अदीबलाई भारतमा शरण दिइएन, आएकै बाटो फिर्ता

0
Shares

टुटिकोरिन । गैरकानुनी रूपमा भारतीय भूमिमा प्रवेश गर्ने प्रयास गरेको आरोपमा बिहीबार पक्राउ भएका माल्दिभ्सका पूर्व–उपराष्ट्रपति अहमद् अदीब अब्दुल गफुरलाई भारतले उहाँ आएकै मार्गको बाटो माल्दिभ्स फिर्ता गरेको भारतीय स्रोतले शनिबार जानकारी गराएको छ ।

उहाँले भारत प्रवेश गर्नका लागि आवश्यक कागजात नभएको भनी भारतको तामिलनाडुस्थित बन्दरगाह शहर टुटिकोरिनबाट सुरक्षा नियन्त्रणमा लिइएको थियो । माल्दिभ्सका पूर्व राष्ट्रपति अदीबले भारतमा शरण लिन चाहेको तर भारतले उहाँलाई भारतीय भूमिमा शरण दिन नसक्ने बताएपछि उहाँलाई टुटिकोरिन नाकाबाटै फिर्ता पठाइएको उल्लेख भारतीय सञ्चारमाध्यमले जनाएका छन् ।

माल्दिभ्सको एक अदालतले तत्कालीन राष्ट्रपति अब्दुलाह यमीनलाई सन् २०१५ मा हत्या गर्ने प्रयास गरेको भनी अदीबविरूद्ध परेको मुद्दामा सफाइ दिएपछि गत मे महिनामा माल्दिभ्सको जेलबाट रिहा भएका माल्दिभ्सका पूर्वउपराष्ट्रपति अदीबलाई सत्तामा रहेका समय पदीयमर्यादा विपरीत आर्थिक अनियमितता गरेको आरोपमा थप छानविनका लागि उपस्थित हुन आदेश गरेको थियो ।

माल्दिभ्सको प्रहरीले अदीबलाई उहाँविरूद्ध परेको मुद्दामाथि अनुसन्धान गर्न स्वदेश फिर्ता गराउने पहल शुरू गरिएको गत बिहीबार बताएको थियो ।

माल्दिभ्सको सुरक्षा निकायको उच्च स्रोतले उहाँमाथि यमीनको कार्यकालमा उपराष्ट्रपतिका रूपमा कार्यरत रहेका समय राज्यकोषको दुरूपयोग गरेको आरोपमा परेको मुद्दामा अनुसन्धान गर्नुपर्ने भएकाले प्रक्रियागत रूपमा फिर्ता ल्याउने पहल गरिएको जनाएको एक दुईदिन भित्रमा नै उहाँलाई फिर्ता पठाउने काम भएको छ ।

माल्दिभ्स प्रहरीका अनुसार अदीबले बुधबार उहाँमाथि परेको मुद्दाबारे आफ्ना भनाइ राख्नुपर्ने तालिका रहेको थियो तर उहाँ सम्बन्धित निकायमा उपस्थित नभएर भारत पुग्ने क्रममा सीमानाबाटै नियन्त्रणमा लिइएको थियो ।

“माल्दिभ्सका नेता, उहाँ आएको पानी जहाज र यसका चालक दलका सदस्यहरू टुटोकोरिन सामुद्रिक क्षेत्रबाट शुक्रबार मध्यरातपूर्व नै हिडिसक्नुभएको छ ।” एक उच्च प्रहरी अधिकारीेले बताउनुभयो । रासस