आदिवासी जनजाति फिल्मका लागि कार्यशाला


चलचित्र विकास बोर्डअन्तर्गतको आदिवासी जनजाति मातृभाषी चलचित्र प्रवद्र्धन समितिको आयोजनामा धुलिखेलमा तीनदिने कार्यशाला गोष्ठी सम्पन्न भएको छ। आदिवासी जनजाति चलचित्रकर्मी संघ–संस्थाहरूको रणनिति तर्जुमा र क्षमता विकास तालिमका रूपमा सम्पन्न कार्यशालामा आदिवासी जनजाति चलचित्रकर्मीका विभिन्न १३ संघ–संस्थाका प्रतिनिधिको सहभागी रहेको थियो।

करिब ६५ जना प्रशिक्षार्थी सम्मिलित कार्यशालामा संस्थागत क्षमता अभिवृद्धि विज्ञ नहकुल केस प्रमुख स्रोत व्यक्ति रहेका थिए भने पत्रकार एवं नेपाल आदिवासी जनजाति चलचित्र महासंघका संस्थापक उपाध्यक्ष विजयरत्न तुलाधर असंबरेले नेपालमा आदिवासी जनजाति फिल्मको वर्तमान स्थिति र चुनौतीबारेमा कार्यपत्र प्रस्तुत गरेका थिए। कार्यशालामा सिस्टम युनिभर्सिटी अफ मेरिल्यान्डका प्राडा विष्णु घिमिरेले आदिवासी जनजाति संस्कृतिको कला पक्षबारे विश्लेषण गरेका थिए।

गोष्ठीको समापन कार्यक्रममा प्रमुख अतिथि बोर्डका अध्यक्ष केशव भट्टराईले कार्यशालाका सहभागीलाई प्रशंसापत्र प्रदान गरेका थिए। उनले आफ्नो कार्यकालमा समस्त फिल्म जगत्को हितमा कार्य गर्ने प्रतिबद्धता व्यक्त गरे भने आदिवासी जनजाति फिल्मले ञभोगिरहेको प्रदर्शनको समस्या समाधान गर्न मिनीहल खोल्न राज्यको तर्फबाट बोर्डले सक्दो सहयोग गर्ने प्रतिबद्धता पनि जनाए।

आयोजक समितिका संयोजक सूर्य चेम्जोङको सभापतित्वमा सम्पन्न समारोहमा मगर चलचित्रकर्मी संघका अध्यक्ष एवं मगर चलचित्रकर्मी युवराज मास्की मगर, प्रशिक्षार्थीको तर्फबाट युवराज राई (वीरबहादुर), प्रमुख स्रोत व्यक्ति नहकुल केसी, नेपाल आदिवासी जनजाति चलचित्र महासंघका उपाध्यक्ष बिकु थोकरलगायतले मन्तव्य प्रकट गरेका थिए।