सुदूरपश्चिमका एनसेल टावरमा आगजनी


विमल विष्ट, डोटी । अज्ञात समूहद्वारा गएराती अर्थात बुधबार राती करिब १ बजेको समयमा सुदूरपश्चिमका विभिन्न स्थानहरुमा रहेका एनसेल टावरमा आगजनी गरिएको छ ।

सुदूरपश्चिम प्रदेश प्रहरी मुख्यालय दिपायलले दिएको जानकारी अनुसार धनगढी उप–महानगरपालिकामा १, टिकापुर नगरपालिकामा १, लम्की नगरपालिकामा १, र जानकी नगरपालिकामा २ वटा गरी ५ वटा एनसेलका टावरमा आगजनि भएको छ । त्यस्तै डडेल्धुराको गन्यापधुरा गाउँपालिका स्थित हगुल्टेमा रहेको काफली टावर र डोटीको गोगनपानी कटैथलामा रहेको सुदूरपश्चिमको पहाडी जिल्लालाई समेट्ने प्रमुख टावरमा आगजनि गरिएको हो ।

प्रहरीको सधै ९ बजे सम्म डिउटी हुने उक्त टावरमा प्रहरी नभएको मौका पारेर गेटको ताला तोडी राती १ बजे आगजनी गरेको जिल्ला प्रहरी कार्यालय डोटीका प्रहरी प्रबक्ता तथा डिएसपी लालबहादुर धामीले जानकारी दिनुभयो । उहाँले भन्नुभयो, “प्रहरी नभएको मौका छोपेर आगजनी भएको छ,आगो लगाउनेको खोजीका लागि प्रहरी परिचालन भएको छ ।”

प्रदेश प्रहरी मुख्यालय दिपायलका अनुसार बाजुराको बुढीगंगाको बार्जुकोटमा रहेको टावर, बझाङमा थलारा, मस्टा र चिरबिथ्थड गरी तीनवटा टावरमा आगजनी भएको छ । बैतडीको दोगाडाको सित्तड र पुर्चौडीको कुडिमा गरी दुईवटा टावर त्यस्तै कञ्चनपुर र दार्चुलामा पनि एनसेल टावर ध्वस्त भएको प्रहरीले जनाएको छ ।

आगजनीका कारण एनसेलका टावरमा जडानगरिएका उपकरणहरु पूर्णरुपमा ध्वस्त भएको प्रदेश प्रहरी कार्यालयले जनाएको छ । सुदूरपश्चिम प्रदेश प्रहरी प्रमुख तारणीप्रदाश लम्सालले टावरमा आगजनी गराउने व्यक्तिको खोजी कार्यकालागि व्यापक रुपमा प्रहरी टोली गएराती देखीनै परिचालन भएको बताउनुभयो ।

उहाँले भन्नुभयो, “राती टावरमा प्रहरी नभएको मौका छोपेर आगजनी गरीएको छ,आगजनी गर्नेको खोजीका लागि स्पेशल प्रहरी टोली खटिएको छ,सम्भबत : चाडै पक्राउ पर्ने छन् ।” एनसेलका टावरमा सरकार द्धारा प्रतिबन्धित नेत्रबिक्रम चन्द ‘बिप्लब’ का कार्यकर्ताले आगजनी गरेको हुनसक्ने प्रहरीको अनुमान छ ।