अमेरिकी राष्ट्रपतिमा मिचेल ओबामाको ‘शुन्य संभावना’


वासिङ्टन । अमेरिकाकी पूर्व प्रथम महिला मिचेल ओबामाले अमेरिकी राष्ट्रपतिको निर्वाचनमा उम्मेदवारी दिने संभावना शुन्य रहेको स्पष्ट पार्नु भएको छ ।

उहाँले उम्मेदवारी दिने चर्चा चलिरहेका बेला आफू त्यस प्रतिश्पर्धामा नरहेको शुक्रबार स्पष्ट पार्नु भएको हो । मिचेलले देशको सेवा गर्नका लागि अन्य धेरै बाटोहरु रहेकाले राष्ट्रपति नै बन्नु पर्ने चाहना नभएको बताउनु भयो ।

“त्यस विषयमा मेरो शुन्य संभावना रहेको छ,” उहाँले राष्ट्रपतीय निर्वाचनमा उम्मेदवारी दिने बारेमा सोधिएको प्रश्नमा भन्नुभयो ।
उहाँले आफु युवाहरुसँग काम गर्न चाहेको र स्वस्थ जीवनका लागि धेरै परिवारलाई सहयोग गर्न चाहेको बताउनु भयो ।

आफूलाई राष्ट्रपतीय निर्वाचनमा उम्मेदवारी दिन पटक पटक आग्रह भइरहेको उहाँले जानकारी दिनुभयो । हालै मात्र अमेरिकी चलचित्र निर्माता मिचेल मुरले वर्तमान राष्ट्रपति डोनाल्ड ट्रम्पलाई विस्थापित गर्न मिचेल ओबामाले मात्रै सक्ने बताउनु भएको थियो ।
उहाँको टिप्पणीसँगै राष्ट्रपतिका लागि मिचेल ओबामाको उम्मेदवारीको चर्चा चुलिएको हो । रासस