विप्लवका कार्यकर्ता पक्राउ


विनोद सिंह विष्ट, बैतडी । प्रहरीले बैतडीमा नेत्रविक्रम चन्द“विप्लव” समूह नेकपाका एक कार्यकर्तालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा पुर्चौडी नगरपालिका ३ सल्लेबनका ४६ बर्षीय नैन सिंह धामी रहेका छन् ।

उनलाई घरबाटै पक्राउ गरि हिरासतमा राखेको बैतडीका प्रहरी प्रवक्ता, प्रहरी निरीक्षक दीपक पातललीले जानकारी दिनुभयो । पक्राउ परेका धामी विप्लवका गाउँ कमिटि सदस्य रहेका बताईएको छ । उनलाई जिल्ला अदालत बैतडीवाट म्याद थप गरी अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

पक्राउ परेका धामी यसअघि साउन १५ गते राती पुर्चौडीको कुँडीधारमा रहेको एनसेलको टावरमा आगजनी र तोडफोडमा संलग्न रहेका आशंका गरिएको छ । यसका साथै उनलाई तालाबन्दी र चन्दाअसुलीमा समेत संलग्न रहेको आरोप लागेको छ । बैतडी प्रहरीले पछिल्लो समय विप्लवका नेता कार्यकर्तालाई पक्राउ गरिरहेको छ ।

यसअघि असार २३ गते पनि प्रहरीले पाटन नगरपालिका १० हतास घर भइ विप्लवको युवा विद्यार्थी संगठनका केन्द्रिय सदस्य श्यामप्रसाद भट्टलाई पनि पक्राउ गरेको थियो । पक्राउ परेका भट्टलाई राज्यविरुद्धको कसुरमा मुद्धा चलाएर बैतडी जिल्ला अदालतले ४० हजार धरौती तोकेको थियो । धरौटी तिर्न नसकेर भट्ट हाल कारागार चलान भएका छन् ।

सरकारले विप्लव नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीलाई आपराधिक समूह घोषणा गरी उसका गतिविधि रोक्ने निर्णय गरेसँगै बैतडीमा पनि प्रहरी विप्लव कार्यकर्तालाई पक्राउ गर्न थालिएको हो । यसका साथै गत फागुन २८ को मन्त्रिपरिषदको बैठकले विप्लवको समूहसँग प्रत्यक्ष वा अप्रत्यक्ष रूपमा संलग्न हुने व्यक्ति, संस्था र समूहलाई समेत कारवाही गर्ने गरी उसका गतिविधि नियन्त्रण गर्ने निर्णय गरेको थियो ।