अनुष्कालाई अमेरिकामा सम्मान


मिस नेपाल वल्र्ड २०१९ अनुष्का श्रेष्ठ अमेरिकामा सम्मानित भएकी छिन्। अनुष्कालाई क्यालिफोर्नियास्थिति हिमालयन फाउन्डेसन क्रपले एक समारोह आयोजना गरी सम्मान गरेको हो।

अमेरिका भ्रमणमा रहेकी उनलाई सो कार्यक्रममा ३८ सय डलर सहयोग रकम प्रदान गरिएको छ। सिन्धुपाल्चोकको स्वरासिंह गाउँमा विद्यमान चेलीबेटी बिचविखन समस्या निर्मूल पार्न र त्यहाँको विकास निर्माणमा अनुष्काले सहयोग गरिरहेकाले क्यालिफोर्नियाको बे–एरियामा रहेका नेपालीबीच आयोजित अन्तरक्रियाबाट सो रकम संकलन गरी सहयोग गरिएको हो। आयोजक हिमालयन फाउन्डेसनका संस्थापक यज्ञलाल श्रेष्ठले मिस नेपाल अनुष्काको समाजसेवी भावनाको कदर गर्दै सम्मान गरिएको बताए।

अन्तरक्रिया कार्यक्रममा अनुष्काले आफू स्वरासिंह गाउँमा रहेको बेरोजगारी समस्या हटाउन र त्यहाँका बालबालिकालाई पढ्ने वातावरण सिर्जना गर्न लागिरहेको बताइन्। यसका ठूलो रकम चाहिने भएकाले आफू अभियानमा लागेको उनले खुलाइन्। विश्वमा जहाँ रहे पनि सबै नेपालीमा सहयोगी भावना पाएकाले आफू सफल हुने विश्वास उनले व्यक्त गरिन्।