विराटनगरमा हत्या योजनाको पर्दाफास

0
Shares

नेपाल समाचारपत्र, विराटनगर ।
लेनदेनको बिषयमा विवाद हुँदा विपक्षीलाई भारतीय सुटर प्रयोग गरि हत्या गराउने योजनाको प्रहरीले पर्दाफास गरेको छ । सो घटनामा पक्राउ परेका तीन जनालाई मंगलबार मोरङ प्रहरीले सार्वजनिक गरेको छ ।

सार्वजनिक गरिएका अभियुक्तहरुमा भारत सितामढीका कुनालकुमार सिंह, विराटनगरका मन्नुकुमार गुप्ता र सर्लाहीका हरीनारायण झा रहेका छन । तीन अभियुक्तमध्ये मन्नुकुमार गुप्ताले आफुसंग लेनदेनको विवाद रहेका विराटनगरकै जितेन्द्र रायलाई हत्या गराउन ५ लाख भारुको सुपाडी दिएको प्रहरी अनुसन्धानको क्रममा खुलेको छ ।

अभियुक्त मन्नु गुप्ताले रायको हत्या गराउन भन्दै सर्लाहीका हरीनारायण झालाई सो रकम दिएको र झाले भारत सितामढी घर भएका राकेश झा संग सांठगांठ गरेर भारत सितामढीकै सुटर कुनालकुमार गुप्ता र सोहि ठांउका राजूकुमार रौनियारलाई रायको हत्या गर्न पेस्तोल सहित विराटनगर पठाएको पत्रकार सम्मेलनमा बोल्नुहुंदै मोरङ प्रहरीका एसपी विश्व अधिकारीले जानकारी दिनुभयो ।

गौर हुंदै विराटनगर आएका सुटरमध्ये कुनालकुमार सिंहलाई गएको जेठ २७ गते प्रहरीले विराटनगर बसपार्क छेउमा रहेको होटल मेट्रो सिटिबाट पक्राउ गरेको थियो । सो होटलमा बियर खाएर नाच्ने क्रममा सिंहले कम्मरमा भिरेको पेस्तोल होटलका अन्य ग्राहक र होटल संचालकले देखेपछि प्रहरीलाई खबर गरेका थिए । प्रहरी आइपुग्नुअघि नै सिंहसंगै रहेका राजु कुमार रौनियार फरार भएको प्रहरीले जनाएको छ ।

पेस्तोलसहित पक्राउ गरिएका सिंहको बयानपछि प्रहरीले अनुसन्धान गर्दै जांदा सुपाडी दिएर हत्या प्रयास घटनाको रहस्योद्घाटन गरेको छ । सो घटनामा राकेशकुमार झा र राजुकुमार रौनियार फरार रहेका छन । अभियुक्त सिंह र रौनियार जेठ २७ गते नै रायको हत्या गर्ने उद्देश्यसहित उनको विराटनगर हाटखोलास्थित घरसमेत पुगेका थिए । तर राय घरमा नभेटिएपछि उनिहरु सोधीखोजी गरि फर्किएर होटल तर्फ गएको बेला सोहि राती साढे ८ बजेपछि पेस्तोल सहित कुनाल पक्राउ परेका थिए ।

कुनाल पक्राउ परेपछि सर्लाहीबाट हरीनारायण र विराटनगरबाट मन्नुकुमार गुप्तालाई पक्राउ गरिएको प्रहरीले जनाएको छ । मन्नु बलात्कार अभियोगमा र सर्लाहीका झा हत्या अभियोगमा झुम्का कारागार बस्दा एकआपसबीच भेंट भएको र सोहि समयमा हत्याको योजना बनेको प्रहरीले जनाएको छ ।