बलियो संरचनाका तीन वटा मात्र योजना !

0
Shares

हेटौंडा । देशभरका स्थानीय तहमा विकासका अनेकन् समस्या देखिन्छन् । जनताको मन बुझाउन जनप्रतिनिधिहरुले वडामा अनेक योजना बनाउने गर्दछन् । झारा टार्ने हिसाबले साना योजना बनाएर कार्यान्वयन गर्दा न दीगो विकास भएका छन्, न त देखिने काम नै हुने गरेका छन् ।

तर, चालु आर्थिक वर्षका लागि मकवानपुरको मनहरी गाउँपालिका–३ का अध्यक्ष मानबहादुर स्यांतानले भने दीगो विकास हुने गरी योजना बनाएको दाबी गर्नुभएको छ । गाउँपालिकाले बजेट सिफारिस गर्न अख्तियारी दिइएको बजेटबाट ३ ठूला योजनामात्र निर्माण गरिएको वडाध्यक्ष स्यांतानले बताउनुभयो ।

वडाको भुन्द्रुङ–पाल्दमार पक्की पुल र हाँडीखोला–कालीदमार पक्की पुलका लागि एउटै योजना समेटेर वडा कार्यालयले १ करोड २२ लाख बिनियोजन गरेको हो । बाँकी रकमबाट १५ लाखको डोठे सुकौरा खानेपानी योजना सञ्चालन हुने गरी योजना बनाइएको वडाध्यक्ष स्यांतानले बताउनुभयो ।

वडाध्यक्ष स्यांतानले भन्नुभयो–दीगो विकासका लागि सल्लाह सुझाव दिइएकोले यस वर्ष तीनमात्र योजना छनौट गरिएको छ । रजैयाबाट लामिटार हुँदै चकरी÷मकरी पुग्ने सडकलाई गाउँपालिकाले अघि सारेको छ । ३७ करोडमा निर्माण हुने बाटोमा देखिएका साना खोलाहरुमा पुल हाल्न वडा कार्यालयका तर्फबाट तदारुकता देखाइएको हो ।

संघीय सरकार, प्रदेश सरकार र स्थानीय सरकारको संयुक्त प्रयासबाट सडकलाई सम्पन्न गर्ने रणनीतिमा नेपाल कम्युनिष्ट पार्टीका जनप्रतिनिधि लागेका छन् । मनहरी गाउँपालिकाले डीपीआर तयार गरी पाँच वर्षभित्र पिच गर्न लामिटार–चकरी÷मकरी सडक खण्डमा वर्षेनी लगानी गरिरहेको छ ।
१७ किलोमिटर लम्बाईको सडकखण्डलाई निर्वाचनका बेला नेपाल कम्युनिष्ट पार्टीले महत्वाकांक्षी योजनाका रुपमा लिएको थियो । पूर्वपश्चिम राजमार्गको बाइपासको रुपमा रहने बाटो निर्माणका लागि ३८ करोड लाग्ने डीपीआरमा उल्लेख छ । १७ किलोमिटर सडकखण्ड पिच हुँदा चौडा साढे ७ मिटर रहने डीपीआरमा उल्लेख छ ।

त्यहाँ गाउँपालिकाले आर्थिक वर्ष २०७४/७५ मा १ करोड, आव २०७५/०७६ मा ५० लाख, डिभिजन सडक कार्यालयमार्फत् संघीय सरकारले आव २०७५÷०७६ मा १ करोड र हाल अर्थ मन्त्रालयमार्फत् थप २ करोडसमेत गरी ४ करोड ५० लाख लगानी भइसकेको छ ।

निर्वाचनका बेला व्यक्त भएको प्रतिवद्धतालाई ध्यानमा राखी उक्त सडकखण्ड निर्माणका लागि तीनै तहका सरकारले भूमिका खेलिरहेको गाउँपालिका अध्यक्ष एकराज उप्रेतीले बताउनुभयो ।