श्रीमान् यो राजनीति होइन !

0
Shares

–दीपक खनाल
श्रीमान् !
तपाईँको इजलाशमा उभिएर बोल्न मलाई कत्ति धक छैन
तपार्ईँले कानुन हेरेर गर्ने फैसला सुन्न मलाई कत्ति डर छैन
डर मलाई तपाईँले विवेक गुमाउनुहुन्छ कि भन्ने हो
धक मलाई तपाईँले इजलाश छल्नुहुन्छ कि भन्ने हो
त्रास त मलाई तपार्इँले प्रणाली तोडेर
भित्रैको हरि छोडेर
अँध्यारो रातमा झुक्किएर
अर्कै फैसला लेख्नुहुन्छ कि भन्ने हो ।
……………………………………………………..
श्रीमान् !!
कानुनकै दफा हेरेर फैसला गर्ने कसम खानुहुन्छ भने,
मैले मेरो पनि पेट भोको छ
मलाई पनि खान देऊ भन्नु राजनीति होइन
मेरो कोठामा पनि तपाईँको कोठामा जस्तै पर्दा चाहिन्छ भन्नु राजनीति होइन
चिसो त मलाई पनि हुन्छ
पानी पिउन त मलाई पनि पर्छ श्रीमान्
मलाई पनि एउटा हिटर चाहियो भन्नु
मलाई पनि एउटा पानी किट्ली चाहियो भन्नु राजनीति होइन ।
……………………………………………
श्रीमान् !!!
इज्जत घर पालुवा कुकुरको पनि हुन्छ
तपार्इँको मर्यादा त झन् नहुने कुरै भएन
हो, मैले पनि आफ्नोजस्तै मर्यादा हेरिदिनुस् भन्नु राजनीति होइन
खुट्टा त मेरा पनि छन् तपाईँका जस्तै
हुन्छ श्रीमान् तपाईँ कारमै गुड्नुहोला
विमानमै उड्नुहोला
तर मैले सडकमा निर्धक्क हिँड्न पाउनुपर्छ भन्नु राजनीति होइन
तपाईँलाई जस्तै तलतल त मलाई पनि लाग्छ नि !
हो तपाईँ बल्र्ड दरबार, डाँडाघरेहरू नै पिउनुहोला
मैले एक कप कालो चिया खान पाउनुपर्छ भन्नु राजनीति होइन ।
…………………………………………………….
श्रीमान् !!!!
शरीर त मेरो पनि छ तपाईँको जस्तै
तपाईँले सल्ला–सिस्नोको कोट लगाउनुहुन्छ भने
मैले एकजोर पोसाक लगाउन पाउनुपर्छ भन्नु राजनीति होइन
यो धर्ती तपाईँको हो भने मेरो पनि हो श्रीमान्
त्यसैले
मलाई पनि एक टुक्रा जमिन चाहियो भन्नु राजनीति होइन
बुझ्दिन श्रीमान् राजनीति
तपाईँले शक्ति साधन दुरुपयोग गरेर राज्य लुट्न पाउनुहुन्छ भने
मैले ए, यस्तो गर्न पाइँदैन है भन्नु राजनीति होइन ।