बालिका र किशोरको हत्या आरोपमा ७ जना पक्राउ

0
Shares

विनोद सिंह विष्ट, बैतडी ।
एक बालिका र एक किशोरको हत्या गरेको आरोपमा बैतडी प्रहरीले ७ जनालाई पक्राउ गरेको छ । गत असार १७ गते विद्यालयबाट बेपत्ता भएकी ८ बर्षीय बालिका कलावती सार्कीको हत्या गरेको आरोपमा दशरथचन्द नगरपालिका ४ का खगेन्द्रराम महरलाई पक्राउ गरिएको बैतडीका प्रहरी प्रवक्ता ,प्रहरी निरीक्षक दीपक पातलीले जानकारी दिनुभयो ।

दोगडाकेदार गाउँपालिका २ मल्लाढीक घर भएकी कलावती बुवा खडक सार्कीसंगै दशरथचन्द नगरपालिका ४ बमरोडामा बस्दै आएकी थिइन् । कलावतीको शव साउन ८ गते उनी अध्ययनरत विद्यालय शिव आधारभूत विद्यालय नजिकैको खोल्सामा खाल्डोमा गाडेको अवस्थामा भेटिएको थियो । कलावतीका बुवा खडक सार्कीले कर्तव्य ज्यान मुद्दामा दिएको जाहेरीको आधारमा महरलाई पक्राउ गरी अनुसन्धान शुरु भएको प्रहरी प्रवक्ता पातलीको भनाई रहेको छ । आरोपित महरलाई जिल्ला अदालतबाट ५ दिनको म्याद थप गरेर अनुसन्धान भईरहेको प्रहरीले जनाएको छ ।

यस्तै दशरथचन्द नगरपालिका ६ नगतडीका १८ बर्षीय दीपक महरको हत्या गरेको आरोपमा ६ जना पक्राउ परेका छन् । दीपकका बुवा किसनराम महरले दिएको जाहेरीको आधारमा दशरथचन्द नगरपालिका ६ का शंकर चुनारा, अमित रावल, पारस रावल, अनिल रावल, युनिक रावल र मनिष ठगुन्नालाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय बैतडीले जनाएको छ । उनीहरुलाई पनि जिल्ला अदालतमा ५ दिनको म्याद थपेर अनुसन्धान भईरहेको प्रहरीले बताएको छ ।

साउन १४ गते बैतडी सदरमुकाम गोठलापानीबाट घर फर्केका दीपकको शव साउन १७ गते दशरथचन्द नगरपालिका ६ कन्सनीगाड नजिक फेला परेको थियो । घटनाको सुक्ष्म रुपमा थप अनुसन्धान भइरहेको जनाइएको छ ।