पश्चिम नेपालको लमहीमा डायलाईसिस सेन्टर संचालन हुने

0
Shares

यमलाल भुसाल, बुटवल ।
दाङ, प्युठान जिल्लाका मृगौलाका बिरामीहरु डायलाईसिस सेवा लिन बुटवल, भैरहवा, नेपालगंज जानुपर्ने बाध्यता अन्तय हुने भएको छ ।
विगत १ वर्ष अगाडी लमहीमै डायलाइसिस सेवा सुरु गर्ने घोषडा गरेको बुटवल मा संचालित गौतमबुद्ध सामुदायिक मुटु अस्पतालले ठाउको अभावमा सेवा सुरु गर्न सकेको थिएन ।

त्यस क्षेत्रका मृगौलाका बिरामीहरुको समस्यालाई मध्यनजर गदै लमही नगरपालिका वडा न.५ को रातो डाडामा लमही नगर बिकास समितिले डायलाइसिस सेन्टर संचालनको लागी भवन उपलब्ध गराउने निर्णय गरेपछि सेवा संचालन हुने भएको हो ।

डायलाईसिस सेन्टर संचालनको लागि लमही नगर बिकास समिति र गौतमबुद्ध सामुदायिक मुटु अस्पतालका विचमा मंगलवार संम्झौता समेत गरिएको छ । सम्झौता पत्रमा लमही नगर बिकास समितिका अध्यक्ष तथा लमही नगरपालिकाका नगर प्रमुख कुल बहादुर के.सी., लमही नगर बिकास समितिका सदस्य सचिव गेहेन्द्र बहादुर डाँगी र गौतमबुद्ध सामुदायिक मुटु अस्पतालका अध्यक्ष एजाज आलम, सचिव दिनेशराज रेग्मीले हस्ताक्षर गर्नु भएको छ ।

पहिलो पटक १५ वर्षको लागि गरिएको सम्झौता अवधी दुवै पक्षको सहमती र आवश्यकता अनुसार थपघट गर्न सकिने छ । दांगका बिरामीहरुको समस्यालाई मध्यनजर गर्दै २०७६ आषाढ ३ गते बसेको लमही नगर बिकास समितिको बैठकले भवन उपलब्ध गराउने निर्णय गरेको लमही नगर बिकास समितिका अध्यक्ष तथा लमही नगरपालिकाका नगर प्रमुख के.सी जानकारी गराउनु भयो ।

सरकारले निःशुल्क उपलब्ध गराउंदै आएको डायलाईसिस सेवा लिन समेत टाढा जानुपर्ने बाध्यतालाई मध्यनजर गर्दै लमहीमा रोटरी क्लब अफ सेन्टल बुटवलको सहयोगमा डायलाईसिस सेन्टर संचालन गर्न लागिएको अस्पतालका अध्यक्ष आलमले जानकारी दिनु भयो । उक्त सेन्टरमा पहिलो चरणमा १० वटा मेशिन जडान गरी बिरामीहरुको डायलाईसिस सेवा शुरु गरिने र आवश्यकता अनुसार मेशिन थप गर्न सकिने छ । मेसिनहरु खरिद भइसकेकोले केही समय भित्र लमही को साथै स्याङजाको वालिङ र पाल्पाको तान्सेनमा समेत सेवा प्रदान गरिने अध्यक्ष आलमले बताउनु भयो ।