चार घण्टा मृत्युको भयमा बिताउँदा

0
Shares

चिरञ्जीवी मास्के, दोलखा ।
उमेर जतिसुकै होस मानिसलाई मृत्यसंग सधै भय रहन्छ । यस्तै भयमा झण्डै चार घण्टा विताउनु भयो दोलखा गौरीशङ्कर गाँउपालिका वडा नम्बर १ जुँगु झगडेकी ८३ बर्षिय जुनकीरी खत्रीले ।

शुक्रवार राति करिब १० बजे अविरल बर्षासंगै दोलखा गौरीशङ्कर गाँउपालिका वडा नम्बर १ जुँगु यार्साको भीरबाट झरेको पहिरोले झगडेमा रहेको जुनकीरीको घरको चारै तिर तहस नहस बनायो, उहाँको घरको तल्लो तलामा पनि हिलो माटो र पानी पस्यो । भाग्ने कुनै संभावना नरहेको र अरु मानिस उद्दार गर्न आउने संभावना पनि नभएकोले जुनकीरी, उनको छोरा डम्बरबहादुर र बुहारी विन्दा खत्रीले झण्डै चार घण्टा मृत्युको भयमा विताउनु प¥यो । राति एक बजेतिर पानी कम भएपछिमात्र उहाँहरुको उद्दार हुन सकेको थियो ।

अविरल बर्षासंगै पहिरोले घरनै बगाउन थालेपछि आफु छोरालाई समातेर बसेको जेष्ठ नागरिक जुनकीरी खत्रीले बताउनु भयो । चार घण्टासम्म कतिखेर मरिने हो भन्ने भयमा हिलो र पानीमा डुबेर बस्नु परेको जुनकीरी बताउनु हुन्छ ।

शुक्रवार राति १० बजेतिर पहिरो खस्न थालेपछि बाहिर निस्कन नसकेको र आफुले काठमाडौँमा फोन सम्पर्क गरी आफुहरु पहिरोको बीचमा परेको जानकारी गराएको जुनकीरीको छोरा डम्बर बहादुरले बताउनु भयो । पहिरो आउनजेल बाहिर निस्कन पनि नसकेको र उद्दार गर्ने अवस्था पनि नरहेकोले आफुहरु चार घण्टासम्म त्रासमा रहेको डम्बरबहादुर बताउनु हुन्छ ।

बाढी र पहिरोका कारण दुई जना बेपत्ता भएको र ११ घर पुरीएको स्थानियको भनाई छ । पहिरोले ८० भन्दा बढी घरहरु जोखिममा परेको स्थानिय बताउछन् । अविरल बर्षासंगै आएको बाढी र पहिरोका कारण गौरीशङ्कर गाँउपालिका वडा नम्बर २ जुँगुमा पर्ने जुँगु खोलाले स्थानिय १९ बर्षिय निसान खड्का र वडा नम्बर १ का ५६ बर्षिय जगतबहादुर खत्रीलाई बगाएको हो । उहाँहरु दुबैजना बेपत्ता हुकुहुन्छ । नेपाल प्रहरी, नेपाली सेना, शसस्त्र प्रहरी बल र स्थानियले उहाँहरुको खोजी गरिरहेको भएपनि हालसम्म फेलापर्न नसकेको प्रहरी नायव उपरीक्षक मानबहादुर राईले बताउनु भयो ।

निसान खड्कालाई जुँगु खोलामा सवारी साधनमा फसेको यात्रुलाई उद्धार गर्ने क्रममा बगाएको थियो भने जगतबहादुर खत्रीलाई पहिरोबाट बच्न भाग्ने क्रममा खोलाले बगाएको स्थानियको भनाई छ ।

अविरल बर्षा पछि वडा नम्बर १ जुँगु यार्साको भीरबाट बगेको पहिरोले वडा नम्बर १ कै झगेडेको डम्बरबहादुर खत्रीको २ वटा, राजन खत्रीको १ वटा, बालकृष्ण खत्रीको १ वटा, गौरव खत्रीको १ वटा, बलबहादुर खत्रीको १ वटा, नवराज खत्रीको १ वटा र दीपक खत्रीको २ वटा गरी ९ वटा घर पुरीएको छ । त्यसैगरी विरौसीको गंगा खत्रीको १ वटा र अर्को एउटा गरी दुईवटा घर पुरीएको स्थानियले बताए ।

पहिरो खस्दा ३÷४ वटा घरका नौ जना घर भित्रनै थुनिएका थिए । उनीहरु सबैको राति उक बजे पछिमात्र उद्दार हुन सकेको थियो । अन्य घरहरु भने भर्खर बनेकोले मानिस बसिनसकेको स्थानियको भनाई छ । रातभरी पहिरो आउदा पनि आफुहरु भाग्ले बाँच्न सकेको स्थानिय चित्रमाया खत्री बताउनु हुन्छ ।

शनिवार पनि बर्षा निरन्तर भै रहेकोले वडा नम्बर १ र २ जुँगुको झगडे, यार्सा, विरौसीको झण्डै ८०÷९० घरका वासिन्दालाई नजिकको निलकण्ठेश्वर मावि र अन्य सुरक्षित ठाँउमा राख्ने व्यवस्था गरिएको प्रहरी नायव उपरीक्षक राईले बताउनु भयो ।

पहिरोबाट विस्थापितहरुलाई बैतेश्वर गाँउपालिका, नेपाल रेडक्रस सोशाईटी दोलखा लगायतले त्रिपाल, चाउचाउ, विस्कुट उपलब्ध गराएको छ । पहिरोबाट प्रभावित झगडेमा पुर्व राज्यमन्त्री, नेकपा दोलखाको इन्चार्ज स्थानिय देवी खड्का, जिल्ला समन्वय समिति दोलखाका प्रमुख डबल पाण्डे, प्रमुख जिल्ला अधिकारी खगेन्द्रप्रसाद रिजाल, तामाकोसी गाँउपालिकाका प्रमुख एवं नेकपा दोलखाका अध्यक्ष इश्वरचन्द्र पोखरेल, बैतेश्वर गाँउपालिकाका प्रमुख छवि लामा, तारादल गणका गणपति कुँवर, प्रहरी नायव उपरीक्षक मानबहादुर राई, सशस्त्र प्रहरी नायव उपरीक्षक किरणकुमार कठाएत, गौरीशङ्कर गाँउपालिकाको उपप्रमुख उर्मिला थामी, बैतेश्वर गाँउपालिकाको उपप्रमुख रवि आचार्य, नेपाल रेडक्रस जिल्ला शाखा दोलखाको सभापति गोकर्ण पोखरेल लगायत पुग्नु भएको छ ।