भदौबाट आधा सुर


पारिवारिक कथामा आधारित रही आधा सुर नामक फिल्म निर्माण हुने भएको छ। थुप्रै सर्ट फिल्ममार्फत आफ्नो निर्देशन क्षमता देखाइसकेका अशिन पौडेलको निर्देशनमा बन्ने फिल्म निर्माणको राजधानीमा घोषणा गरियो।

क्र्यु नेपाल र व्यास मोसन पिक्चर्सको ब्यानरमा बन्ने फिल्ममा अर्पण थापा, प्रवीण खतिवडा, शिशिर वाङदेल, सरिता गिरी, दिलीप रानाभाट, सुरज विष्ट, बबिता मल्ल, सुभांगम पराजुलीका साथमा नवनायक मोहन जैशी मुख्य भूमिकामा रहने छन्। निर्माण घोषणा कार्यक्रममा निर्देशक अशिनले आफूले राम्रो फिल्म बनाउने कोशिस गर्ने बताए। त्यसै गरी, कलाकारहरू प्रवीण, शिशिर, सरिता गिरी, दिलीप, सुरज तथा मोहनले नयाँ सोच र शैलीका साथ आधा सुर निर्माण हुन लागेको र आफू त्यसको एउटा पात्र बन्न पाएकोमा खुसी व्यक्त गरे।

तीन युवाको संगीत मोहको कथा प्रस्तुत गरिने फिल्म काठमाडौं र पोखरामा खिचिनेछ। रोशनराज थापाको संगीत रहेको फिल्मको स्क्रिप्ट निर्देशक अशिन र सौरभ कार्कीले लेखेका छन्। विष्णु कल्पितले खिच्ने फिल्मको कास्टिङ विमल सुवेदीले गरेका हुन्। फिल्मको सुटिङ भदौ दोस्रो साताबाट शुुरू हुनेछ।