सम्बन्धविच्छेद : अंश लिन मान्दैनन् महिला

सम्बन्ध नै नरहेपछि सम्पत्तिले के गर्छ



हेटौंडा । हेटौंडा १७ की ३३ वर्षीया अमिता पाठक (नाम परिवर्तन) ले गत महिना पतिसँग तीन वर्षको वैवाहिक सम्बन्ध अदालत गएर टुङ्ग्याउनुभयो । त्यसको बदलामा पाउनुपर्ने अंश उहाँले लिनुभएन ।

अदालतका स्रेस्तेदार केशवराज कौशिकका अनुसार अदालतमा आउँदा महिलालाई अंश चाहिने/नचाहिने सोधपुछ गरिन्छ । तर, धेरै महिलाले अंश चाहिँदैन भन्ने गरेका छन् । ‘जति महिला आउँछन् उहाँहरुलाई सोध्छौं । खान/लगाउन पर्ने होला । अंश चाहिन्छ होला नि भनेर,’ उहाँले भन्नुभयो -अधिकांशले लिँदैनौं भन्नुहुन्छ । जुन सम्बन्ध नै नरहेपछि अंशको के काम भनेर भन्ने गर्नुहुन्छ । मकवानपुरमा सम्बन्धविच्छेद गर्नेमध्ये अधिकांश महिलाले अंश लिने गरेका छैनन् ।

‘सम्बन्ध नै नरहेपछि सम्पत्तिले के गर्छ र भन्नुहुन्छ उहाँहरु,’ कौशिकले भन्नुभयो । विवाहित दम्पतीले सम्बन्धविच्छेद गर्दा कानुनले नै सम्पत्तिमा महिला–पुरुष आधा हक लाग्ने व्यबस्था गरेको छ । तर, व्यवहारमा भने सम्बन्धविच्छेद गरेका महिलामध्ये धेरैजसोले अंश लिने नगरेको पाइएको छ ।

अदालतमा आएका महिलालाई दबाबमा अंश नलिने हो कि भनेर पनि सोधिन्छ । उहाँहरुले ‘होइन, आफ्नै इच्छाले’ भन्नुहुन्छ । पछिल्लो समय यस्ता महिला बढेको स्रेस्तेदार कौशिकले प्रतिक्रिया दिनुभयो ।

कौशिकका अनुसार एकिन तथ्यांक नभए पनि अदालतमा आउने ९० प्रतिशतभन्दा बढी सम्बन्धविच्छेदका मुद्धामा महिलाले अंश लिने गरेका छैनन् ।

अंश पाउने अधिकार भए पनि पारिवारिक कुरा नमिल्दा प्रक्रिया लामो हुने कारण महिलाले अंश दाबी गर्ने नगरेको अदालतले बताएको छ । अदालतका अनुसार महिलाले अंश नलिने शर्तमा मिलेर आए १/२ दिनमै अदालतबाट सम्बन्धविच्छेद हुन्छ । महिलाले अंश लिने भन्दा पनि १/२ दिनमै फैसला हुन्छ । तर, अंशको नाममा अधिकांश पारिवारिक झगडा हुने भएकोले उनीहरु आफ्नै कारण झण्झटमा पर्ने गरेको अदालतको भनाइ छ ।

स्रेस्तेदार कौशिकका अनुसार अंश लिनेका लागि कानुनमा व्यबस्था भएअनुसार केही तिरो तिर्नुपर्ने हुन्छ । अंश लिन सबै परिवारका सदस्यलाई अदालतमा झिकाएर फाँटबारी गराउनुपर्ने र त्यसमा पनि समझदारी नबने मुद्धा प्रक्रियामा जानुपर्ने जस्ता समस्याले धेरै महिलाले अंश खोज्ने नगरेको हुनसक्ने उहाँको भनाइ छ ।

आर्थिक वर्ष २०७६/०७७ शुरुदेखि हालसम्म ५७ वटा मुद्धा अदालत आएका छन् । जसमा सम्बन्धविच्छेदका १३ वटा मुद्धा दर्ता रहेको अदालतले जनाएको छ । गत आर्थिक वर्ष २०७५/०७६ अदालतका मुद्धामध्ये २५ प्रतिशत सम्बन्धविच्छेदका मुद्धा थिए ।
६ सय ४९ मद्धामा महिलाका चार सय ८२ थान परेकोमा चार सय पाँच फछ्र्यौट भएका छन् । पुरुषतर्फ एक सय ४३ थानमा ४४ थान फछ्र्यौट भएको छ ।

प्रतिक्रिया दिनुहोस्