सरकारी कार्यालयको राजश्व वृद्धि

0
Shares

विनोद सिंह विष्ट, बैतडी ।
गत आर्थिक बर्षमा बैतडीमा विभिन्न कार्यालय मार्फत १६ करोड ४० लाख २४ हजार ९ सय २५ रुपैया राजस्व संकलन भएको छ । यसमा स्थानीय तहको राजस्व समावेश नगरिएको कोष तथा लेखा नियन्त्रक कार्यालयले जनाएको छ । प्रदेश सरकार मातहतका कार्यालय र संघीय सरकार मातहतका कार्यालयको राजस्व अघिल्लो आर्थिक बर्षको तुलनामा बढेको कोष तथा लेखा नियन्त्रक कार्यालयका सूचना अधिकारी भाष्करदत्त पन्तले जानकारी दिनुभयो ।

आर्थिक बर्ष २०७४/७५ मा स्थानीय तहसहित १६ करोड ३८ लाख राजस्व संकलन भएको थियो । गत आर्थिक बर्षमा स्थानीय तह बाहेक नै १६ करोड ४० लाख भन्दा बढी राजस्व संकलन भएको हो । प्रदेश सरकार मातहतका कार्यालयबाट गत आर्थिक बर्षमा ३९ लाख ५ हजार ७४० रुपैंया राजस्व संकलन भएको छ ।

प्रदेश सरकार मातहतका कार्यालय मध्ये सबैभन्दा बढी सुख्खा फलफूल विकास केन्द्र सतबाँझले १२ लाख ५३ हजार ८८० रुपैया राजस्व संकलन गरेको छ । यसैगरी पूर्वाधार विकास कार्यालयले ११ लाख २३ हजार ९५३ रुपैया, खानेपानी तथा सरसफाई डिभिजन कार्यालय नम्बर १ ले ४ लाख ७७ हजार,सिंचाइ विकास डिभिजन कार्यालयले २ लाख ६९ हजार, शहरी विकास तथा भवन निर्माण कार्यालयले १ लाख ७९ हजार, जिल्ला अस्पतालले ९३ हजार, स्वास्थ्य कार्यालयले ६३ हजार र कृषि ज्ञान केन्द्रले ७ हजार १ सय राजस्व संकलन गरेको छ ।

यस्तै जिल्लामा संघीय सरकार मातहतका कार्यालयहरुले १६ करोड १ लाख २९ हजार राजस्व संकलन गरेका छन् । सबैभन्दा बढी कोष तथा लेखा नियन्त्रक कार्यालयले १२ करोड ८५ लाख ९६ हजार ७१६ रुपैया राजस्व संकलन गरेको छ । महाकाली भन्सार कार्यालयले ८९ लाख ७७ हजार ४२५, शिक्षा विकास तथा समन्वय इकाईले ५४ लाख ११ हजार १ सय, डिभिजन सडक कार्यालयले ३९ लाख ७ हजार ३८१,जिल्ला प्रशासन कार्यालयले ३६ लाख १५ हजार ५८०, घरेलु तथा साना उद्योग विकास समितिले ४० लाख १० हजार २४०, जिल्ला प्रहरी कार्यालयले १५ लाख ९९ हजार ९६०, मालपोत कार्यालयले १६ लाख ३१ हजार ५२२, नापी कार्यालयले ६ लाख २१ हजार १४०, जिल्ला हुलाक कार्यालयले ७ लाख ८८ हजार ४७१ र जिल्ला अदालतले ६ लाख ६७६ राजस्व संकलन गरेको छ ।