मोडलिङमा जम्दै रुकुमेली कृति

0
Shares

रुकुम ।
रुकुम पश्चिमको मुसिकोट नगरपालिका वडा नं ८ की कृति पाण्डेलाई मोडलिङमा लाग्ने सानै देखी इच्छा थियो । उहाँ बिद्यालय पढ्दाखेरी नै मोडलिङमा सामान्य प्रयास गर्नुहुन्थ्यो । प्रयास गर्दा गर्दा उहाँले बिद्यालय स्तरका कार्यक्रममा पनि सहभागी भएर बिभिन्न सम्मान पनि पाइसक्नुभएको छ । तर, पारिवारिक आर्थिक अभाव, भौगोलिक विकटताले उहाँको इच्छा पुरा हुन सहज थिएन् ।

गाउँमा हुने विवाह, पूजा तथा सांस्कृतिक कार्यक्रममै आफ्नो प्रतिभालाई सिमित गर्न बाध्य हुनुभयो । हिरोनी बन्ने सोच भएपनि एसएलसी दिएपछि स्टापनर्स पढ्नको लागि उहाँ चितवनमा पुग्नुभयो । राम्रो पढेर स्टापनर्स भई आफ्नो करिअर बनाउने सपना बोकेर चितवन छिरेकी कृति पुनः कलाकारीतामा सक्रिय हुनुभएकोछ । कृति मोडलिङ र गीत गाउँने कलामा अहिले खपिस हुनुहुन्छ । पछिल्लो समय उहाँले दुई गीतमा मोडलिङ गर्नुभएको छ । कृतिले अभिनय गरेका गितहरुमा मायाँ लाउन आउन है सुर्खेत र मस्ती बनायो गीत हुन् ।

मोडलिङका साथै विभिन्न ठाउँमा हुने सांस्कृतिक कार्यक्रम तथा महोत्सवमा पनि नृत्य प्रस्तुत गर्न कृतिलार्ई भ्याइनभ्याई छ । “मोडलिङ नगर्दै पनि केहि स्टेज कार्यक्रममा नृत्य प्रस्तुत गर्दै आएकी थिए” उहाँले भन्नुभयो “मोडलिङ गरेपछि त अहिले प्रायः विभिन्न ठाउँमा हुने स्टेज कार्यक्रममा सहभागी हुने गरेकी छ, दिदी दाईहरूले पनि सहयोग गर्नुहुन्छ ।’

महिलाको महान पर्व हरितालिका तीजको अवसरमा विभिन्न ठाउँमा सञ्चालन हुने सांस्कृतिक कार्यक्रममा सहभागी हुनेको लागि आफुलाई निम्तो समेत आउने गरेको कृतिले बताउनुभयो । उहाँको परिवारमा भने छोरी स्टापनर्स भएर स्थायी जागीरे होस भन्ने चाहाना थियो ।

“मलाई मेरो घरमा आमाबुवाले स्टापनर्स भएर लोकसेवामा नाम निकालेर स्थायी जागीरे बनाउन चाहानु भएको थियो ” उहाँले भन्नुभयो “तर म स्टापनर्स बन्न सकेन, अहिले त घरमा पनि सबै जना खुसी नै हुनुहुन्छ, मलाई सहयोग गर्दै आउनुभएको पनि छ ।” कृतिले अहिले मोडलिङ, सांस्कृतिक कार्यक्रममा सहभागी हुनुका साथै कावासोतीमा नृत्य कक्षा समेत सञ्चालन गरिरहनुभएकोे छ । कुसल उद्घोषिका तथा लोकदोहोरी गायिका उमादेवी खनालले अगाडी बढ्नमा मद्धत गरिरहेको कृतिले बताउनुभयो । उहाँको यो क्षेत्रको गुरुको रुपमा उमादेवीलाई नै लिने गरेको कृतिको भनाई छ ।