बैतडीमा नेपाल टेलिकमको टावरमा आगजनी


बैतडी । अज्ञात समूहले गएराती बैतडीको डिलाशैनीमा रहेको नेपाल टेलिकमको टावरमा आगजनी गरेको छ । डिलाशैनी गाउँपालिका वडा नं ४ मठैराज बलालीमा रहेको नेपाल टेलिकम(नमस्ते)को टावरमा आगजनी गरिएको जिल्ला प्रहरी कार्यालय बैतडीले जनाएको छ ।

आगजनीवाट टावरमा रहेका ब्याट्री र तारहरु जलेर नष्ट भएका बैतडीका प्रहरी प्रवक्ता, प्रहरी निरीक्षक दीपक पातलीले जानकारी दिनुभयो । कसले र किन आगजनी गरे भन्नेबारे थाहा हुन नसकेको उहाँले बताउनुभयो । टावरमा नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेकपाले आगजनी गरेको हुन सक्ने अनुमान गरिएको छ । घटनाको थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

यसैबिच नेपाल टेलिकमको टावरमा आगजनी भएसंगै त्यस क्षेत्रका नागरिक सञ्चारविहीन हुन पुगेका छन् । टावरमा आगजनीपश्चात सञ्चारविहीन हुनुपरेको स्थानीय नरेन्द्र विष्टले बताउनुभयो ।

यसअघि साउन १५ गते राती पनि बैतडीको पुर्चौडी नगरपालिकाको वडा नं १ उचापात्थर कुँडीधारमा रहेको एनसेलको टावरमा अज्ञात समूहले आगजनी र तोडफोड गरेको थियो ।