पहिरोले अवरुद्ध महाकाली राजमार्ग सुचारु


विनोद सिंह विष्ट, बैतडी । पहिरोका कारण अवरुद्ध भएको महाकाली राजमार्ग पुन सञ्चालनमा आएको छ । बर्षाका कारण महाकाली राजमार्ग अन्तर्गत बैतडीको सतँबाझ / गोकुलेश्वर सडकखण्डको डिलाशैनी गाउँपालिका ६ बांगाबगरमा पहिरो खस्दा आज बिहान ६ बजेदेखि राजमार्ग अवरुद्ध भएको थियोे ।

डोजरको सहयताले पहिरो पन्छाएपछी ७ घण्टामा दिउँसोपछी राजमार्ग सुचारु भएको बैतडीका प्रहरी प्रवक्ता प्रहरी निरीक्षक दीपक पातलीले जानकारी दिनुभयो । यसअघि पहिरोका कारण रोकिएका सवारीसाधन पनि चल्न थालेका छन् । राजमार्ग अवरुद्ध हुँदा अलपत्र परेका यात्रुहरुपनि पनि सवारी साधन पुन सञ्चालनमा आएपनि आ आफ्नो गन्तव्यतर्फ लागेका छन् ।

वि.स. २०६० साल असारमा आएको उक्त पहिरोको व्यवस्थापन तथा सडक मर्मत राम्रोसंग नहुदा बर्षातको समयमा प्रत्येक बर्ष उक्त ठाउँमा बेलालबेलामा सडक अवरुद्ध हुने गरेको छ ।

यसका साथै उक्त पहिरोले त्यो बेला बांगाबगर ६ घर पूर्ण रुपमा नष्ट गरेको थियो भने १ सय ५० रोपनी जमीनलाई बगरमा परिणत गरेको थियो । सोहीबेलादेखि प्रत्येक बर्ष आउने पहिरोले हाल पनि बांगाबगरबासीलाई चिन्तित बनाएको छ ।