महिलाहरुलाई आर्थिक रुपमा सशक्त र सक्षम बनाउनुपर्छ : मन्त्री थापा


म्याग्दी । महिला, बालबालिका तथा ज्येष्ठनागरिक मन्त्री थममाया थापाले महिलाहरुलाई आर्थिक रुपमा सशक्त बनाउनुपर्ने बताउनुभएको छ । म्याग्दीमा सञ्चालित राष्ट्रपति महिला उत्थान कार्यक्रमको स्थलगत अनुगमनपछि आयोजित समीक्षा कार्यक्रममा बोल्दै उहाँले महिलालाई आयआर्जनका क्षेत्रमा लगाउनुपर्ने बताउनुभएको हो ।

मन्त्री थापाले समाजमा पछाडी परेका महिलाहरुलाई विभिन्न आयआर्जनका कार्यक्रमहरु सञ्चालन गरी आर्थिक रुपमा सक्षम र सशक्त बनाउनुपर्ने बताउँदै सोही अनुसार देशका ३० जिल्लामा राष्ट्रपति महिला उत्थान कार्यक्रम सञ्चालन गरिएको जानकारी दिनुभयो । देशको आधाभन्दा बढी जनसङ्ख्या ओगटेका महिलाहरुको आर्थिक–सामाजिक रुपान्तरणका लागि कार्यक्रम अगाडि सारिएको उहाँले बताउनुभयो ।

महिलाहरुलाई लक्षित गरेर आयआर्जनका कार्यक्रमहरु सञ्चालन गरी त्यसबाट उनीहरुलाई आत्मनिर्भर र व्यावसायिक बनाउनुपर्ने मन्त्री थापाले बताउनुभयो । भौतिक संरचनाको विकासले मात्रै केही नहुने हुँदा समाजमा पछाडी परेका वर्गको उत्थान गर्नुपर्नेमा जोड दिँदै उहाँले आर्थिक–सामाजिक रुपान्तरणसँगै शोषण, दमन, कुरिती र कु–संस्कारको अन्त्य गरी न्यायपूर्ण र समतामूलक समाजको निर्माण गर्नुपर्नेमा जोड दिनुभयो । उहाँले समाजमा रहेको अन्धविश्वास हटाउनका लागि सबै क्षेत्रबाट सचेतनामूलक अभियानहरु चलाउनुपर्ने बताउनुभएको छ ।

मन्त्री थापाले जनताको अत्यन्तै नजिक र घरदैलोको सरकार स्थानीय सरकार भएकाले नागरिकको चाहना र स्थानीय आवश्यकता अनुसार बजेट, नीति र कार्यक्रम बनाएर लागू गर्नुपर्ने बताउनुभयो । उहाँले देश सङ्घीयतामा गएसँगै स्थानीय तहमा ४१ प्रतिशत र प्रदेश तथा संघमा ३३% महिला जनप्रतिनिधिको बलियो उपस्थिति रहेको भन्दै आधाभन्दा धेरै मत महिलाहरुको रहेकाले महिलाको समस्या समाधानमा सरकारहरु केन्द्रीत हुनुपर्ने बताउनुभयो ।

स्थानीय सरकारले महिलाहरुको आर्थिक–सामाजिक रुपान्तरण हुने खालका महिला सशक्तिकरणका कार्यक्रमहरु सञ्चालन गर्नुपर्ने मन्त्री थापाको भनाइ छ । नेपालमा धेरै समयपछि स्थायी सरकार निर्वाचित भएर आएको हुँदा यसले नागरिकको आवश्यकता, चाहना र देशको समस्या समाधान गर्नेगरी कार्यक्रमहरु अगाडि सारेको उहाँले बताउनुभयो । सोही कार्यक्रमको अवसरमा मन्त्री थापाले बेनपा–६, डम्बरामा महिलाले सुरु गरेको व्यावसायिक बंगुरपालन र कुखुरापालन तथा बगुवाखोलामा सञ्चालित बौद्धिक अपाङ्गता स्रोतकक्षाको स्थलगत अवलोकन गर्नुभएको थियो ।

म्याग्दीको तीन ठाउँमा राष्ट्रपति महिला उत्थान कार्यक्रम सञ्चालन गरिएको छ । बेनी नगरपालिकामा नारी जागृति महिला विकास बहुउद्देश्यीय सहकारी संस्थामार्फत व्यावसायिक बंगुरपालन र कुखुरापालन तथा मंगला गाउँपालिका–२, बाबियाचौरको जनआदर्श महिला सहकारीले व्यावसायिक बाख्रापालन र रघुगंगा गाउँपालिका–२, राखुभगवतीमा महिलाहरुका लागि व्यावसायिक तरकारी खेती सुरु गरिएको छ ।