मध्यपुरथिमि नगरपालिकाको तेस्रो नगरसभा उद्घाटन, विवाद भने कायमै


पुष्कर बुढाथोकी, भक्तपुर । विवादकाबीच मध्यपुर थिमि नगरपालिकाको तेस्रो नगरसभा आइतबार शुरु भएको छ । तर नगरसभामा नीति तथा कार्यक्रम र बजेट भने पेश हुन सकेन ।उपप्रमुख अञ्जनादेवी मधिकर्मी लगायतका नगरसभा सदस्यहरूले बहिष्कार गरेपछि तेस्रो नगरसभा बैठकको पहिलो दिन उद्घाटन समारोहमा सीमित भएको हो ।

उद्घाटन समारोहमा नगरप्रमुख मदनसुन्दर श्रेष्ठले तेस्रो नगरसभाले राजनीतिक मौनता भंग गरेको टिप्पणी गर्दै नगरप्रमुख श्रेष्ठले कांग्रेसका जनप्रतिनिधिहरू संस्थागत भन्दा पनि व्यक्तिवादी चरित्रले चलेकाले नगरपालिकाभित्र राजनीतिक गतिरोध आउने गरेको बताउनुभयो ।

नगरपालिकालाई बहुमत र अल्पमतको अंक गणितीय जोड घटाउले भन्दा समग्र नगरको विकासको उद्देश्य राखेर जनतालाई केन्द्रविन्दुमा राखेर जनप्रतिनिधिहरू अघि बढ्नु पर्नेमा उहाँको जोड थियो ।उहाँले आगामी दिनमा थप गम्भीर छलफल गरी समयमा नै उचित निकास निकाल्ने प्रतिवद्धता व्यक्त गर्नुभयो ।

कार्यक्रममा नेकपा जिल्ला अध्यक्ष वच्चन देउजा,नेपाली कांग्रेसका निवर्तमान जिल्ला सभापति गणेशमान चक्रधर , प्रमुख जिल्ला अधिकारी नारायणप्रसाद भट्ट नेपाली कांग्रेस मध्यपुर थिमि नगरसमितिका सभापति सुरेन्द्र श्रेष्ठ,नगरपालिकाका पूर्व नगरप्रमुख मदनकृष्ण श्रेष्ठ, नेकपा जिल्ला नेता सुचित्रा श्रेष्ठ, वडाअध्यक्ष इन्द्रबहादुर प्रजापति, वडा सदस्य रमेश थापा लगायतले नगरसभाको सफलताको कामना गर्नुभयो ।

तेस्रो नगरसभा उपप्रमुख अञ्जनादेवी मधिकर्मी, वडा नं. २ का वडा अध्यक्ष एवम् नगरपालिकाका प्रवक्ता राम थापामगर, वडा नं. ३का वडाअध्यक्ष प्रेमबहादुर कुटुसहितका नगरसभा सदस्यहरूले बहिष्कार गरेका छन् ।

गत असार १८ गते सम्पन्न विशेष नगरसभाले पारित प्रस्तावलाई गत साउन १५ गते बसेको नगरकार्यपालिका बैठकले तोडमोड गरी पारित गरेको भन्दै उपप्रमुख मधिकर्मी लगायतका नगरसभा सदस्यहरुले तेस्रो नगरसभा बैठकको उद्घाटन समारोह बहिष्कार गरेका हुन् ।
यस अघि बैठकमा छलफलका लागि प्रस्ताव गरेका ऐजेण्डाहरूमा सहमति नभएपछि नगरप्रमुख श्रेष्ठले बैठकै नबसी स्थगित गर्ने र नेपाली कांग्रेसले उपप्रमुख मधिकर्मीको अध्यक्षतामा बैठक सञ्चालन गरी प्रस्तावहरू सर्वसम्मतले पारित गरेपछि विवाद उत्पन्न भएको थियो।
उपप्रमुखसहित दुई तिहाई बहुमत सदस्य रहेको नेपाली कांग्रेसले एकिकृत सम्पत्ति कर खारेज गरी सम्पत्ति कर मा लिने, दोस्रो नगरसभा बैठकले पारित गरेको कर तथा दस्तुरको दर संशोधन गर्ने, भवन निर्माणसम्बन्धी मापदण्ड संशोधन गरी सडक अधिकार क्षेत्र (राइटअफ वे) कायम भएका सडकमा सेड व्याकको रुपमा छोडिएको ५ फिट जग्गा बाटोका लागि छाडेर मात्र कम्पाउण्ड वाल लगाउनुपर्ने व्यवस्था तत्कालको लागि लागु नगर्ने, नगरपालिकाका लागि आवश्यक ऐन निर्माण गर्ने, कमेरोटार जग्गा एकिकरण आयोजनाका आयोजना प्रमुखलाई फिर्ता बोलाउने लगायतका प्रस्तावमा छलफल गर्न गत जेठ २० गते विशेष नगरसभा बैठकको माग दर्ता गराएका थिए।
सो अनुसार नगरप्रमुख श्रेष्ठले गत असार २० गते विशेष नगरसभा बैठकको आव्हान गरेको थियो।

तर सो बैठकमा छलफलका लागि प्रस्ताव गरेका ऐजेण्डाहरूमा सहमति नभएपछि नगरप्रमुख श्रेष्ठले बैठकै नबसी स्थगित गर्ने र नेपाली कांग्रेसले उपप्रमुख मधिकर्मीको अध्यक्षतामा बैठक सञ्चालन गरी प्रस्तावहरू सर्वसम्मतले पारित गरेपछि विवाद उत्पन्न भएको थियो।
यस पछि सो विवाद समाधान गर्ने सम्बन्धमा नेपाली कांग्रेस र नेपाल कम्युनिष्ट पार्टी (नेकपा) बीचको दर्जनौ पटकको छलफलपछि विशेष नगरसभा बैठकलाई कार्यपालिकाले सम्बोधन गर्ने र सो अनुसार प्रस्ताव पारित गरी आइतवार तेस्रो नगरसभा बैठक गर्ने सहमति भएको थियो।

उपप्रमुख मधिकर्मीले पार्टीको निर्देशनमा विशेष नगरसभा बैठकको माग गरेको र पार्टी कै निर्देशनमा आफ्नो अध्यक्षतामा विशेष नगरसभा बैठकबसी प्रस्तावहरू सर्वसम्मत पारित गरेको विषयलाई कार्यपालिका बैठकको निर्णयमा ‘विशेष नगरसभा बैठकमा पेश भएका प्रस्तावहरू सम्बन्धमा’ भन्ने भाषा प्रयोग गरेर विशेष नगरसभा बैठकको औचित्य समाप्त गरेकाले आफूहरूले कार्यपालिका बैठकमा लिखित असहमति राख्नुका साथै तेस्रो नगरसभा बैठक बहिष्कार गरेको बताउनुभयो ।

लामो समयपछि एक ठाउँमा उभिएका नेपाली कांग्रेसबाट निर्वा्चित जनप्रतिनिधिहरूबीच फेरि फाटो आएपछि नगरप्रमुख श्रेष्ठसहित नेपाली कांग्रेसको संस्थापन पक्ष र उपप्रमुख मधिकर्मी दुवै पक्ष आ–आफ्नो पक्षमा बहुमत पुर्याउने कसरतमा लागेका छन् ।