दिवा खाजाको रकम अभिभावकलाई


बुद्ध नेपाली, सिन्धुली । सिन्धुलीका स्थानिय तहका सामुदायिक विद्यालयहरुले विद्यार्थीको दिवा खाजाको रकम अभिभावकलाई दिने गरेको पाइएको छ ।

विद्यार्थीलाई विद्यालयमा टिकाइ राख्न सरकारले दिँदै आएको दिवा खाजाको रकम जिल्लाका सबै स्थानीयतहका अधिकांश विद्यालयले बालबालिकालाई खाजा नखुवाई रकम अभिभावकलाई दिने गरेको पाइएको हो ।

सिन्धुलीमा ३ सय ५७ वटा प्राथमिक विद्यालय छन्। सरकारले गत आर्थिक वर्ष २०७५र७६ बाट बालविकास तथा कक्षा १ देखि कक्षा पाँच सम्म विद्यालयमा पढ्न जाँने विद्यार्थीहरुलाई विद्यालयमा नै दिवा खाजा खुवाउन दैनिक प्रति विद्यार्थी १५ रुपैयाँका दरले रकम भुक्तानी दिन थालेको थियो ।

शिक्षा विकास तथा समन्वय एकाइ सिन्धुलीका शाखा अधिकृत नेत्र गजुरेलका अनुसार सिन्धुलीमा दिवा खाजा पाउने बालबालिकाको संख्या झण्डै ३६ हजार रहेका छन् । तर, विद्यालयले खाजा बनाउने र खुवाउने कार्य झन्झटिलो भएको भन्दै विद्यार्थीका अभिभावकलाई एकमुष्ठ रकम नै दिने गरेका छन्। त्यसको एउटा उदाहरण गोलञ्जोर गाउँपालिका–४ स्थित वत्सला माध्यमिक विद्यालय दिङदिङ किराँतेलाई लिन सकिन्छ ।

विद्यालयमा खाजा बनाएर खुवाउन समस्या भएपछि अभिभावकलाई नै पैसा दिने गरको वत्सला माध्यमिक विद्यालय दिङदिङ किराँतेका प्रध्यानाध्यापक बलबहादुर भुजेलले बताउनुभयो । एक सय १८ जना विद्यार्थीले दिवा खाजावापत दैनिक १५ रुपैयाँका दरले भुक्तानी पाउँछन्। विद्यार्थीको अभिभावकलाई एक मुष्टमा १ लाख ५० हजार रुपैयाँ वितरण गरिएको भुजेलले बताउनुभयो ।

वत्साला जस्तै जिल्लाका अधिकांश विद्यालयले बालबालिकालाई खाजा खुवाउनुका साटो अभिभावकलाई एक मुष्ट पैसा दिनेका गरेका छन्। सामुदायिक विद्यालयमा विद्यार्थीको उपस्थिति बढाउन सरकारले दिवा खाजा कार्यक्रम सञ्चालन गरेको हो।