निश्चल र स्वस्तिमाको दम्पती सम्मानित


अभिनेता तथा निर्देशक निश्चल बस्नेत र नायिका स्वस्तिमा खड्का दम्पती ललितपुरमा आयोजित एक समारोहबीच सम्मानित भएका छन्। बस्नेत दम्पतीलाई ललित ब्युटिसियन बहुउद्देस्यीय सहकारी संस्था र ललित फरिया घरले आदर्श दम्पती सम्मान–२०७६ बाट सम्मानित गरेको हो।

सहकारीद्वारा सञ्चालित एवं फरियाघरको आयोजनामा ललितपुरको जावलाखेलमा शनिबारसम्म सञ्चालित तीज माइती मेला–२०७६ को शुभारम्भ समारोहमा निश्चल र स्वस्तिमा सम्मानित भएका हुन्। कार्यक्रमका प्रमुख अतिथि ललितपुर महानगरपालिकाका मेयर चिरिबाबु महर्जनले दम्पतीलाई सम्मान प्रदान गरेका हुन्। आयोजक मिना न्यौपाने रिमालले तीजको अवसर पारेर मेला आयोजना गरिएको बताइन्।

ललितपुर महानगरपालिकाका मेयर चिरिबाबु महर्जनले स्वस्तिमा र निश्चललाई सम्मानित भएकोमा बधाई दिँदै ब्युटिसियनहरूले ललित ब्युटिसियन सहकारी खोलेर विभिन्न प्रशंसनीय कार्य गरेको बताए। कार्यक्रममा विभिन्न कलाकारले गायन नृत्य एवं प्रहसन प्रस्तुत गरेका थिए।