सरोकारवाला निकायलाई सचेतना विना ल्याईएका ऐन नियम कार्यान्वयनमा कठिनाई

0
Shares

यमलाल भुसाल, बुटवल ।
नेपाल सरकारले हालै संचालनमा ल्याएको भिसिटिएस प्रणाली लगायतका विषयमा सरोकारवाला व्यवसायीलाई सचेतना विना ल्याईएकाले समस्या आएको बताएका छन् । उनीहरुले सरकारले ल्याउने नयाँ ऐन नियममा सम्बन्धित निकायलाई जानकारी नगराईकन ल्याउँदा कार्यान्वयनमा समस्या आउने गरेको धारणा राखिएको थियो ।

रुपन्देही व्यापार संघको आयोजनामा सोमवार बुटवलमा भएको नेपाल सरकारले हालै ल्याएको भिसिटिएस प्रणाली, योगदानमा आधारित सामाजिक सुरक्षा कोष , परिवर्तित वाणिज्य नीति र परिवर्तित कर नीतिका विषयमा आयोजित कार्यक्रममा सरोकारवालालाई जानकारी र सचेतना विना ल्याउदा कार्यान्वयनमा जटिलता देखिएको औल्याएका थिए ।

कार्यक्रममा भिसिटिएस प्रणाली बिषयमा राजश्व अनुसन्धान कार्यालय बुटवलका प्रमुख अनुसन्धान अधिकृत विजय राना ,योगदानमा अधारित सामाजिक सुरक्षा कोषको विषयमा श्रम तथा रोजगार कार्यालय बुटवलका कार्यालय प्रमुख अन्नतराम मरासिनी ,वाणिज्य नितीका विषयमा बाणिज्य कार्यालय भैरहवाका कार्यालय प्रमुख रुद्रप्रसाद ज्ञवाली र मुल्य अभिवृद्धि कर सम्बन्धी विषयमा आन्तरीक राजश्व कार्यालय वुटवलकी कर अधिकृत पवित्रा बञ्जाडेले सहजीकरण गर्नुभएको थियो ।

कार्यक्रममा सहभागी व्यावसायीहरुले राखेका गुनासा तथा प्रश्नहरुलाई सम्बन्धित निकायका अधिकृतले सहजिकरण गर्नु भएको थियो । सहजकर्ताहरुले सरकारले ल्याएको प्रणाली स्वयं व्यावसायीहरुका लागी नै सहज हुने हुँदा कार्यान्यन गर्नका लागि आग्रह गर्नुभएको थियो । कार्यक्रममा संघका संस्थापक अध्यक्ष मोतिराज ज्ञवालीले सरकारले व्यावसायीहरुका लागी ल्याईएका नीतिहरु लागु गर्न प्रतिबद्ध रहेको र नीतिहरु राम्रो भएपनि तुरुन्त लागु गर्न केही कठीनाइहरु रहेकोले ती कठीनाइहरुलाई यथाशिघ्र समाधान गर्न सरकारलाई आग्रह गर्नुभएको थियो ।

कार्यक्रम संघका अध्यक्ष पदमप्रसाद श्रेष्ठको अध्यक्षता,प्रथम उपाध्यक्ष कृष्ण प्रसाद घिमिरेको धन्यवाद एवम कार्यवाहक महासचिव दयानिधी भण्डारीको संचालनमा सम्पन्न भएको थियो ।