घामपानी दुवैले क्षति

0
Shares

मोतीराम तिमल्सिना, काभ्रे । अविरल वर्षातको कारण क्षतिको विवरणसँगै पानी नपर्दा वर्षे बालीहरुमा धमाधम क्षति पुग्न थालेको छ । पानी पर्यो भनेर रोपाई गर्ने कृषकहरुको खेत फुट्न थालेको छ भने पानी नपरेकै कारण मकैमा घोगा लाग्न पाएका छै्नन ।

२०७६ असार २६, २७ र २८ गते परेको अविरल बर्षातले जिल्लामा मानविय क्षति पुर्याएको थियो । क्षति रोक्न स्थानीय सरकारले धिमे गतिमा तयारी गरेका छन् । वर्षातकै कारण स्थानीय सरकारहरुको सदरमुकामसँग सम्वन्ध विच्छेद जस्तै भएको छ । सदरमुकाम आउन नागरिकले सास्ति भोग्नु परेको छ ।

‘स्थायी रुपमा सडक संचालनमा ल्याउन नसक्दासम्म नागरिकले भोग्नु पर्ने दुख ज्यूका त्यू रहने छ’–खानीखोला गाउँपालिकाका अध्यक्ष कृष्णबहादुर खुलालले भन्नु भयो –‘खोपासी ताल्ढुंङ्गा सडकको स्तरोन्नती र स्थायी प्रकृतिको बनाउन पहल आवश्यक छ ।’ उक्त सडकमा विनियोजन भएको रकम सबै खर्च हुन सकेन भने बर्षातको समयमा दर्जनौ स्थानमा सडक अवरोध भएको छ । डाँडापारीको महाभारत र खानीखोला गाउँपालिकाका अधिकांश सडक सदरमुकाम आउन रोकिएका छन् ।

महभारत गाउँपालिका पुग्न सिन्धुली पुग्नु पर्ने बाध्यता थियो । मुल सडकको ट्रयाक नखोल्दा महाभारत जान आउन नागरिकले सास्ति ब्यहार्नु परेको गाउँपालिका अध्यक्ष कान्छालाल जिम्बाले बताउनु भयोे । ‘स्थानीय, प्रदेश र संघ सरकारले वर्षेनी प्राथमिकतामा राखेकोे भए पनि सडकका कारण नागरिकले सास्ति झेल्नु परेको छ’–अध्यक्ष जिम्बाले भन्नु भयो । वर्षातका कारण प्रारम्भिक तथ्याङ्क अनुसार ४७ वटा घर पूर्ण रुपमा क्षति भएका छन् भने ९५ वटा घरमा आंशिक क्षति पुगेको छ । ३९ वटा गोठ, ५ वटा सरकारी भवनमा क्षति पुगेको अध्यक्ष जिम्माले बताउनु भयो । ७३ वटा गोठमा आंशिक क्षति पुगेको छ ।

वर्षातकै कारण ४ किलोमिटर सडकमा क्षति पुगेको महाभारत गाउँपालिकामा ११ वटा पशुको मृत्यु भएको छ । १९ वटा घाईते भएका छन् । पशुमा धेरै क्षति भएको गाउँपालिका महाभारत नै हो ।

खानीखोला गाउँपालिकामा ४३ वटा घरमा क्षति पुगेको छ । १७ वटा गोठमा क्षति पुग्दा ३ वटा पशुको मृत्यु भएको छ । बनेपा नगरपालिकामा २ जना र रोशी गाउँपालिकामा एक जनाको मानविय क्षति पुगेको छ । जिल्लाका १३ वटै स्थानीय सरकारको प्रारम्भिक तथ्याङ्कले २ सय ६४ वटा घर पूर्ण रुपमा क्षति भएको देखाएको छ भने १ हजार २ सय ४१ वटा घरमा आंशिक क्षति भएको छ । १ सय ८२ वटा गोठमा क्षति हुँदा ४१ वटा पशु मरेका छन् । १ सय ६ वटा घाईते भएका छन् । ९४ वटा सार्वजनिक संरचनामा क्षति पुगेको छ । पक्कि सडक ८ सय ५० मिटर क्षति पुगेको छ भने ४३ किलोमिटर सडक पूर्ण रुपमा क्षति भएको छ ।

स्थानीय सरकारले जिल्लाको प्रकोेप ब्यवस्थापन समितिमा यथार्थ विवरण अझै बुझाएका छैनन् । नगरपालिकामा भन्दा गाउँपालिकामा रहेका घरहरु धेरै क्षति भएका छन् । तेमालमा ४१, रोशीमा ३०, खानीखोलामा ४३, महाभारतमा ४७, बेथान्चोकमा २८ रहेका छन् । बनेपा नगरपालिकामा ८, पाँचखालमा ४, धुलिखेलमा १, पनौती नगरपालिकामा ३०, मण्डन देउपुर नपमा ८, नमोबुद्ध नपामा १०, भुम्लु गापामा ३, चौरी देउरालीमा ११ घर पूर्ण रुपमा क्षति भएका छन् ।