कुखुरा व्यावसायले मनग्य आम्दानी


विमल विष्ट, डोटी । डोटी जिल्लाको केआईसिंह गाउँपालिका वडानं. ६ भिताडी सलेनामा समता महिला समुहकी सदस्य देउसरी विकले बोईलर कुखुरा व्यवसाय शुरु गरेको करिब ८ महिना भयो । कुखुरा बिक्रि गरेको रकम बाट उहाँले अहिले सम्म रु १ लाख बढी सञ्चित गरिसक्नु भएको छ ।

१४ वर्षकै उमेरमा कामको खोजीमा भारत गएका उहाँका श्रीमानले पैशा कमाउन नसकेपछि घरमै बोलाएर दुबैको सहमतीमा समुहबाट रु. एकलाख ऋण लिई कुखुरा व्यवसाय सञ्चाल गरेपछि दुबैजना श्रीमान श्रीमती अहिले निकै खुसी भएका छन् । अहिले उहाँको घर परिवारमा कुखुरा व्यावसायले खुसियाली थपेको छ । श्रीमानको सहयोगमा आफनै लगानीमा कुखुराको खोर निर्माण गर्नु भएकी देउसरी र उहाँका श्रीमानले पहिलो पटक ३०० बोईलर कुखुराका चल्लाहरु ल्याई कुखुरापालन व्यवसाय अगाढी बढाएका हुन ।

केआईसिंह गाउँपालिकाको भूमिराजमाण्डौंमा मासुको खपत बढदै गएको र चल्ला ल्याएकोे ४५ दिन भित्रै कुखुरा फष्टाउने गरेको कुखुरा व्यवसायी देउसरीले बताउनुभयो । उहाँले भन्नुभयो, “राम्रो संग कुखुराको स्याहार गरेमा एकलटमा रु ३० देखी ४० हजार बराबरको आम्दानी हुने गरेको छ,घरैमा मेहनेत गरे पैसा कमाउन भारत जानु पर्दैन ।”

बिगतमा श्रीमान कामकालागि भारत गएका र कमाएको पैशाजति जाँडरक्सीमा सक्ने घर आँउदा रित्तै आउने र आफुलाई छोराछोरी लालनपालन गर्न पनि सारै समस्या हुने गरेको दुःखेसो सम्झिदै देउसरी भन्नुहुन्छ, “पहिला श्रीमान भारतबाट पैसा नपठाउने,सधै अर्काको कम गरेर खानुपर्ने अवस्था थियो,अहिले दुबै मिलेर व्यवसाय गरेका छौँ,राम्रै आम्दानी भएको छ ।” उहाँको परिवारमा श्रीमान कर्ण विक, सासु, २ छोरा १ बुहारी १ नातीनी गरि ७ जना सदस्य रहेका छन् ।

बिगतमा ७ जनाको परिवार देउसरीले एक्लै पाल्दै आउनु भएको थियो । यूवा अवस्था देखि नै आधा जिन्दगी भारतमै विताएका देउसरीका श्रीमान कर्ण विक अहिले श्रीमतीको प्रयासमा भएको आम्दानी र पैसा पाउदा खुसी भएको बताउनुहुन्छ । “मैले लामो समय सम्म ईन्डियामा काम गरे तर घरमा कुनै सहयोग पु¥याउन सकेन”, उहाँले भन्नुभयो “श्रीमतीको आटमा कुखुरा व्यवसाय शुरु ग¥यौ,अहिले परिवारमा खुसि छाएको छ,पैसापनि बचत हुने गरेको छ ।” देउसरीका श्रीमान मात्रै होईनन् भिताडी गाउँका अधिकांश दलित घरधुरीका पुरुषहरु कामका लागि वर्षेनी भारतजाने गर्दछन् ।

उक्त गाउँमा वर्षौ देखी महिलाहरुले मात्रै मेलापातको काम र घरधन्दा चलाउने काम गर्दै आईरहेका छन् । श्रीमानले भारतबाट पठाएको रकमले नपुग्ने भएपछि उक्त गाउँका दलितहरु अर्काको काम गरि घर खर्च चलाउने गरेको स्थानियबासी जगतबहादुर बलायरले बताउनुभयो । उहाँले भन्नुभयो, “दलिद परिवार संग खासै कमाउने जगा जमिन छैन,पैसा कमाउन भारत गएका घरका मान्छेले पैसा नपठाउदा उनिहरु अर्काको काम गरेर पेट पाल्न बाध्य छन् ।” उक्त क्षेत्रमा पछिल्लो समय परम्परागत पेशागत कामको लोप हुदै गएपछि उहाँहरुलाई घरचलाउन निकै समस्याहुन थालेपछि पुरुषहरु कामका लागि भारत जान थालेको अर्का स्थानिय कुलबहादुर कामीले बताउनुभयो ।

उहाँले भन्नुभयो, “पुख्यौली पेसा लोप हुन थाल्यो,गाउँमा रोजगारी मिल्दैन अनि पैसा कमाउन भारत पस्ने प¥यो ।” एक्शनएड नेपालको सहयोगमा सञ्चालन भैरहेको स्थानिय अधिकार कार्यक्रम तथा महिला नेटवर्क परियोजना अन्तरगत गठित समता महिला समुहमा परियोजनाको सहयोगमा समता महिला समुह लगायत अन्य ७ वटा समुहमा घुम्तीकोष वापत रु. १ लाख सहयोग गरिएपछि सो गाउँका दलित परिवारलाई अहिले निकै राहत पुगेको समबिकास केन्द्र (ईडिसि) डोटीका अध्यक्ष महेश टेलरले बताउनुभयो ।

उहाँले भन्नुभयो, “आर्थिक अवस्था कमजोर भएका दलित परिवारलाई घर धन्दा चलाउनै समस्या थियो,संस्थाले आर्थिक सहयोग गरेपछि उनिहरुको जिवनस्तर माथी उठ्न थालेको छ ।” उक्त संस्थाको सहयोगमा सञ्चालन भएको उक्त कोषको रकम बाट स्थानियहरु कुनैले कोईलर कुखुरा पालन तथा कोहीले साग तरकारीको व्यवसाय सुरु गरेकाछन् ।

गाउँमै रोजगारी मुलक कार्यक्रम सञ्चालन हुन थालेपछि पछिल्लो ५ महिना यता देखी भारतमा काम गर्न सो वडाका कुनैपनि व्यक्ति नगएको वडाअध्यक्ष हकृबहादुर विष्टले बताउनुभयो । उहाँले भन्नुभयो, “पहिले गाउँमा रोजगारी पाईदैन थियो,पैसा कमाउन स्थानिय भारत जाने चलन तियो,अहिले गाउँमा रोजगारका कार्यक्रम सुरु गरिएपछि कामका लागि भारत जान बन्द भएको छ ।” स्थानियले गाउँमा फलाएका साग तरकारी तथा अन्य बस्तुहरु बिक्रिकालागि नजिकै रहेको पुरानो क्षेत्रीय सदरमुकाम दिपायल,राजपुर तथा पिपल्ला लगायतका बजारमा लैजाने गरेकाछन् । यहाँका किसानले गाउँमै अर्गानिक साग तरकारी फलाउन थालेपछि भारतबाट आउने तरकारी बन्द हुन थालेको छ ।