उपेन्द्र यादवद्वारा सिंहदरबारको वैद्यखानामा छड्के

0
Shares

काठमाडौँ ।
उपप्रधानमन्त्री एवं स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री उपेन्द्र यादवले सिंहदरबार वैद्यखाना विकास समिति कार्यालयको आज छड्के अनुगमन गर्नुभएको छ ।

उपप्रधानमन्त्री यादवले वैद्यखानाको अनुगमन गरी प्रगति विवरण र आगामी कार्ययोजना मन्त्रालयमा पेश गर्न वैद्यखानाका प्रबन्ध निर्देशकलाई निर्देशन दिनुभएको उहाँको सचिवालयले जनाएको छ ।

जडीबुटिजन्य औषधि उत्पादक संस्था वैद्यखानाको काम कारवाहीबारे जनगुनासो बढेपछि उहाँले छड्के अनुगमन गर्नुभएको हो । अनुमगनका क्रममा चारजना कामदार मात्रै औषधि कारखानामा काम गर्दै गरेको पाइएको थियो ।

करीब चार दर्जन कर्मचारी रहेको वैद्यखानामा चार जना मात्रै काम गरेको देखेर उपप्रधानमन्त्री यादवले असन्तुष्टि व्यक्त गर्नुभएको थियो । वैद्यखानाको दुरावस्था देखेर उहाँले हालको प्रगति विवरण र नयाँ कार्ययोजना पेश गर्न निर्देशन दिनुभएको हो । उपप्रधानमन्त्री यादवसँगै अनुगमनमा स्वास्थ्य राज्यमन्त्री डा सुरेन्द्र यादव, मन्त्रालयका सचिव रामकुमार थपलिया र स्वास्थ्यमन्त्रीका सल्लाहकार डा केके राई सहभागी हुनुहुन्थ्यो । रासस