हर्मन माइनरमा छात्राको लागि भेन्डिङ मेसिन जडान


प्रकाश पन्त, वीरेन्द्रनगर ।  विद्यालयमा एसओएस हर्मन माइनर विद्यालय सुर्खेतले छात्राहरुको लागि स्यानेटरी प्याड भेन्डिङ मेसिन जडान गरेको छ ।

महिनावारीको समयमा उनीहरुको पढाईमा असर पर्न नदिन भेन्डिङ मेसिन जडान गरिएको विद्यालयले बताएको छ । शुक्रवारदेखि संचालनमा आएको भेन्डिङ मेसिनबाट दुई र पाँच रुपैंयाको सिक्का हालेपछि प्याड निस्कन्छ । विद्यालयका छात्राको लागि संचालन गरिएपनि शिक्षिका, एसओएस बालग्रामका आमा र अन्टीहरुले पनि प्याड प्रयोग गर्न गर्नेछन् ।

छात्राहरुको लागि आधुनिक सुविधायुुक्त स्यानेटरी प्याड भेन्डिङ मेसिन संचालन गर्ने हर्मन माइनर कर्णाली प्रदेशकै पहिलो विद्यालय पनि बनेको छ । विद्यालयले स्यानेटरी प्याड मेसिन जडान गरेपछि आफुहरु निकै सहज हुने छात्राहरुले बताए । अव म्याडमहरुसँग प्याड मागिरहनु पर्दैन्, उनीहरुले भने ।

महिनावारीको वेला छात्राहरूले शारीरिक र मानसिक रूपमा कमजोर महशुस गर्ने भएकोले उनीहरुलाई सहज वातावरण दिएर पढाईमा सघाउन मेसिन संचालन गरिएको विद्यालयका प्राचार्य जगदिश ढकालले बताए । एउटा प्याडको ८ रुपैया पर्छ, उनले भने, विद्यालर्थीले दुई र पाँच रुपैयाको सिक्का राखेर प्याड प्रयोग गर्ने भएकोले वाकी खर्च विद्यालयले व्यर्होछ ।

विद्यालयमा ६ देखि १२ कक्षामा अध्ययनरत दुई सय ४० जना किशोरीहरुले सहज रुपमा मेसिनको प्रयोग गर्ने सहायक प्राचार्य हरिहर बस्नेतले बताए । छात्राहरुलाई विद्यालयले पहिला पनि प्याड उपलव्ध गराउथ्यो, उनले भने, म्यामहरुसँग माग्नु पर्ने भएकोले प्रभावकारी हुन सकेन् । अब चाहिएको वेला प्याड प्रयोग गर्न उनीहरु स्वतन्त्र छन् ।

प्रदेश अस्पताल सुर्खेतका बालरोग विशेषज्ञ डा. नवराज केसीले मेसिनले छात्राहरुको पढाईमा सघाउने बताए । सवैले महिनावारी समस्यालाई हल्का रुपमा लिएको पाइन्छ डा. केसीले भने, महिलाहरुको शारीरिक र मानसिक विकाससँग जोडिएको मुद्धालाई गम्भिर रुपमा लिनु जरुरी छ । अनि मात्र हामीले परिकल्पना गरेको समानताको अधिकार र समृद्धिको सपना पुरा हुन्छ । देशकै उत्कृष्ट विद्यालय मध्येको एक हर्मन माइनर सुर्खेतले भेन्डिङ मेसिन राखेर आफुलाई अझ अव्वल बनाएको बीरेन्द्रनगर ४ का वडाध्यक्ष निलकण्ठ खनालले बताए ।

एसओएस बालग्राम सुर्खेतका निर्देशक मुकुन्द्रकुमार गिरीले मेसिनको प्रयोगबाट छात्राहरुको शैक्षिक सुधारमा टेवा पुग्ने विश्वास व्यक्त गरे । महिनावारी हुँदा पनि ढुक्कसँग विद्यालयमा आउने र पढने वातावरण सृजना हुने उनले बताए । सरकारले सवै विद्यालयमा यो मेसिन जडान गर्ने नीति ल्याउनु पर्ने स्वास्थ्य कार्यकर्ता सीता शर्माले बताइन् ।

कर्णाली प्रदेशका मात्र हैन, देशैभरीका विद्यालयमा स्यानेटरी प्याडको व्यवस्था नहुँदा छात्रा महिनावारी भएको बेला विद्यालय आउँदैनन् । जसको कारण उनीहरुको पढाई छुट्ने गरेको पाइन्छ । त्यसैले यो मेसिन सवै विद्यालयले संचालन गर्न आवश्यक रहेको विद्यालयको भनाई छ ।

विद्यालयले भेन्डिङ मेसिन जडान गर्नुको साथै महिनावारी हुँदा छात्राहरुको लागि आराम गर्ने कक्ष पनि बनाएको छ ।