लागि तारादल गण चरिकोटबाट क्याप्टेन सन्तोष अधिकारीको नेतृत्वमा १५ जना, सशस्त्र प्रहरी गण चरिकोटबाट सशस्त्र प्रहरी सहायक निरीक्षक नेत्रबहादुर कार्कीको नेतृत्वमा १५ जना र नेपाल प्रहरीको इलाका प्रहरी कार्यालय जिरीबाट प्रहरी नायव निरीक्षकको नेतृत्वमा ७ जनाको टिम परिचालन गरिएको तर अहिलेसम्म बेपत्ता दुई जनालाई भेट्न नसकिएको दोलखाका प्रमुख जिल्ला अधिकारी खगेन्द्रप्रसाद रिजालले बताउनु भयो ।

साउन १९ गते विहानैदेखि नेपाली सेना, जनपथ प्रहरी र सशस्त्र प्रहरीको टोलिले उद्दार, राहत र खोजिमा सक्रियता पूर्वक काम गरिरहेको तर बेपत्ता दुई जनालाई भने अहिलेसम्म पनि भेट्न नसकिएको सशस्त्र प्रहरी नायव उपरीक्षक किरणकुमार कठायतले बताउनु भयो । प्रतिकुल मौसम, प्राकृतिक कठिनाई लगायतका कारण खोजिमा समस्या भएको सशस्त्र प्रहरी नायव उपरीक्षक कठाएत बताउनु हुन्छ ।

अविरल बर्षा पछिको पहिरोले वडा नम्बर १ जुँगु झगेडेको डम्बरबहादुर खत्रीको २ वटा, राजन खत्रीको १ वटा, बालकृष्ण खत्रीको १ वटा, गौरव खत्रीको १ वटा, बलबहादुर खत्रीको १ वटा, नवराज खत्रीको १ वटा र दीपक खत्रीको २ वटा गरी ९ वटा घर पुरीएको छ । त्यसैगरी विरौसीको गंगा खत्रीको १ वटा र अर्को एउटा गरी दुईवटा घर पुरीएको स्थानियले बताए । जुँगुको वडा नम्बर १ र २ मा गरी झण्डै ८० घरका मानिस विस्थापित भएको स्थानिय प्रशासनले जनाएको छ ।

पहिरो लगतै पूर्व राज्यमन्त्री एवं जुँगुको स्थानिय देवी खड्का उद्दार, राहत र बेपत्ताको खोजिमा सक्रिय बन्नु भएको छ । त्यसैगरी पहिरो पीडितहरुलाई दोलखाका संघिय सांसद पार्वत गुरुङ, पूर्व मन्त्री आनन्दप्रसाद पोखरेल, प्रदेश सांसद पशुपति चौलागाई, नेकपा नेता गंगा कार्की, नेपाली कांग्रेस दोलखाका सभापति रुद्रबहादुर खड्का लगायतको पहलमा राहत वितरण र उद्दारमा सहयोग भै रहेको स्थानियले बताएका छन् ।